संसदमा सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत

काठमाडौँ, १४ असार – सांसद खगराज अधिकारीले प्रतिनिधिसभामा निर्माणाधीन खानेपानी, सडक, ढल, पुलेसा, सिँचाइका आयोजनाको उचित व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गर्दै सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गर्नुभएको छ ।

सांसद अधिकारीले प्रतिनिधिसभाको आजको बैठकमा ‘देशभर निर्माणाधीन अवस्थामा रहेको चालु आव २०७५-७६ सम्म सरकारको छनोटका खानेपानी, सडक, ढल, पुलेसा, सिँचाइ र अन्य आयोजना सम्पन्न गरी तत् प्रदेश र स्थानीय तहमा हस्तान्तरण गर्ने व्यवस्था मिलाउन आवश्यक भएको’ भन्ने विषयको जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गर्नुभएको हो ।

उहाँले संविधानले संघ, प्रदेश र स्थानीय तहको अधिकार बाँडफाँड गरेको अवगत गराउँदै निमार्णाधीन खानेपानी, सडक, ढल, पुलेसा, सिँचाइ र अन्य आयोजना प्रदेश तहमा हस्तान्तरण गरे पनि प्रदेशमा आवश्यक उपकरण, स्रोतसाधन र जनशक्तिको कमी रहेको बताउनुभयो ।

सांसद अधिकारीले त्यस्ता आयोजनाका बारेमा प्रदेशमा संघले गरोस् भन्ने मान्यतासमेत रहेको उल्लेख गर्नुभयो ।

उक्त प्रस्तावका समर्थक सांसद विशाल भट्टराईले एक सरकारले शुरु गरेको आयोजना अर्को सरकारले अविछिन्न रुपमा सम्पन्न गर्नुपर्ने र निर्माणाधीन आयोजनालाई बेवारिसे अवस्थामा छोड्न नहुने बताउनुभयो ।

सांसद ध्रुवकुमार शाहीले प्रस्तावको समर्थन गर्दै कुनै पनि खानेपानी, सडक, ढल, पुलेसा, सिँचाइसम्बन्धी आयोजना सम्पन्न गरी हस्तान्तरण गरेपछि मात्र नयाँ आयोजना शुरु गर्दा उपयुक्त हुने धारणा व्यक्त गर्नुभयो ।

प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसद मीनबहादुर विश्वकर्माले बजेट विनियोजनमाथिको छलफल चलिरहेका बेला छलफललाई प्रभावित गर्ने गरी सत्ता पक्षकै सांसदबाट सार्वजनिक महत्वको प्रस्ताव आउँदा शंका उत्पन्न भएको छ भन्नुभयो ।

उहाँले सार्वजनिक महत्वको प्रस्तावका विषयवस्तु महत्वपूर्ण भए पनि सरकारले बजेटमा विनियोजनमा गरेको भेदभावपूर्ण व्यवहारको परिणाम स्वरुप सत्ता पक्षका सांसदले असन्तुष्टि पोख्न यो प्रस्ताव ल्याएको आरोप लगाउनुभयो ।

सांसद अतहर कमाल मुसलमानले विकास निर्माणका आयोजनामा संघले अनुगमन गर्नुपर्ने बताउनुभयो । सांसद घनश्याम खतिवडाले संविधानको अनुसूचीमा तीनै तहका अधिकार बाँडफाँड गरिएको भए पनि निमार्णाधीन आयोजना केन्द्रीय सरकारले सम्पन्न गर्नुपर्ने बताउनुभयो ।

सांसद यज्ञराज सुनुवारले सार्वजनिक महत्वको प्रस्ताव महत्वपूर्ण भएकाले संसद्ले गम्भीरतापूर्वक लिई सुनुवाइ गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । सांसद भवानीप्रसाद खापुङले संविधानअनुसार प्रदेश र स्थानीय तहमा आयोजना निर्माण समयको किटानी गरेर आवश्यक प्राविधिक जनशक्ति र बजेटको व्यवस्थापन गर्नुपर्ने सुभाव दिनुभयो ।

सांसद गणेशसिंह ठगुन्नाले कतिपय ठूला आयोजनाका लागि केन्द्र सरकारबाट छुट्याइएको बजेट निकै कम भएको भन्दै त्यस्तो रकमले प्रभावकारी काम हुन नसक्ने तर्क गर्नुभयो । सांसद रीता न्यौपानेले प्रदेश सरकारसँग तत्काल राष्ट्रिय महत्वका ठूला सडक र पुल निर्माण गर्ने क्षमता विकास भइनसकेकाले त्यस्ता आयोजनाको निर्माण केन्द्रीय सरकारले नै सम्पन्न गर्नुपर्नेमा जोड दिनुभयो ।

सांसद गणेश पहाडीले खानेपानी, सडक, ढल, पुलेसा, सिँचाइसम्बन्धी निर्माणाधीन योजना बजेट बिना स्थानीय र प्रदेश तहमा हस्तान्तरण गर्दा पूरा गर्न कठिन हुने बताउनुभयो । सांसद कृष्णकुमार श्रेष्ठले केन्द्रबाट प्रदेश र स्थानीय तहमा हस्तान्तरण गरिएका निर्माणाधीन आयोजना केन्द्रबाटै सम्पन्न गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

