बाढी, पहिरो र डुबान नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण, देशभर अझै दुई दिन वर्षा 

राष्ट्रिय सभाको सोमबार बसेको बैठकमा सहभागी सांसदहरु । तस्बिर – रासस

काठमाडौँ, १८ असार – राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले वर्षाको समयमा पहाडमा पहिरो र तराई डुबानको समस्या हुने भएकाले समयमै सचेतना अपनाउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

विशेष सभामा भाग लिँदै सांसद सुमनराज प्याकुरेलले तराईका जिल्लामा विभिन्न नदीमा पानीको बहाव बढेर डुबानको खतरा बढेको भन्दै रोकथामका लागि समयमै तयारी गर्न सरकारको ध्यानाकर्षण गर्नुभयो ।

सांसद रामनारायण विडारीले भारतले नेपालको सिमानामा ठूल्ठूला बाध बाँधेका कारण तराईमा प्रत्येक वर्ष डुबानको समस्या हुने गरेको छ भन्नुभयो ।

सांसद जीतेन्द्र देवले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा ‘कनेक्टिभिटी’सँग जोडिएका योजनालाई कार्यान्वयनमा लाँदा गम्भीरता अपनाउन आग्रह गर्दै यस्ता परियोजना ऋणमा चलाउन नहुने सुझाव दिनुभयो ।

सांसद वृशेषचन्द्र लालले कैलाली निर्वाचन क्षेत्र नं १ बाट विजयी भएका रेशमलाल चौधरीलाई निर्वाचन आयोगले निर्वाचित पदाधिकारीको प्रमाण दिनुपर्ने बताउनुभयो ।

सांसद विमला राई पौडेलले मन्त्रालयस्तरका गाउँमा जाने बजेटलाई एकीकृत गर्नुपर्ने सुझाव दिनुभयो ।

सांसद बलराम बास्कोटाले एसइई परीक्षाको ग्रेडिङ प्रणालीमा देखिएको कमजोरी केलाउन आग्रह गर्नुभयो ।

सांसद धनकुमारी खतिवडाले खोकना र बुङ्गमतीका बासिन्दाले अहिलेसम्म पुनःनिर्माणका लागि दिइने रु तीन लाख अनुदान नपाएको बताउनुभयो ।

सांसद जीवन बुढाले वर्षाले दैलेख, कालीकोट र अछामका विद्यालयका छानो भप्काएको र बालीनाली नष्ट गरेको हुँदा त्यसक्षेत्रका जनताको समस्याप्रति ध्यान दिन सरकारसँग आग्रह गर्नुभयो ।

सांसद नन्दा चपाईंले सुर्खेतमा संविधानसभा निर्वाचनका बेला तत्कालीन एमालेका ऋषिराज शर्मालाई गोली हानी हत्या गर्ने व्यक्तिलाई पक्राउ गरी कारबाही गर्न माग गर्नुभयो ।

सांसद खेमराज नेपालीले योगमायासहित ६८ जना महिलाले राणा शासनविरुद्ध अरुण नदीमा हाम फाल्नुपर्ने कारणका बारेमा अध्ययन गर्न सरकारसँग आग्रह गर्नुभयो ।

राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विशेष समयमा उठेका विषयहरुमा सम्बन्धित मन्त्रीले अर्को बैठकमा जवाफ दिने जानकारी गराउनुभयो ।

घोराही–लमही सडकखण्ड अन्तर्गत बबई नदीमा सोमबार आएको बाढी । बिहानदेखि नदीमा आएको बाढीले गर्दा यातायात सञ्चालनमा आउन सकेको छैन । तस्वीर – बालाराम खडका, दाङ, रासस

देशभर अझै दुई दिन वर्षा हुने

मनसुन पूर्ण रुपमा सक्रिय भएसँगै देशैभर मध्यमदेखि भारी वर्षा भएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुन न्यून चापीय रेखा नेपालतर्फ सरेकोले अझै दुई दिन देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम, केही स्थानमा भारी र एक दुई स्थानमा अत्याधिक वर्षा हुने छ ।

मनसुन न्यून चापीय रेखा तराईको आसपासमै रहेकाले बुधबारसम्म बदली र वर्षाको सम्भावना रहेको मौसमविद् सुवास रिमालले जानकारी दिनुभयो । मनसुन रेखा क्रमशः दक्षिणतर्फ सरेपछि मात्र नेपालमा वर्षा कम हुन्छ । यही असार १४ गतेदेखि मनसुन देशैभर फैलिएका कारण बदलीसँगै वर्षा भइरहेको छ ।

आइतबार साँझदेखि देशका अधिकांश भेगमा वर्षा भएको छ । अहिले पनि काठमाडौँ उपत्यकासहित देशैभर बदलीसँगै वर्षा भइरहेको महाशाखाले जनाएको छ । यस वर्षको मनसुन यही जेठ २५ (जुन ८) बाट नेपालमा प्रवेश गरेको महाशाखाले घोषणा गरेको थियो । सामान्यतह नेपालमा जुन १० देखि सेप्टेम्बर २३ सम्मलाई मनसुनको अवधि मानिन्छ ।

मौसमविद् रिमालका अनुसार अहिले वर्षा मध्य र पश्चिमी भेगमा केन्द्रीत भएको र साँझबाट मध्य र पूर्वी भेगमा केन्द्रीत हुनेछ । गएराति र आजको तुलनामा मंगलबार र बुधबार वर्षा कम हुनेछ । महाशाखाको पछिल्लो विवरणअनुसार आज सबैभन्दा बढी नेपालगञ्जमा १८७, भैरहवामा १६६, दाङमा १०६, धनगढीमा ९९, वीरेन्द्रनगरमा ८५ र विराटनगरमा ५९ मिलिमिटर वर्षा भएको छ । काठमाडौँमा १५ मिलिमिटर वर्षा भएको छ ।

आज काठमाडौँको अधिकतम तापक्रम २४ र न्यूनतम तापक्रम २० डिग्री सेल्सियस रहेको छ । केही दिनयता बदली र वर्षाका कारण उपत्यकाको अधिकतम तापक्रम पनि घटेको छ । हिजो आइतबार काठमाडौँको अधिकतम तापक्रम २७ डिग्री रहेको थियो भने गत असार १४ र १५ गते ३० डिग्रीको हाराहारीमा थियो ।

जेठको दोस्रो साता काठमाडौँमा यस वर्षकै सबैभन्दा बढी ३१.५ डिग्री सेल्सियस तापक्रम पुगेको थियो ।

अविरल बर्षाको कारण रुपन्देहीको शिद्धार्थनगर नगरपालिकाको विभिन्न क्षेत्रमा सवारी साधान सञ्चालनमा समस्या । तस्वीर- भरत केसी, बुटवल, रासस

वर्षापछि उडान अवरुद्ध

बिहानैदेखि परेको पानीका कारण पोखरा विमानस्थलबाट उडान हुन नसक्दा यात्रु समस्यामा परेका छन् ।

पोखरा विमानस्थलबाट काठमाडौँ, जोमसोम, भैरहवा र भरतपुरका लागि कुनै पनि उडान हुन नसकेको सो विमानस्थल कार्यालयका प्रशासकीय अधिकृत काशीनाथ पौडेलले जानकारी दिनुभयो ।

आइतबार पोखराबाट काठमाडौँका लागि छवटा मात्र उडान भएको थियो । दैनिक पोखराबाट जोमसोमका लागि सातदेखि आठवटा, काठमाडौँका लागि २२ वटा र भरतपुर र भैरहवाका लागि एक-एकवटा उडान हुने गरेको छ । उडान अवरुद्ध हुँदा पोखरामा दैनिक आठ सयदेखि एक हजारसम्म यात्रु समस्यामा पर्ने गरेका छन् ।

अबिरल वर्षासँगै घर भत्किँदा एक जनाको मृत्यु

गएरातिदेखिको अबिरल वर्षासँगै कैलालीको गोदाबरी नगरपालिका–९ धनचौरी गाउँमा घर भत्किँदा एक परिवारको च्यापिएर एक महिलाको मृत्यु भएको छ । घटनामा अर्का एक जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता हरिबहादुर ओलीले गोदाबरी नगरपालिका–९ धनचौरीका कडेरा रानाको काठले बनेको कच्ची घर गएराति भत्किँदा उहाँकी श्रीमती ६० वर्षीया डुठा रानाको च्यापिएर घटनास्थलमै मृत्यु भएको जानकारी दिनुभयो ।

राति सुतिरहेको अवस्थमा अचानक कच्ची घर भत्किएको थियो । घटनामा घाइते रानाको अवस्था खतरामुक्त रहेको छ ।

अविरल वर्षाका कारण कैलाली जिल्लाका नदी तथा खोलामा पानीको सतह रातिको समयमा बढेको भए पनि आज मध्यान्हसम्म खतराको अवस्थामा नरहेको जल तथा मौसम विज्ञान विभागको फिल्ड कार्यालय अत्तरियाका प्रमुख एपी चौरसियाले बताउनुभयो ।

अझै ठूलो वर्षाको सम्भावना रहेकाले नदीतटीय क्षेत्रमा बस्ने बासिन्दाले सतर्क अवस्थामा बस्न आग्रह गरिएको चौरसियाले बताउनुभयो । गएको चौबिस घण्टामा यहाँ ९८ दशमलब ९ मिलिमिटर वर्षाको रेकर्ड भएको छ ।

अविरल वर्षाका कारण यातायात आवागमनमा समस्या

लहान, १८ असार – लगातारको अविरल वर्षाका कारण सिरहाको मिर्चैयामा पानी जमेकाले जनजीवन प्रभावित भएको छ ।

गत शनिबारदेखिको वर्षाका कारण मिर्चैयाको केन्द्रबिन्दु मानिने थाना चोक, बजार एरिया र कटारी चोकलगायतका स्थानमा पानी जमेकाले आवतजावतमा समस्या भइरहेको छ । नालाको उचित व्यवस्थापनको अभावमा पानीको निकास नहुँदा पूर्व पश्चिम राजमार्गमा समेत पानी जमेकाले सवारीसाधन आगमनमा समस्या भइरहेको हो ।

मिर्चैयाको थाना चोक एरिया र बजार एरियाको अधिकांश घरमा पानी पसेको छ । वर्षाले मिर्चैयाका सडक तथा बाटो जलमग्न र हिलाम्य भएको छ ।

नगरभित्र ढल तथा पानी निकासको लागि नालाको उचित व्यवस्थापन नहुँदा सामान्य वर्षा हुँदा पनि पानी सडकमै जम्ने गरेकाले हिलाम्य हुने गरेको छ । सडकमा पानी जमेर हिलाम्य हुँदा पैदल हिँडडुल गर्नसमेत कठिनाइ भएको स्थानीय महेन्द्र साहले बताउनुभयो ।

अविरल वर्षाका कारण जिल्ला मिर्चैयाको साथै गोलबजार, लहान, सुखीपुर, कल्याणपुर, बस्तीपुर, धनगढीमाई, सिरहा सदरमुकामलगायत ग्रामीण क्षेत्रको सडक हिलाम्य र जलाम्य भएको छ ।

एकराज पाठक

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री