काठमाडौँ-मानव बेचबिखनविरुद्धको सङ्घर्षमा आफ्नो जीवन समर्पित गरेवापत नेपालकी सुनीता दनुवारले ‘टिप हिरो’ अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरेकी छन् । नेपालभरका पीडित तथा जोखिममा रहेका समुदायहरूलाई सेवा गर्ने प्रतिबद्धताका लागि शक्ति समूहकी सह–संस्थापक तथा कार्यकारी निर्देशक दनुवारलाई सम्मानित गरिएको हो ।
पीडितको संरक्षण गर्ने, दोषीलाई सजाय दिलाउने र मानव बेचबिखनबारे चेतना बढाउने दिशामा लामो समयदेखि उनी क्रियाशील छन् । मानव बेचबिखनविरुद्ध सक्रिय यस संस्थाले पीडितको दृष्टिकोण सकारात्मक बनाउने र विपन्न तथा ग्रामीण नेपाली समुदायहरूमा मानव बेचबिखनसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने लगायतका कार्य गर्दै आएको छ ।
अमेरिकी विदेशमन्त्री माइकल आर. पोम्पेओले हालै वासिङ्टनमा आयोजित मानव बेचबिखनसम्बन्धी वार्षिक प्रतिवेदन सार्वजनिकीकरण समारोहमा मानव बेचबिखनविरुद्धको सङ्घर्षमा क्रियाशील दनुवारलगायत विश्वभरबाट १० व्यक्तित्वलाई उक्त सम्मानबाट सम्मानित गरेको अमेरिकी दूतावासले जनाएको छ ।
सो अवसरमा विदेशमन्त्री पोम्पेओ तथा अमेरिकी राष्ट्रपतिकी सल्लाहकार इभाङ्का ट्रम्पले अमेरिकी विदेश मन्त्रालयको मानव बेचबिखनसम्बन्धी वार्षिक प्रतिवेदन, २०१८ सार्वजनिक गरेकी थिइन् । उक्त प्रतिवेदनले आधुनिक दासत्वविरुद्ध सङ्घर्ष गर्न विश्वभरका सरकारहरूले गरेका प्रयत्नको मूल्याङ्कन गरेको छ । साथै, प्रतिवेदनले मानव बेचबिखनको प्रकृति र दायरासम्बन्धी अद्यावधिक, विश्वव्यापी दृष्टिकोण पनि प्रस्तुत गरेको दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
मानव बेचबिखन उन्मूलनको दिशामा नेपाल सरकारले प्रगति गरेको कुरा प्रतिवेदनमा जनाइएको छ । प्रतिवेदनमा भनिएको छ–मानव बेचबिखनको रोकथामका लागि नेपालले आफ्नो प्रयत्न बढाएको छ । साथै, कानुन कार्यान्वयन तथा पीडित संरक्षणसम्बन्धी प्रयत्नमा समेत केही सुधार भएको छ ।
मानव बेचबिखनको उन्मूलनका न्यूनतम अन्तर्राष्ट्रिय मापदण्ड पूरा गर्नका लागि नेपालले गर्नुपर्ने सुधारसम्बन्धी सिफारिस पनि प्रतिवेदनले प्रस्तुत गरेको छ ।
प्रतिवेदनमा सन् २००० को संयुक्त राष्ट्रसंघीय मानव बेचबिखनसम्बन्धी सन्धिमा नेपाललाई हस्ताक्षर गर्न सिफारिस गरिएको र यसबाट नेपालले मानव बेचबिखनविरुद्धको आफ्नो जारी प्रतिबद्धतासम्बन्धी बलियो सन्देश प्रवाह गर्ने भनिएको छ । पलेर्मो प्रोटोकल समेत भनिने उक्त राष्ट्रसंघीय सन्धिलाई विश्वका १७३ मुलुकले अनुमोदन गरिसकेका छन् ।
नेपालमा राष्ट्रियसभाको १७ सदस्यका लागि आइतबार सातै प्रदेशमा मतदान
आइसिसी महिला टि– २० विश्वकपको ग्लोबल छनोट : नेपालद्वारा जिम्बाब्वे पराजित
ब्रिटेन नेपाल चेम्बर अफ कमर्समा नयाँ नेतृत्व चयन
ग्रीनल्याण्ड विवादले अमेरिका–युरोप सम्बन्ध तनावपूर्ण
गोरखा सैनिकहरुले बनाए साझा अजेण्डा
युरोपेली सङ्घसँग सम्बन्ध सुधार्न बेलायतको लेबर तयार
नेपाल आदिवासी जनजाति महासङ्घको ११ औँ राष्ट्रिय महाधिवेशन २२ जनवरीदेखि
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन सर्यो, अब १४-१६ मार्चमा हुने [विज्ञप्तिसहित]
बेल्जियममा मगर समुदायले भव्य रूपमा मनाए माघे सकराती
मेडिकल व्यवसायी दुर्गा प्रसाईं पोखराबाट पक्राउ