‘नेपालको वायु सेवालाई खतराको सूचीबाट हटाइयो’

काठमाडौँ, ८ असार – संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनले नेपालको वायु सेवालाई खतराको सूचीबाट हटाउन सफल भएको बताउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा उडान सम्बन्धी समसामयिक विषयमा उठेका जिज्ञासाका सम्बन्धमा उहाँले नेपालको वायु सेवालाई सन् २०१३ मा गम्भीर सुरक्षा खतराको सूचीमा राखेकोमा हाल त्यसलाई हटाइएको जानकारी सदनलाई दिनुभयो ।

मन्त्री अधिकारीले सरकारको प्रयासबाट नेपाललाई हवाई सुरक्षा खतरा सूचीबाट हटाउन सफल भएको र युरोपियन युनियनबाट भने खतरा सूची नहटेको हुँदा त्यसलाई पनि छिटै हटाउन पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

नेपाल–जापान हवाई सम्झौता सन् १९९३ मा भएको र अहिले हप्तामा १४ उडानको व्यवस्था भएको उल्लेख गर्दै उहाँले संसारका जुनसुकै देशमा पुग्ने गरी आउने र जानसक्ने व्यवस्था हुनु महत्वपूर्ण उपलब्धि भएको र त्यसले गर्दा जापानी पर्यटक नेपाल भित्र्याउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

मन्त्री अधिकारीले नेपालगञ्ज– दिल्ली उडानका लागि आजै मात्र स्वीकृति दिएको र तीन-चार महिनाका बीचमा त्यहाँबाट हवाई सेवा शुरु हुने बताउँदै बुद्ध एयरको विमानले छिटै नै काठमाडौँ– दिल्ली परीक्षण उडान गर्ने तयारी रहेको जानकारी दिनुभयो ।

दुर्गममा हवाई भाडाको पुनरावलोकन हुन नसकेको उल्लेख गर्दै उहाँले २०७३ सालको प्रस्तावित भाडादरलाई समसामयिक बनाउनुपर्ने बताउनुभयो ।

मन्त्री अधिकारीले चार्टर एयरको हवाई सिण्डिकेट अन्त्य गरी यात्रुलाई सहज रुपमा आवतजात गर्ने व्यवस्था मिलाइएको बताउँदै पोखरा अन्तर्राष्ट्रिय विमानस्थको काम तीव्र रुपमा अगाडि बढिरहेको र सो विमानस्थलमा १८० सिटसम्मका जहाज चलाउन सकिने जानकारी दिनुभयो ।

विसं २०२१ सम्म निर्माण कार्य पूरा गरेर सो विमानस्थल सञ्चालन ल्याउन सकिने बताउँदै उहाँले गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थललाई एक वर्षभित्र सञ्चलानमा ल्याउने तयारीका साथ काम भइरहेको धारणा व्यक्त गर्नुभयो ।

मन्त्री अधिकारीले हालसम्म ४७ प्रतिशत काम पूरा भएको सो अन्तराष्ट्रिय विमानस्थलको असार मसान्तसम्ममा ५० प्रतिशत काम सकिने उल्लेख गर्दै निजगढ विमानस्थलको काम पनि द्रुतरुपमा अगाडि बढेको बताउनुभयो ।

हवाई सेवालाई आवश्यकताअनुसार कति विमानस्थल चाहिन्छ, भन्ने बारेमा अध्ययन गरेर काम गर्न जरुरी भएको र अबको छ महिनापछि करीब सबै ठाउँमा क्षेत्रीयस्तरबाट हवाई सेवा सञ्चालन हुने बताउँदै उहाँले प्रादेशिक हवाई सेवा निर्माणमा पनि सफलता प्राप्त गरेको जानकारी दिनुभयो ।

एकराज पाठक

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री