पशुपतिनाथ मन्दिर वृहत च्यारिटीको तयारीमा

लण्डन । साउथ इष्ट लन्डनमा नेपालीहरु द्वारा स्थापित पशुपतिनाथ मन्दिरले आगामी जुलाई ८ तारिकमा एउटा वृहत च्यारिटी कार्यक्रम आयोजना गर्ने भएको छ ।

नेपाली समुदायद्वारा स्थापित पहिलो मन्दिरको विकास र यसको संरचनालाई मुर्तरुप दिने उद्देश्यले कोष संकलनार्थ उक्त च्यारिटी गर्न लागिएको हो । कार्यक्रम साउथ इष्ट लन्डनको वुलविचस्थित स्वामीनारायण मन्दिरको सभाहलमा हुने भएको छ ।

मन्दिरको सर्वांगीण विकासको लागि कार्यक्रममा सहभागी भएर सहयोग गर्न मन्दिर व्यवस्थापन समितिले बेलायतवासी नेपालीहरुमा आवहान गरेको छ । ‘हाम्रो संस्कृति हाम्रो गौरव भन्ने सारलाई चरितार्थ गर्न बेलायतको नेपाली समुदाय मिलेर यो मन्दिरको स्थापना भएको हो, यो कुनै क्षेत्र वा वर्ग बिशेषको मन्दिर नभएर सबै नेपाली हरुको साझा मन्दिर हो’- व्यवस्थापन समितिका अध्यक्ष सहदेव गिरीले सहयोग अपिल गर्दै भने, ‘हामी सबैले गौरव गर्न सक्ने गरी यसको विकास र विस्तार गर्न आवश्यक छ र त्यसको लागि तपाई सम्पूर्णको सहयोगको अपेक्षा गरेका छौ।’

कार्यक्रममा प्रमुख अतिथीको रुपमा बेलायतका लागी नेपाली राजदूत दुर्गा बहादुर सुवेदी सहभागी हुनेछन् भने विशेष अतिथीको रुपमा एनआरएन अध्यक्ष भवन भट्टलाई निम्त्याईएको छ । त्यसैगरी एनआरएन नेताहरु उपेन्द्र महतो, जीवा लामिछाने, शेष घले, कुमार पन्त लगायतका व्यक्तिहरु लाई आमन्त्रण गरिने व्यवस्थापन समितिले जनाएको छ । कार्यक्रममा एनआरएन यूके समेतको सहकार्य र सहभागिता हुने गरी सहयोगको लागी अनुरोध गरिने भएको छ ।

कार्यक्रममा आध्यात्मिक प्रवचन सहित बिभिन्न कलाकार हरुको प्रस्तुतिमा विशेष सांस्कृतिक कार्यक्रमका साथै परम्परागत नेपाली नृत्य, भजन कृतन तथा झाँकीहरु प्रस्तुत गरिने भएको छ ।

यसैबीच जुलाई ८ तारिखको मन्दिर च्यारिटी कार्यक्रम सफल बनाउन बिभिन्न उपसमितिहरु गठन गर्दै ब्यापक तयारी सुरु गरिएको छ ।

गत आइतबार मन्दिर परिसरमा सम्पन्न मन्दिरको ट्रस्टी बोर्ड तथा कार्यसमिति बैठकले च्यारिटी कार्यक्रम तयारीका सम्बन्धमा विभिन्न निर्णयहरु गरेको छ ।

बैठकले च्यारिटी कार्यक्रम सफल पार्ने उद्धेश्यले विभिन्न तयारी उपसमिति गठन गरेको छ । जसअनुसार पत्रकार फडिन्द्र भट्टराईको संयोजकत्वमा दिपक श्रेष्ठ र फत्त थापा सदस्य रहेको प्रचारप्रसार समिति गठन गरिएको छ ।

त्यस्तै, नरेन्द्र कंडेलको संयोजकत्वमा पशुपति भण्डारी, मोहन गुरुङ, बालजंग अर्याल, होम शर्मा र सरिता पौडेल सदस्य रहेको अतिथी सत्कार समिति बनाइएको छ । गोपाल अर्यालको संयोजकत्वमा आर्थिक संकलन समिति गठन भएको छ जुन समितिमा यादव भण्डारी, गणेश बास्तोला र विष्णु ज्ञवाली सदस्य छन् ।

त्यसैगरी, खाना व्यवस्थापनका लागि पण्डित निलहरि घिमिरेको संयोजकत्वमा गोपाल अर्याल र रोमनाथ पाण्डे सदस्य रहेको छुट्टै समिति गठन गरिएको छ ।

बैठकले सांस्कृतिक कार्यक्रम तथा हल सजावटका लागि विनोद ज्ञवालीको संयोजकत्वमा विष्णु ज्ञवाली सदस्य रहेको समिति बनाएको छ भने पार्किङ व्यवस्थापन संयोजन गर्ने जिम्मा सुरज केसीलाई लगाइएको छ ।

वुल्वीचस्थित स्वामीनारायण मन्दिरमा आयोजना हुने यो च्यारिटी कार्यक्रमको संयोजक डा. अच्युत धिताल छन् ।
बैठकले ट्रस्टी बोर्डको संयोजकमा आउंदो ६ महिनाका लागि कर्ण शाहीलाई नियुक्त गर्ने निर्णय पनि गरेको छ ।

मन्दिरको भवन अहिलेसम्म केहि ट्रस्टीहरुकै नाममा रहेकाले अब त्यसलाई मन्दिरकै नाममा नामसारी गर्ने प्रक्रिया अघि बढाउन अध्यक्ष गिरीको संयोजकत्वमा बालजंग अर्याल, फत्त थापा, कर्ण शाही र यादव भण्डारी सदस्य रहेको समिति गठन गरिएको छ ।

मन्दिर व्यवस्थापन समितिका महासचिव दासुराम पाण्डेले सञ्चालन गरेको बैठकको अध्यक्षता अध्यक्ष सहदेव गिरीले गरेका थिए ।

बैठकमा समितिका उपाध्यक्ष नरेन्द्र कंडेल, सचिव गणेश बांस्तोला, कोषाध्यक्ष गोपाल अर्याल, संरक्षक पण्डित निलहरि घिमिरे, संस्थापक अध्यक्ष होम शर्मा र निवर्तमान अध्यक्ष बालजंग अर्याल, ट्रस्टीहरु कर्ण शाही, पशुपति भण्डारी, फत्त थापा, डा. अच्युत धिताल, अर्जुन गौतम, अनिल आचार्य, दुर्गा शेरचन, मोहन गुरुङ, रोमनाथ पाण्डे, यादव भण्डारी, सुरज केसी, दिपक श्रेष्ठ, फडिन्द्र भट्टराई, मोती भण्डारी र जीवन वाग्ले तथा कार्यसमिति सदस्यहरु विष्णु ज्ञवाली र सरिता पौडेलको उपस्थिति थियो ।

च्यारिटी कार्यक्रमबाट डेढ लाख पाउण्डको कोष संकलन गरेर मन्दिरको भवनलाई ‘फ्रि होल्ड’ गर्ने लक्ष्य लिइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री