प्रधानमन्त्रीले थाले सांसदसँग नियमित भेटघाट

प्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहदरबारमा आइतबार नेकपाका नेता तथा संघीय संसदका सांसदहरुसँग छलफल गर्नुहुँदै । तस्वीर – नवीन पौडेल, रासस

काठमाडौँ, १७ असार – प्रधानमन्त्री केपी शर्मा ओलीले आजबाट नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का तर्फबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदसँग नियमित भेटघाट शुरु गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले पहिलोपटक प्रदेश नं १ बाट प्रतिनिधित्व गर्ने सांसदहरुसँग सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटघाट गर्नुभएको हो । दिउँसो ३.३० देखि ५ बजेसम्म प्रदेश नं १ का सांसदहरुसँग छलफल भएको थियो ।

भेटघाटमा प्रधानमन्त्री ओलीले गाउँगाउँमा सरकारको नीति तथा कार्यक्रमका बारेमा जनतालाई बुझाउने, सरकारका कामकारबाहीबारे जनतामा सन्देश प्रवाह गर्ने काम सांसदहरुले गर्नुपर्ने उल्लेख गर्दै बजेट विनियोजनमा केही कमीकमजोरी भए त्यसलाई आगामी वर्षको बजेटमा सच्याइने बताउनुभयो । “अहिले जस्तो जनताप्रति जिम्मेवारी भएको सरकार विगतमा थिएनन्”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “किनकी यो सरकार बहुमतको हो । यसको जनताप्रतिको उत्तरदायित्व पनि त्यतिकै धेरै छ ।”

नेपाल नयाँ ठाउँमा भएकाले यस्तो अवस्थामा केही चुनौती भए पनि देशलाई अघि बढाउने सम्भावना अधिक भएको प्रधानमन्त्री ओलीको भनाइ थियो । “विगतमा व्यवस्था परिवर्तन, संगठन निर्माण र प्रचारका काम धेरै गरियो । अब त्यतिले पुग्दैन । जनताले देखिने गरी परिणाम दिनुपर्दछ,” उहाँले भन्नुभयो, “हिजो भ्रष्टाचार रोक्नुपर्छ भन्दा हुन्थ्यो तर आज भ्रष्टाचार साँच्चीकै रोक्ने जिम्मेवारी हामीमा छ ।”

आगामी असोज ३ गतेभित्र संविधान कार्यान्वयनका लागि आवश्यक सबै कानूनको निर्माण भइसक्ने उहाँले बताउनुभयो ।

प्रधानमन्त्री ओलीले सबै सांसदहरुलाई आधुनिक प्रविधिसँग परिचित हुन र सूचनामा अद्यावधिक रहन पनि आग्रह गर्नुभयो ।

सरकारका कामकारबाहीका बारेमा प्रतिपक्षले लगाएका आरोपको कडा प्रतिवाद गर्न सांसदहरुलाई निर्देशन दिँदै उहाँले जनताले कम्युनिष्ट पार्टीलाई दिएको अभिभारा सरकारको एक्लो प्रयासले मात्र सफल हुदैन, यसमा सांसदहरुको महत्वपूर्ण भूमिका हुन्छ भन्नुभयो ।

मन्त्रीहरुका कार्यशैलीका विषयमा सांसदहरुले उठाएको प्रश्नमा प्रधानमन्त्रीले आफू गम्भीर रहेको बताउनुभयो । “मन्त्री कुनै क्षेत्रको मात्र होइन देशको हो । मन्त्रीको जिम्मेवारी देशैभरिका विकास निर्माण हेर्ने हो,” प्रधानमन्त्री ओलीले भन्नुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहदरबारमा आइतबार नेकपाका नेता तथा संघीय संसदका सांसदहरुसँग छलफल गर्नुहुँदै । तस्वीर – नवीन पौडेल, रासस

सरकारलाई असफल हुने छुट नभएको भन्दै प्रधानमन्त्री ओलीले जनतामा आशावादीताको सन्देश प्रवाह गरेर विकास र समृद्धिको यात्रामा अघि बढाइने उल्लेख गर्नुभयो । भेटघाटमा नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, प्रमुख सचेतक देवप्रसाद गुरुङ, राष्ट्रियसभाका प्रमुख सचेतक दीनानाथ शर्मा रहनुभएको थियो ।

प्रत्येक शुक्रबार प्रधानमन्त्रीले प्रदेशगत तहमा सांसदसँग नियमित भेटघाट गर्ने कार्यतालिका छ । हरेक शुक्रबार हुने भनिएको अन्तरक्रिया हिजो शुक्रबार संघीय संसद्को बैठक लम्बिएकाले हुन सकेको थिएन । आगामी शुक्रबार प्रदेश नं २ का सांसदहरुसँग प्रधानमन्त्रीले भेटघाट गर्नुहुने ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो ।

यस्तै नेकपाका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले प्रत्येक महिनाको पहिलो दिन र १५ गते कार्यकर्तासँग पनि भेटघाट गर्नुहुनेछ । महिनाको पहिलो दिन बिहान ११ देखि १ बजेसम्म धुम्बाराहीस्थित पार्टी कार्यालय र १५ गते पेरिसडाँडास्थित पार्टी कार्यालयमा सोही समयमा कार्यकर्तासँग भेटघाट गर्ने कार्यतालिका रहेको प्रेस संयोजक अधिकारीले जानकारी दिनुभयो ।

एकराज पाठक

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री