देउवाको घोषणा- अन्तरघात गरेर चुनाव हराउनेलाई कारबाही हुन्छ 

शेरबहादुर देउवा । फाइल तस्वीर

धनगढी- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चुनावमा अन्तरघात गर्नेहरूलाई कारबाही गरेर पार्टीको संगठनलाई पहिलेको अवस्थामा नपुरयाएसम्म विश्राम नलिने बताएका छन् ।

नेपाली कांग्रेस कैलालीको शुक्रबार धनगढीमा प्रथम जिल्ला अधिवेशनको उद्घाटन गर्दै पूर्व प्रधानमन्त्री देउवाले चुनावमा पार्टीभित्रैबाट अन्तरघात भएकै कारण गएको निर्वाचनमा पार्टीले पराजय व्यहोरेको भन्दै अन्तरघातीलाई कुनै पनि हालतमा छुट नदिने स्पष्ट पारे ।

सभापति देउवाले देशमा जवरजस्ती आफ्ना विचार लादेर सर्वसत्तावाद ल्याउने प्रयास भइरहेको भन्दै कांग्रेसले प्रजातन्त्र कुनै पनि हालतमा कमजोर हुन नदिने बताए ।

विगतमा आफूले धनगढीको गौरीफन्टा नाकाको स्तरोन्नतिको पहल गरेपनि ओली सरकार भारतसँग लम्पसारवादमा गएको आरोप लगाउँदै उनले भने, “गौरीफन्टा नाका बन्द गर्ने षडयन्त्र भइरहेको छ, यो षड्यन्त्रलाई सफल हुन दिने छैन ।”

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्यद्वय रमेश लेखक र ईश्वरी न्यौपानेले मुलुकमा सर्वसत्तावाद र अधिनायकवादको खतरा रहेकाले कांग्रेसका नेता कार्यकर्ताले सचेत भएर पार्टी संगठनमा लाग्नुपर्ने बताए ।

कार्यक्रममा पार्टीका जिल्ला सभापति नरनारायण शाह, नेताहरू रामजनम चौधरी, मोहनसिं राठौर, डा रणबहादुर रावल, भरतवहादुर खड्का लगायतले पार्टीभित्र अन्तरघातको रोग हटाउनुपर्नेमा जोड दिए ।

दुई दिने सम्मेलनमा जिल्लाभरका एक हजार नेता कार्यकर्ता सहभागी छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री