लागुऔषध प्रयोगकर्ताहरु कोरेक्स बारतर्फ आकर्षित

तस्वीरःइन्टरनेट

वीरगञ्ज-सीमावर्ती भारतको रक्सौल बजारमा लागुऔषध प्रयोगकर्ताका लागि कोरेक्स बार (पसल) खुलेपछि लागुऔषध सेवनकर्ताको आकर्षण बढेको छ । कुलतमा फसेका युवालाई लक्षित गरी भारतीय औषधि विक्रेताले कोरेक्स बार सञ्चालनमा ल्याउँदा भारतीय भूमि रक्सौल लागुऔषधको ट्रान्जिट प्वाइन्टका रुपमा विकसित हुन थालेको छ ।

रक्सौल बजारबाट लागुऔषध सेवन तथा ओसारपसार गर्नेको उल्लेखनीय संख्यामा वृद्धि भएपछि प्रहरीलाई थप चुनौतीको सामना गर्नुपरेको सुरक्षा अधिकारीको गुनासो रहेको छ । लागुऔषध सेवनकर्तालाई लक्षित गरी सीमावर्ती शहर रक्सौलमा यस्ता बारहरु सञ्चालनमा आएका छन्, जहाँ लागुऔषध सेवनकर्ताले टेबलमा बसेर लागुऔषध सेवन गर्ने गरेका छन् ।

भारतीय शहरको रक्सौलको मयुरी गल्ली, डंकन रोड, आश्रम रोड, स्टेशन रोड, पोस्ट अफिस रोडमा रहेका करीब एक दर्जन औषधि पसलमा कोरेक्स बार सञ्चालन गरी ग्राहकलाई सेवा दिँदै आएका छन् ।

यस्ता बारमा नियमित ग्राहकका रुपमा लागुऔषध सेवनकर्ता नेपाली युवा रहेको पसलेहरु बताउँछन् । वीरगञ्जलगायत आसपासका क्षेत्रबाट लागुऔषध सेवन गर्न जाने युवाका लागि औषधि पसल पछाडिको बारमा सबै व्यवस्था मिलाइएको हुन्छ । त्यहाँ टेबल, कुर्सी, पानी, राखिएको हुन्छ । जहाँ नेपाली युवा भारतीय प्रहरीको आँखा छल्दै लागुऔषध सेवन गरी पुनः नेपाल फर्कन्छन् ।

कुलतमा फसेका युवाका लागि नयाँ गन्तव्यका रुपमा विकसित हुँदै गएको रक्सौलका यस्ता बारका कारण युवा पनि सुरक्षित हुने गरेको नाम नछाप्ने शर्तमा वीरगञ्ज छपकैयाका एक लागुऔषध प्रयोगकर्ताले बताए ।

नेपाल–भारतबीच रहेको खुल्ला सिमाना तथा औषधि पसलमा रहेका चिकित्सकले औषधि भनेर पूर्जीमै लेखेर दिने गरेकाले भारतीय प्रहरीको समेत डर हुँदैन । अर्का लागुऔषध प्रयोगकर्ताले भने, ‘नेपालमा खाँदा प्रहरीले समात्ने भएकाले हामी भारततर्फ आउने गरेका छौँ ।’

यस सम्बन्धमा रक्सौल पुलिस थानामा बुझ्दा चिकित्सकहरुले नै औषधि भनेर लेखेर दिएपछि प्रहरी निरीह बनेको एक अधिकारीले बताए । अहिले वीरगञ्ज तथा आसपासका क्षेत्रबाट दैनिकजसो दुई दर्जनभन्दा बढी युवा रक्सौलमा गएर लागुऔषध सेवन गर्ने गरेको वीरगञ्ज भन्सार कार्यालयमा खटेका एक सुरक्षाकर्मीको भनाइ छ । भारतीय बजारमा कोरेक्स, फेन्सिड्रिल, नाइट्रोभेट टेबलेटजस्ता प्रतिबन्धित औषधि सेवन र खरिद गर्न सकिने भएकाले नेपाली युवाको रोजाइमा रक्सौल परेको हो ।

चालू आर्थिक वर्षको जेठ मसान्तसम्मको तथ्याङ्क हेर्दा १३३ वटा लागुऔषधसम्बन्धी मुद्दा दर्ता भएको पर्सा प्रहरीले जनाएको छ । त्यसैगरी यी मुद्दामा १८२ जना पक्राउ परेको पर्सा प्रहरीले जनाएको छ । यसैगरी अघिल्लो वर्षको तथ्यांक हेर्दा जेठ मसान्तसम्म ११६ वटा लागुऔषधको मुद्दा दर्ता भएको छ भने १५० जना लागुऔषध सेवन तथा ओसारपसारमा संलग्न रहेको आरोपमा पक्राउ परेका छन् । लागुऔषध सेवनकर्ता तथा कारोवारीमा २३ वर्षदेखि २९ वर्षसम्मका युवा संलग्न रहेको पाइएको छ । उनीहरु खासगरी वीरगञ्ज, सिमरा, हेटौँडालगायत क्षेत्रका बासिन्दा रहेका छन् भने उक्त काममा महिला तथा गर्भवती पनि बढिरहेको बताइएको छ ।

भारतको रक्सौलमा आएर लागुऔषध सेवन गर्ने नेपाली युवाको संख्या बढ्दै गएकामा रक्सौलका व्यवसायीले चिन्ता व्यक्त गरेका छन् । रक्सौल टेक्सटाइल्स चेम्बर अफ कमर्शका अध्यक्ष अरुण गुप्ताले यसलाई रोक्न नेपाल र भारतका प्रहरी गम्भीर हुनु जरुरी रहेको बताए। वीरगञ्ज कारागारमा रहेका एक हजार १८१ कैदीबन्दीमध्ये ५० प्रतिशत कैदीबन्दी लागुऔषध अपराधमा मुद्दा खेपिरहेका छन् ।

बढ्दो लागुऔषधका घटनालाई प्रहरीले सूक्ष्म तरिकाले लिएको भन्दै पर्सा प्रहरी नायब उपरीक्षक मानबहादुर राईले भने, “लागुऔषध नियन्त्रण अभियान जिल्लाभरि सञ्चालन गरिएको छ ।’ उनले लागुऔषध निषेधित क्षेत्र घोषणा गरी प्रहरी कारवाही तीव्र पारिएको बताए । भारतीय बजारबाट प्रतिबन्धित लागुऔषध सेवन तथा ओसारपसार गर्नेहरुको सञ्जाल भत्काउन प्रहरी सक्रिय रहेको दाबी गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री