गृहमन्त्रीले रोपे धान

गृहमन्त्री रामबहादुर थापा शुक्रबार टोखा नगरपालिकाको झोरमा धान दिवस कार्यक्रममा सहभागी हुँदै । तस्बिर- किरण भट्टराई, रासस

काठमाडौँ, १५ असार – गृहमन्त्री रामबहादुर थापाले राष्ट्रिय धान दिवसका अवसरमा आज टोखा नगरपालिका झोरमा धान रोपाइँ गर्नुभएको छ ।

युवासंघ नेपाल र वाइसिएल नेपाल एकता कार्यदलले आयोजना गरेको सो कार्यक्रममा गृहमन्त्री थापाले धान रोप्नुभयो । रोपाइँपछि सञ्चारकर्मीसँग कुरा गर्दै गृहमन्त्री थापाले आफू पनि कृषकको छोरा भएकाले यस्तो रोपाइँमा पहिले धेरै पटक सहभागी भएको स्मरण गर्नुभयो ।

विकास र समृद्धिका लागि कृषि क्षेत्रको विकास अनिवार्य रहेको तथा कृषिमा मुलुक आत्मनिर्भर हुन आवश्यक रहेकामा उहाँले जोड दिनुभयो । उहाँले भन्नुभयो, “अहिले हामीलाई नपुगेर बाहिरबाट खाद्यान्न मगाएर खाने गरेका छौँ । अब खाद्यान्नमा आत्मनिर्भर हुँदै निर्यात गर्न सक्ने गरी विकास गनुपर्छ ।”

पातलगंगामा रोपाइँ महोत्सव

१५ औँ राष्ट्रिय धान दिवसलाई मुख्य अवसर बनाएर कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतको पातालंगामा आज रोपाइँ महोत्सव गरिएको छ ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको आयोजनामा वीरन्द्रनगर नगरपालिका–९ पातलगंगा सुर्खेतमा रोपाइँं महोत्सव सम्पन्न गरिएको हो । महोत्सवको उद्घाटन गर्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नेपालको मुख्य कृषिबाली धानको उत्पादन बढाउनतर्फ किसानलाई लाग्न अनुरोध गर्नुभयो ।

कार्यक्रममा भूमि व्यवस्थामन्त्री विमला केसीले प्रांगारिक प्रदेश निर्माण गर्ने लक्ष्य लिएको कर्णाली प्रदेश सरकारले खेतीयोग्य जमीन बचाउन, कृषिलाई व्यवसायीकरण तथा आधुनिकीकरण गर्न, यो पेशालाई सम्मानित बनाउन र आन्तरिक तथा बाह्य पर्यटकमा वृद्धि ल्याउने उद्देश्यले रोपाइँ महोत्सव गरिएको जानकारी दिनुभयो । मन्त्री केसीले भन्नुभयो, “कर्णाली क्षमता भएका मान्छेले सुन फलाउने ठाउँ हो, यसमा युवाले मुख्य योगदान दिनुपर्छ ।”

यस वर्ष कर्णाली प्रदेशमा ४६ हजार २३४ हेक्टर क्षेत्रफलमा धान रोपाइँ गर्न थालिएको भूमि व्यवस्था मन्त्रालयले जनाएको छ । मन्त्रालयका सूचना अधिकारी नरेन्द्र थापाका अनुसार कर्णाली प्रदेशमा यस वर्ष आजसम्म करीब २१ प्रतिशत धान रोपाइँ भएको छ । जिल्लामध्ये डोल्पामा शतप्रतिशत भएको छ भने सुर्खेतमा तीन प्रतिशत धान रोपाइँ भएको मन्त्रालयका सूचना अधिकारी थापाले बताउनुभयो ।

वीरेन्द्रनगर नगरपालिका–९ उहाँले बीउबिजन, जैविक विषादी र मल किसानलाई निःशुल्क उपलब्ध गर्न र सिँचाइ आपूर्तिमा ध्यान दिन सरकारलाई अनुरोध गर्नुभयो ।

रोपाइँ महोत्वसमा युवा र प्रदेशसभा सदस्यबीच हिले दौड, किसान महिला र जनप्रतिनिधि महिलाबीच डोरी तानातान खेल पनि गरिएको थियो ।

एकराज पाठक

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री