काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले विचार र कार्यशैलीमा तुलनात्मक रुपमा नजीक संघीय समाजवादी फोरम नेपाल, नयाँ शक्ति पार्टी, नेकपा (क्रान्तिकारी–माओवादी) लगायत पार्टीसँग एकताका लागि अनौपचारिक वार्ता शुरु गरेको छ ।
विकास, समृद्धि, सुशासन र समाजवादोन्मुख लक्ष्यमा केन्द्रित हुँदै दुई तिहाइको सरकार बनाएको नेकपाले पार्टीलाई क्रमशः बृहत् बनाएर राष्ट्र निर्माणमा एकीकृत हुन पहल गरिरहेको छ । हालै दुई मन्त्रीसहित सरकारमा आएको उपप्रधानमन्त्री उपेन्द्र यादव नेतृत्वको फोरमसँग एकताका लागि अनौपचारिक छलफल भइरहेको छ । सो प्रक्रियाले प्रदेश नं २ को सत्ता गठबन्धनमा हेरफेर हुन सक्ने समेत देखिएको छ । प्रतिनिधिसभामा फोरमका १५ सांसद् तथा नयाँ शक्तिका एक सांसद् छन् ।
यही जेठ ३ गते नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) एकता भई दल दर्तासँगै विधान प्रकाशन र मातहतका कमिटीको एकताको आन्तरिक प्रक्रियामा जुटेको नेकपाले अन्य समूहसँगको एकतालाई खुला राखेर अनौपचारिक वार्ता चलाएको छ । नेकपा स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले भने, “मुलुकको समृद्धिका लागि विगतमा फरक स्कुलिङबाट आएका र एक प्रकारले प्रतिष्पर्धी रहेका एमाले र माओवादी केन्द्रको ऐतिहासिक एकता सम्पन्न भइसकेको छ । अब अन्य कम्युनिष्ट र समूहसँगको एकताका लागि पनि हामीले खुला राखेका छौँ ।”
नेता पौडेलले चन्द नेतृत्वको नेकपा र नारायणमान बिजुक्छे नेतृत्वको नेपाल मजदूर किसान पार्टीबाहेक राजमोलगायत सबै कम्युनिष्ट पार्टी ढिलो चाँडो एकतामा आउने ठोकुवा गरे । उनका अनुसार मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीका अधिकांश नेता पनि एकता र सहकार्यका लागि निरन्तर सम्पर्कमा छन् ।
उनले डा बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिसँग एकताका लागि नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच एक चरण छलफल भइसकेको छ । डा भट्टराई र फोरमका अध्यक्ष यादवले सकेसम्म पार्टीको नाममा कम्युनिष्ट नराखी समाजवादी राख्न सुझाव दिएको बताए । फोरमले आफ्नो राजनीतिक दस्तावेजमा माक्र्सवादी सिद्धान्तलाई मानेकाले एकतामा अन्य समस्या नभएको पौडेलको भनाइ छ ।
गत असोज १७ गते एमाले र माओवादी केन्द्रको चुनावी तालमेलको घोषणा भएको दिन नयाँ शक्ति पनि सामेल भएकामा पछि तालमेलबाट अलग भएको थियो । “नेता डा भट्टराईलाई ल्याउनुपर्छ, एक्लो महावीर भएर कहीँ पुगिन्न, सबै एक भएर जानुपर्छ”, पौडेलले आज केही सञ्चारकर्मीसँग भने, “मुलुकको शासकीय स्वरुपका विषयमा पनि नेकपा, फोरम, नयाँ शक्तिबीच करीब समान मत छ । संविधान निर्माणका समयमा तत्कालीन माओवादी केन्द्र, फोरम र नयाँ शक्तिले कार्यकारी राष्ट्रपति हुनुपर्ने प्रस्ताव गरेका थिए भने तत्कालीन एमालेले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको प्रस्ताव गरेको थियो । अहिले सदन र सरकारमा दुई तिहाइ पुगेको छ, अनुकूल समयमा मुलुकको स्थिरताका लागि यो प्रणालीमा जानका लागि हामीले बहस पनि चलाइरहेका छौँ ।”
नेता पौडेलले जनताको चाहना र आवश्यकता पूरा गर्न प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलाई साथमा लिएर तथा छिमेकी भारत र चीनसँग सम्बन्ध विस्तार गरी चुनावी साझा घोषणापत्र, सरकारको नीति तथा कार्यक्रम र बजेट एवं प्रधानमन्त्री ओलीका प्रतिबद्धतालाई पूरा गरी विकास र समृद्धितर्फ मुलुकलाई अगाडि बढाउनुको विकल्प नभएको बताए ।
उनले वर्तमान सरकारले सुरुङमार्ग, रेलमार्ग, द्रुतमार्ग, मदन भण्डारी मार्ग र केही ठूला परियोजना अगाडि बढाउन नीति तथा कार्यक्रम र बजेटमा समेत व्यवस्था गरेको छ भन्दै आगामी पाँच वर्ष विकासको आधार तयार पार्ने र अर्को पाँच वर्ष नेपाललाई मध्यम आय भएको मुलुकमा लैजाने सरकारको सोच रहेको बताए । उनले भने, “सरकार र सदनमा दुई तिहाइ समर्थन भएकाले न्यायालय र अन्य निकायले पनि विकास र समृद्धिका काममा कुनै अवरोध नगर्ला । यस अवसर र चुनौतीलाई सरकार र पार्टीको नेतृत्वले उपयोग गर्नुपर्छ ।”
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता