भेलले बगाउँदा बाँकेमा चारको मृत्यु, वीरगञ्जमा एकको मृत्यु, एक बेपत्ता

आइतबार साँझदेखि परेको अविरल वर्षाले नेपालगञ्जको सेतु विक चोकलगायत आसपास क्षेत्र जलमग्न । तस्वीरः रोकशकुमार मिश्र, खजुरा बाँके, रासस

नेपालगन्ज-विभिन्न खोला र नहरमा आएको भेलले बगाउँदा बाँकेमा चार जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक टेकबहादुर तामाङका अनुसार मृत्यु हुनेमा वैजनाथ गाउँपालिका–३ का ६५ वर्षीय तुलबहादुर बुढा, सोही गाउँपालिका–५ का ३५ वर्षीय लोकबहादुर सुनार, कोहलपुर नगरपालिका–४ का चार वर्षीय रञ्जीत पासी र डुडुवा गाउँपालिका–२ का चार वर्षीया रिमादेवी यादव छन् ।

जिल्ला दैवी विपद् व्यवस्थापन समितिले वर्षाको स्थितिको आकलन गर्दै समितिअन्तर्गतका विभिन्न समूहलाई उद्धार तथा राहतका काममा परिचालन गरिसकेको प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले बताए ।

बाढीले बगाएर मृत्यु
वीरगञ्ज-पर्सागढी नगरपालिका–४ मा आज अपराह्न थनती खोलाको बाढीले बगाउँदा एक किशोरीको मृत्यु भएको छ भने एक बेपत्ता भएका छन् ।

मृत्यु हुनेमा सोही ठाउँकी १५ वर्षीया प्रतिमा राम तथा बेपत्ता हुनेमा १५ वर्षीय सुरेन्द्र महतो छन् । बेपत्ताको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

सोही खोलाले बगाउँदा १५ वर्षीया संगीता चौरासिया बेहोश अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । त्यस्तै १५ वर्षीय सुमन पासवानलाई बाढीले बगाउँदै गर्दा जीवितै उद्धार गरिएको प्रहरी नायब उपरीक्षक सत्यनारायण थापाले बताउनुभयो ।

तीन दिनदेखिको अविरल वर्षाका कारण सो खोलामा बाढी आएको हो । चारै जना बरबाछतौली माविमा कक्षा ९ को परीक्षा दिएर घर फर्कँदै थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री