तिलिचो तालमा प्रदूषण बढदै

मनाङ, १३ जेठ – विश्वको सर्वाधिक उचाइमा रहेको तिलिचो ताल आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको हो । मनाङ जिल्लाको निस्याङ गाउँपालिका–९ मा रहेको यस ताल चार हजार ९१९ मिटर उचाइमा अवस्थित छ ।

सिजन होस् या अफ सिजन यस तालको अवलोकनका लागि आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्ने गरेको छ । तर अब पर्यटकको चापसँगै ताल वरिपरि फोहरका डङ्गुरहरु देखिन थालेका छन् । यस ताल जाने बाटोको छेउछाउमा पर्यटकले खाएका खानेकुराका खोलहरु, सिसाका बोतल, बिस्कुट, मिठाईका कागजले भरिन थालेको छ । मनाङको खांसारदेखि तिलिचो बेस क्याम्प आसपासमा पर्यटकले प्रयोग गरेर फालेका सामान जथाभावी छरपस्ट छरिएको देख्न सकिन्छ ।

त्यस्तै, बेसक्याम्पबाट ताल वरिपरि फोहरका डङ्गुरहरु छरपस्ट छरिएका छन् । विगत केही वर्षयता आन्तरिक पर्यटकको चाप बढेसँगै तिलिचो ताल र आसपासको क्षेत्रमा फोहर मात्र बढेको हो । अन्नपूर्ण संरक्षण क्षेत्र, पर्यटन व्यवसायी, होटल व्यवसासी र स्थानीय समुदायले फोहरमैला व्यवस्थापनका लागि ठाउँठाउँमा डस्टबिन राखेता पनि खासै प्रयोगमा भने आउन सकेको छैन ।

विदेशीले आफूले खाएका चीजबीजका खोल झोलामा बोकेर डस्टबिनमा फाल्ने गर्छन् तर आन्तरिक पर्यटकले भने जथाभावी फाल्ने गरेका छन् । यसरी पर्यटकले प्रयोग गरी जथाभावी फालेका फोहरले तिलिचो तालको वातावरण बिग्रीएको होटल व्यवसायीको गुनासो छ । ‘म वर्षै पिच्छे तिलिचो आउने गर्छु, पोहोरको तुलनामा अहिले तालको आसपासमा बढी फोहर भएको पाएँ । जसले गर्दा ताल वरिपरिको वातावरण धेरै प्रदूषित भएको छ । समयमा नै सचेत नगराउने हो भने तालको अस्तित्व नै धरापमा पर्ने देखिन्छ’- ट्रेकिङ गाइड रामु अधिकारी भन्छन् ।

समयमा नै सचेत नभए तिलिचो ताल प्रदूषणको चपेटामा पर्ने तयरीमा रहेको छ । यसमा सम्बन्धित निकायले ध्यान पुरयाउनु आवश्यक छ । तालको संरक्षण र ताल वरिपरिको वातावरणको संरक्षणमा सबै सचेत हुन जरुरी छ ।

एकराज पाठक

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री