मन्त्रीको नाम टुङ्ग्याउन फोरमलाई सकस

नेपाल कम्युनिष्ट पार्टी र संघीय समाजवादी फोरम नेपालबीच सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा दुई बुँदे सहमतिमा हस्ताक्षर गर्दै प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष ओली र पूर्व प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष पुष्पकमल दाहाल तथा संघीय फोरमका अध्यक्ष उपेन्द्र यादव । तस्बिर सौजन्य–प्रधानमन्त्रीको निजी सचिवालय, रासस

काठमाडौँ, १७ जेठ – दुई मन्त्रालय पाएको संघीय समाजवादी फोरमले चाँडो मन्त्रीको नाम टुङ्ग्याउने भएको छ ।

मन्त्रालयको टुङ्गो लागे पनि मन्त्रीका आकांक्षी बढेपछि समाजवादी फोरमलाई सकस भएको छ । मन्त्रीको विषय टुङ्गो लगाउन बुधबार पार्टीको आन्तरिक बैठक र छलफलबाट पनि निष्कर्ष निक्लिएन । आज पनि अनौपचारिक तवरका छलफल भए पनि अझैसम्म टुङ्गो लागेको छैन ।

पार्टी अध्यक्षले थप परामर्श गरेर चाँडोभन्दा चाँडो मन्त्रीको नाम टुङ्ग्याउने सहअध्यक्ष राजेन्द्र श्रेष्ठले बताउनुभयो ।

“मन्त्रालय टुङ्गिए पनि मन्त्रीको नाम टुङ्गो लागेको छैन, अध्यक्षले प्रधानमन्त्रीसँग छलफल गरेर नाम तय गर्नुहुनेछ, त्यो जिम्मेवारी पार्टीले उहाँ (अध्यक्ष) लाई नै दिएको छ”, उहाँले भन्नुभयो ।

दुई बुँदे सम्झौता गर्दै फोरम वर्तमान नेपाल कम्युनिष्ट पार्टी नेतृत्वको सरकारमा सहभागी हुने फोरमले केहीदिनअघि निर्णय गरेको थियो । उसले शहरी विकास र स्वास्थ्य मन्त्रालय पाएको छ ।

यसैबीच समाजवादी फोरमले बजेटको समीक्षा गर्दै बजेट समग्रमा सकारात्मक भनेको छ ।

फोरमको कार्यसम्पादन समिति र सांसदसहितको बैठकले बजेटबारे छलफल गर्दै यस्तो धारणा बनाएको हो । फोरमको अर्थ, अनुसन्धान तथा योजना विभागले बजेट समीक्षा कार्यक्रम गरेको थियो ।

एकराज पाठक

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री