राष्ट्रकवि घिमिरेलाई थप उपचारका लागि भारत लगिने

काठमाडौँ-राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई थप उपचारको लागि भोलि भारत लैजाने तयारी गरिएको छ । धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचार गराइरहनु भएका घिमिरेलाई थप उपचारका लागि भारतको नयाँदिल्लीस्थित मेदान्त अस्पताल लैजाने तयारी गरिएको उनकी छोरी उषा अधिकारीले जानकारी दिइन् ।

घिमिरेको आन्तरिक रक्तस्राव नरोकिएपछि चिकित्सकको सल्लाहमा उपचारका लागि भारत लैजान लागिएको उनले बताइन् । गत वैशाख २८ गतेदेखि निरन्तर आन्तरिक रक्तस्राव भएपछि राष्ट्रकवि घिमिरे अस्पताल भर्ना हुनुभएको हो ।

घिमिरेको उपचारमा संलग्न चिकित्सक डा विवेक शर्माले सानो आन्द्राबाट नियमित रक्तश्राव आउने ठाउँ पत्ता लाग्न नसकेकाले थप उपचारको लागि भारत लैजान सुझाव दिएको बताए । “हाम्रो अस्पतालमा भएको सबै प्रविधि प्रयोग गरेर उहाँको उपचार गरयौँ, तर पनि अलिअलि रक्तस्राव भइरहेको छ”–उनले भने, “साना आन्द्राको कुन भागबाट रक्तस्राव भइरहेको छ । त्यो पत्ता लगाउने उपकरण नभएकाले रक्तस्राव रोक्न हामीलाई समस्या भयो । त्यसैले थप उपचारका लागि भारत लैजान सुझाव दिएका हौँ ।”

उनका अनुसार सानो आन्द्रा परीक्षण गर्ने ‘इन्टेरोस्कोपी’ उपकरण अस्पतालसँग छैन ।

उनले घिमिरेको पहिलेको भन्दा स्वास्थ्य अवस्था राम्रो भएको बताए । विसं १९७६ असोज ७ गते जन्मिनु भएका घिमिरेको मुटु, मिर्गौला र फोक्सामा समस्या देखिएकाले चार महिनादेखि अस्पताल लाने र ल्याउने गरिँदै आइएको थियो ।

छोरी अधिकारीले बुधबार अपराह्न ५ बजे नेपाली सेनाका चिकित्सक डा शिवविक्रम सिलवाल र छोरा इन्दीवरका साथ उहांलाई भारत लैजाने तयारी गरिएको बताइन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रकवि घिमिरेको स्वास्थ्य अवस्थाबारे सोमबार जानकारी लिएका  थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री