समाजवादउन्मुख बजेट आउने प्रधानमन्त्रीको दाबी

प्रधानमन्त्री केपी शर्मा ओली

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले प्रगतिशील र समाजवाद उन्मुख बजेट ल्याउने बताएका छन् । संघीय संसद्मा रहेका नेपाल कम्युनिष्ट पार्टीका सांसदहरुलाई मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जनताको अपेक्षाअनुसार नै बजेट तयार पारिने बताए ।

प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रममा छुटेका महत्वपूर्ण विषयलाई बजेटमा सम्बोधन गरिने उल्लेख गरे । परम्परागत ढंगले विकास निर्माणका काम अघि बढाउँदा लक्ष्यमा पुग्न नसकिने बताउँदै ओलीले त्यसका लागि विकासको नयाँ प्रविधि प्रयोग गर्नै पर्ने स्पष्ट पारे ।

प्रधानमन्त्री ओलीले अहिले बहुमत प्राप्त कम्युनिष्ट सरकार भएकाले यसलाई कुनै बहानामा पनि उम्किने छुट नभएकामा जोड दिए ।

प्रधानमन्त्री ओलीले भने, “हामीसँग बहुमत प्राप्त सरकार छ । त्यसकारण जनताका अपेक्षा पनि धेरै छन् । ती अपेक्षा पूरा गर्न सकिएन भने जनताले अर्को चुनावमा अप्रिय निर्णय गर्न सक्छन् ।”

प्रधानमन्त्री ओलीले सरकारको नीति तथा कार्यक्रम प्रभावकारी ढंगले आएको स्पष्ट पारे ।

प्रधानमन्त्री ओलीले जनता आवास कार्यक्रमलाई नयाँ ढंगले सञ्चालन गरिने, हिमाली क्षेत्रमा छरिएका बस्तीलाई एकीकृत गर्ने र हिमाली क्षेत्रमा पनि जनता आवास कार्यक्रम सञ्चालन गरिने जानकारी दिए ।

प्रधानमन्त्री ओलीले सांसदहरुलाई कुनै पनि विषयमा टिप्पणी गर्नुपर्ने भएमा नेतृत्वलाई भन्न आग्रह गरे । जथाभावी ढंगले असन्तुष्टि पोख्दा समस्याको समाधान नहुने भन्दै प्रधानमन्त्री ओलीले त्यस्ता असन्तुष्टि पार्टी वा संसदीय दलको जिम्मेवार ठाउँमा राख्न आग्रह गरे ।

प्रधानमन्त्री ओलीले आफ्नो विज्ञता भएका विषयमा सांसदमा कुरा राख्न सांसदहरुलाई निर्देशन दिए । उनले सांसदहरुलाई निर्देशन दिँदै भने, “अध्ययन गर्ने बानी बसाउनुहोस् । नजानेका कुरा सिक्नुहोस् । तर्क र क्षमता बढाउनुहोस् । आवेशमा आएर नबोल्नुहोस् । जनमतको कदर गर्ने बानी बसाउनुहोस् ।”

कार्यक्रममा नेकपाका अध्यक्ष पुष्पकमल दाहालले जनताको अपेक्षालाई सम्बोधन गर्ने गरी नीति तथा कार्यक्रम आएको भन्दै जनताको पक्षमा केन्द्रीत हुन सांसदहरुलाई आग्रह गरे । करीब दुई तिहाइ प्राप्त वर्तमान सरकारले जनताको अपेक्षालाई सम्बोधन गर्ने खालको बजेट तयार पार्ने र आर्थिक समृद्धिको दिशामा केन्द्रित हुने स्पष्ट पारे । उनले वर्तमान सरकारले जनताको पक्षमा काम गर्नेबाहेक अरू कुनै छुट नरहेको भन्दै अधिकतम प्रयास गर्नुपर्नेमा जोड दिए ।

दाहालले जनताको भावनालाई सम्बोधन गर्ने गरी प्रस्तुत हुन आग्रह गर्दै जनपक्षीय एजेण्डा स्थापित गर्ने दायित्वलाई समेत ख्याल गर्न सांसदहरुलाई निर्देशन दिए ।

बैठकले नेपाल कम्युनिस्ट पार्टीको संसदीय दलको विधान मस्यौदा गर्न नेता भीम रावलको संयोजकत्वमा एक कार्यदल गठन गरिएको छ । कार्यदलमा सांसदहरु देव गुरुङ, खगराज अधिकारी, कृष्णभक्त पोखरेल, रामनारायण बिडारी र रेखा शर्मा सदस्य छन् ।

सो कार्यदललाई १५ दिनभित्र विधान मस्यौदा प्रस्तुत गर्ने समय दिइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री