बीस लाख पर्यटक भित्रयाउने महत्वाकांक्षी लक्ष्य

सरांगकोटमा रमाउंदै पर्यटक । तस्विर- रासस

काठमाडौँ, १५ जेठ – सरकारले सन् २०२० सम्म २० लाख पर्यटक भित्रयाउने महत्वाकांक्षी लक्ष्य राखेको छ । पर्यटन क्षेत्रको प्रवर्धन गर्दै आर्थिक समृद्धिको लक्ष्य पूरा गर्ने लक्ष्यका साथ सरकारले आगामी आर्थिक वर्षको बजेटमा सो विषय समेटिएको हो ।

यसअघि सरकारले सो अवधिमा १५ लाख पर्यटक भित्रयाउने लक्ष्य राखेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले आफ्नो पदबहालीका क्रममा सो घोषणा गर्नुभएको थियो । तर बजेटमा भने २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ ।

सरकारले सो अभियानलाई नेपाल भ्रमण वर्ष २०२० मनाउने लक्ष्य राखेको हो । यसअघि सन् १९९८ मा समेत नेपाल भ्रमण वर्षका रुपमा मनाएको थियो । विभिन्न प्रवर्धनात्मक अभियानका कारण सन् २०१७ मा १० लाखको हाराहारीमा विदेशी पर्यटक नेपाल भित्रिएका थिए ।

‘सरकारले भौतिक पूर्वाधारको विकासमा जोड दिँदै पर्यटकीय पूर्वाधारमा लगानी बढाउने लक्ष्य राखेको सरकारले नेपाल नै पहिले’ भन्ने नारालाई समेत बजेटमा स्थान दिएको छ ।

आन्तरिक पर्यटन प्रवर्धन गर्ने लक्ष्य राखेको सरकारले पहिले नेपाल अनि मात्र विदेश भन्ने अभियानसमेत सञ्चालन गर्न लागेको हो ।

पर्यटनबाट आयआर्जन र रोजगारी बढाउन मनोरञ्जन प्राकृतिक, पूरातात्विक ऐतिहासिक र धार्मिक तथा साहसिक पर्यटनको पूर्वाधार निर्माण, बजार प्रवर्धन तथा सेवा सुविधाको विस्तार गर्ने लक्ष्य राखेको छ ।

विशेषगरी भारत र चीनका पर्यटक भित्रयाउने लक्ष्यका साथ सरकारले ती देशमा प्रवर्धनात्मक कार्यक्रमसमेत सञ्चालन गर्ने बजेटमा लक्ष्य राखिएको छ । चीन र भारतका करीब अढाइ खर्ब जनसंख्यामध्ये १० प्रतिशतले मात्रै नेपाल भ्रमण गरे त्यसबाट अर्थतन्त्रमा सकारात्मक प्रभावपर्ने लक्ष्यका साथ छिमेकी देशलाई पहिलो प्राथमिकतामा राखेको हो ।

सीमित समयको पर्यटनलाई बाह्रै महिना सञ्चालन हुने गरी आवश्यक व्यवस्था गरिएको छ । भारत र चीन लक्षित पर्यटन प्रवर्धनको कामलाई तीव्रता दिने लक्ष्य राखिएको छ ।

हिमाल आरोहणलाई थप सुरक्षित र व्यवस्थित बनाउने लक्ष्य बजेटमा राखिएको छ । सरकारले पर्यटन क्षेत्रको विकास र प्रवर्धनका लागि रु पाँच अर्ब २० करोड ३४ लाख विनियोजन गरिएको छ ।

सरकारले हवाई क्षेत्रको विकासका लागि रु १९ अर्ब ३५ करोड बजेट विनियोजन गरेको छ । यसमा निजगढ विमानस्थलको निर्माण प्रक्रिया शुरु गर्नेदेखि निर्माणाधीन गौतमबुद्ध विमानस्थल र पोखरा क्षेत्रीय विमानस्थललाई शीघ्र सम्पन्न गरी अगाडि बढाउने लक्ष्य राखिएको छ ।

यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुधार तथा आन्तरिक विमानस्थलको स्तारोन्नति गर्ने लक्ष्य राखिएको छ । सबै स्थानीय तहमा हेलिप्याड निर्माण गर्ने लक्ष्यसमेत बजेटले राखेको छ ।

मुलुकको हवाई उड्डयन क्षेत्रलाई सुरक्षित, नियमित, विश्वसनीय र गुणस्तरीय बनाउन उच्चतम् प्रविधिको प्रयोग र प्राविधिक जनशक्तिको विकास गरिनेछ । निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अघि बढाउन र गौतमबुद्ध क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सम्पन्न गरी सञ्चालन गरिने भएको छ ।

विराटनगर, जनकपुर, नेपालगञ्ज र धनगढी विमानस्थललाई क्षेत्रीय विमानस्थलका रुपमा स्तरोन्नति गरी छिमेकी मुलुकसम्म उडान शुरु गर्ने बजेटमा उल्लेख छ । आन्तरिक विमानस्थल निर्माणलाई तीव्रता दिइनेछ । दाङमा वैकल्पिक विमानस्थल निर्माण शुरु गर्ने सरकारको लक्ष्य छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई चापलाई व्यस्थित गर्न काभ्रेपलाञ्चोकमा वैकल्पिक आन्तरिक विमानस्थल निर्माणको सम्भाव्यता अध्ययन गरी निर्माण कार्य अघि बढाइने भएको छ ।

आन्तरिक विमानस्थल विस्तार सम्बन्धमा गुरुयोजना तयार पारिनेछ । विपद् प्रभावित पर्यटक तथा अन्य व्यक्तिलाई आपत्कालीन उद्धार गर्न हेलिप्याड नपुगेका सबै स्थानीय तहमा स्थानीय तहले उपलब्ध गराउने जग्गामा हेलिप्याड निर्माण गर्ने लक्ष्य राखिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायले बजेटमा उल्लेख गरिएका प्राथमिकतालाई कार्यान्वयन गर्न मन्त्रालयले हरसम्भव प्रयास गर्ने बताउनुभयो ।

रासससँग कुरा गर्दै उहाँले भन्नुभयो, “पूर्वाधार विकासको कामलाई तीव्रताका साथ अगाडि बढाउँदै भारत र चीन केन्द्रित पर्यटन प्रवर्धनमा विशेष जोड दिइनेछ ।”

नेपाल पर्यटन बोर्डका सञ्चालक समिति सदस्य एवं पर्यटन व्यवसायी दीपक महतले बजेट समग्रमा सकारात्मक रहेको प्रतिक्रिया दिनुभयो । उहाँले भन्नुभयो, “कार्यान्वयनमा सरकारले कति इच्छाशक्ति देखाउँछ सोही आधारमा मूल्यांकन गर्न सकिन्छ ।” उहाँले नेपाल पर्यटन वर्ष २०२० कार्यक्रम ल्याइनु र हवाई क्षेत्रको विकास र प्रवर्धन गर्नेसम्बन्धी योजना सकारात्मक रहेको बताउनुभयो ।

नेपाल पर्वतारोहण संघका महासचिव कूलबहादुर गुरुङले पर्यटन क्षेत्रमा अपेक्षा गरेअनुसारको बजेट नआएको गुनासो गर्नुभयो । पर्यटक बढाउनका लागि बजेट र पूर्वाधारका कामलाई कम महत्व दिइएको उल्लेख गर्नुभयो ।

ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष नवराज दाहालले सरकारले प्रस्तुत गरेको बजेट समग्रमा सकारात्मक रहेको प्रतिक्रिया दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री