सांसद महेश बस्नेतले स्थानीय तहलाई स्रोतसाधन सम्पन्न बनाउनुपर्ने र समयमै विकास निर्माण कार्य सम्पन्न नगर्ने ठेकेदारलाई कारबाही गर्नुपर्नेमा जोड दिनुभयो । सांसद लक्ष्मणलाल कर्णले केन्द्र सरकारले बजेटको बहानामा योजना सम्पन्न नगर्ने प्रवृत्तिको अन्त्य गर्नुपर्ने बताउँदै संघीयता कार्यान्वयनका लागि प्रदेश सरकारलाई बलियो बनाउनुपर्नेमा जोड दिनुभयो ।

सांसद प्रेमबहादुर आलेले कतिपय योजनामा बहुवर्षीय ठेक्का भएर पनि आवश्यक बजेट विनियोजन नहुँदा काम अघि बढ्न नसकेको गुनासो गर्दै त्यस्ता योजना केन्द्र सरकारबाटै सम्पन्न हुनुपर्ने बताउनुभयो ।

सांसदहरु यज्ञबहादुर बोगटी, बिमला विक, सरिताकुमारी गिरि, कृष्ण राई, दुर्गा पौडेल, भरतकुमार साह, छक्कबहादुर लामा, प्रेम सुवाल, अग्निप्रसाद सापकोटा, टेकबहादुर बस्नेत लगायतले निर्माणाधीन खानेपानी, सडक, ढल, पुलेसा, सिँचाइका आयोजना अलपत्र हुन नदिन विशेष व्यवस्था गरी केन्द्र सरकारले नै सम्पन्न गरी स्थानीय तहमा हस्तान्तरण गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

सांसद अधिकारीले केन्द्रको स्रोतबाट निर्माणाधीन आयोजना अलपत्र हुनसक्ने र समयमै सम्पन्न हुन नसक्ने र विकास निर्माणमा गम्भीर असर पर्ने भएकाले ती आयोजना समयमै सम्पन्न गर्न अत्यावश्यक भएको भन्दै गत जेठ २९ गते संघीय सचिवालयलमा उक्त प्रस्ताव दर्ता गराउनुभएको थियो ।

सार्वजनिक महत्वको प्रस्तावले बजेटलाई सहयोग गर्छ – अर्थमन्त्री

अर्थमन्त्री डा युवराज खतिवडाले प्रतिनिधिसभामा आज प्रस्तुत भएको सार्वजनिक महत्वको प्रस्तावले विनियोजनमाथिको छलफलमा प्रभावित पार्ने नभई थप सहयोग पुग्ने बताउनुभएको छ ।

सार्वजनिक महत्वको प्रस्तावमाथि सांसदले उठाउनुभएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री डा खतिवडाले उक्त प्रस्ताव निर्माणाधीन आयोजनाको कार्यान्वयनमा अवरोध नआओस् भनेर सरकारको ध्यानाकर्षण गराउन आएको आफूले बुझेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “यसले विनियोजनमाथिको छलफललाई अवरोध होइन बरु थप सहयोग पुरयाउने विश्वास व्यक्त गरेको छु ।” सरकारका सामु असंख्य योजना र सीमित स्रोतसाधन रहेकाले आयोजनामा बजेट कम हुने गरेको बताउँदै अर्थमन्त्री खतिवडाले निर्माणाधीन ठूलो आयोजना केन्द्रले र मझौला तथा साना योजना तत् प्रदेशमा प्रदेश तथा स्थानीय तहले गर्नुपर्नेमा सरकार स्पष्ट रहेको जानकारी गराउनुभयो ।

प्रस्तावले संघीयता कार्यान्वयनमा अवरोध होइन सहयोगी हुने भन्दै उहाँले त्यस्ता आयोजना बजेट रकमान्तर गरेर पनि सम्पन्न गर्ने अठोट व्यक्त गर्नुभयो । अर्थमन्त्री खतिवडाले सार्वजनिक खर्च प्रभावकारी बनाउन सार्वजनिक खर्च पुनरावलोकन आयोग गठन गर्ने सरकारको तयारी रहेको बताउनुभयो ।

सांसद खगराज अधिकारीले प्रतिनिधिसभाको आजको बैठकमा ‘देशभर निर्माणाधीन अवस्थामा रहेको चालु आव २०७५-७६ सम्म सरकारको छनोटका खानेपानी, सडक, ढल, पुलेसा, सिँचाइ र अन्य आयोजनाहरु सम्पन्न गरी तत् प्रदेश र स्थानीय तहमा हस्तान्तरण गर्ने व्यवस्था मिलाउन आवश्यक भएको’ भन्ने विषयको जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गर्नुभएको हो ।

सांसद अधिकारीले केन्द्रको स्रोतबाट निर्माणाधीन आयोजना अलपत्र हुनसक्ने र समयमै सम्पन्न हुन नसक्ने र विकास निर्माणमा गम्भीर असर पर्ने भएकाले ती आयोजना समयमै सम्पन्न गर्न अत्यावश्यक भएको भन्दै गत जेठ २९ गते संघीय सचिवालयलमा उक्त प्रस्ताव दर्ता गराउनुभएको थियो । उक्त प्रस्तावमा सत्ता पक्ष र विपक्षका सांसदहरुले आआफ्ना धारणा राख्नुभएको थियो ।

एकराज पाठक

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री