गृहमन्त्रीको ठेकेदारहरुलाई चेतावनी, ‘सच्चिनुहोस्, नभए कारबाही भोग्न तयार हुनुहोस्’

फाइल तस्वीर

काठमाडौँ- गृहमन्त्री रामबहादुर थापाले ठेक्का लिएर काममा ढिलासुस्ती गर्ने तथा कमसल काम गर्ने कार्यमा अब सरकार हेरेर नबस्ने निर्माण व्यवसायीलाई स्पष्ट पारेका छन् । सोमबार गृह मन्त्रालयमा ज्ञापनपत्र बुझाउन आएका नेपाल निर्माण व्यवसायी महासंघका प्रतिनिधिमण्डलाई उनले भने, “विगतका कमजोरीलाई अब सच्याउनुहोस् ।”

गृहमन्त्री थापाले भने, “विगतमा जे जस्तो काम गर्नुभयो, अब सच्चिएर काम गर्नुहोस्, सरकारले ढिलासुस्ती र अनियमिततालाई हेरेर बस्दैन ।”

निर्माण व्यवसायीले कर्मचारीलाई हरेक कामका लागि घुस खुवाउनुपर्ने, गुण्डादेखि पार्टीसम्मलाई चन्दा दिनुपर्नेलगायत समस्या राखेपछि उनले अब त्यस्तो रकम नदिन व्यवसायीलाई निर्देशन दिए ।

गृहमन्त्री थापाले भने, “कुन कर्मचारीले घुस माग्छ, कुन इञ्जिनियरले घुस माग्छ, त्यसको सूचना हामीलाई दिनुहोस्, उनीहरुलाई तत्कालै जेल हाल्छौँ ।” कुनै कर्मचारीले नियतबस फाइल अड्काएर राखे उनीहरुलाई पनि कारबाही गरिने पनि उनले स्पष्ट पारे ।

यसअघि मन्त्री, कर्मचारीदेखि ठेकेदारसम्मको मिलेमतोमा यस्तो कमजोरी हुने गरेको गुनासो आएको भन्दै अब त्यस्तो कार्य स्वीकार्य नहुने गृहमन्त्रीको भनाइ छ ।

गृहमन्त्री थापाले विभिन्न नाममा चन्दाको लागि माग आउँदैमा खुरुखुरु चन्दा नदिन व्यवसायीलाई आग्रह गर्दै चन्दा माग्नेहरुको विवरण गृह मन्त्रालयलाई जानकारी गराउन तथा व्यवसायीको सुरक्षाका लागि सरकार प्रतिबद्ध रहेको बताए ।

खरिद ऐनका कारण निर्माण कार्यमा ढिलासुस्ती हुने गुनासो आएको भन्दै उनले आवश्यकता अनुसार ऐन संशोधन गरिने स्पष्ट पारे ।

गृहमन्त्री थापाले विकास निर्माण कमसल हुने गरेको गुणासो खाइरहेको उल्लेख गर्दै भने “सबैको मिलेमतोमा सिमेण्ट र बालुवा १-३ भाग मिलाउनुपर्ने ठाउँमा १-१० भागसम्म मिलाएको भन्ने सुन्न्छि, अब त्यस्ता काम तत्काल बन्द गर्नुहोस् ।”

प्रतिनिधमण्डलले यातायात क्षेत्रमा रहेको सिण्डिकेट हटाएकामा गृहमन्त्रीलाई धन्यवाद दिँदै निर्माण सामग्री उत्पादनमा समेत केही व्यवसायीको सिण्डिकेट रहेकाले त्यसलाई पनि हटाउन गृहमन्त्रीलाई ध्यानाकर्षण गराए ।

निर्माण व्यवसायीले आवश्यकताअनुसार बालुवा, गिटी नपाइने, फलामे डण्डीको बढ्दो महँगी, सरकारी ढिला सुस्ती र लापरबाही, चन्दा दिनुपर्ने, घुस खुवाउनुपर्नेलगायत समस्याका कारण आफूहरुले भनेअनुसार काम गर्न नसकिरहेको गुनासो गरेका थिए ।

उनीहरुले गृह मन्त्रालयले ठेकेदारहरुलाई पक्राउ गर्न तयारी गरेको भनी आएको समाचारप्रति ध्यानाकर्षण भएको भन्दै सो कार्य नगर्न आग्रह गरे ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री