बेलायती राजकुमार हयारी र मेगानको विवाह चासो सर्वत्र

लन्डन । बेलायती राजकुमार हयारी र अमेरिकी नायिका मेगान मर्केलबीच आज शनिबार (१९ मे) मध्यान्ह भव्य समारोहबीच हुने विवाह तयारी सकिएको छ ।

विन्सोर क्यासलस्थित सेन्ट जोर्जेज च्यापलमा तामझामका साथ हुने विवाह समारोहलाई टिभीमार्फत विश्वका करोडौं दर्शकले हेर्ने अनुमान गरिएको छ । ब्रिटिश नागरिकहरुले यसको व्यग्र प्रतिक्षा गरिरहेका छन् ।

विवाह समारोहलाई बीबीसी वान, बीबीसी न्यूज च्यानल, स्काइ न्यूज, स्काइ वान, आइटिभी आदिले विशेष कभरेज गर्ने भएका छन् ।

हयारीले गोर्खा सैनिकलाई औधि रुचाउने भएकाले नेपाली समुदायमा पनि यस समारोहलाई चासोका साथ हेरिएको छ । ‘विवाहको दिन बिदा नै लिएको छु’, बस चालक एक जना गोर्खा अभियन्ता ज्ञानराज राई भन्छन्, ‘हयारीले गोर्खा र नेपाललाई गर्ने मायाका कारण टिभी लाइभबाटै भएपनि इभेन्ट नछुटाउने पक्षमा छु । बेलायती राजपरिवारको हामीहरुप्रति बेग्लै स्नेह र समर्थन छ ।’

सन् २०११ मा राजकुमार विलियम र केटको विवाह समारोहलाई अमेरिकामा मात्र दुई करोड ३० लाख दर्शक र विश्वभर ३ अर्बले अवलोकन गरेका थिए । बेलायती अखवारहरुले हयारी मर्केल विवाहलाई पनि सोही संख्याका दर्शकले हेर्ने पूर्वानुमान गरेका छन् । तर, यसै दिन महत्वपूर्ण एफए कप फाइनल परेकाले दर्शक घट्ने अनुमान पनि कतिपयको छ ।

उक्त समारोहलाई बेलायतीले सडकमा पार्टी गरि हर्षोल्लासका साथ मनाउने तयारी गरिरहेका छन् । बेलायतका करिब ५२ हजार ७५० पब (रक्सी बेच्ने भट्टी) अबेरसम्म खुल्ने बताइएको छ ।

ब्रिटिश समय अनुसार, मध्यान्ह १२ बजे समारोह शुरु हुनेछ । विन्डसोर डिनले सेन्ट जोर्ज च्यापलमा एक घण्टा लामो वैवाहिक कार्यक्रम गर्नेछन् भने आर्चबीसप अफ क्यान्टरबरी जस्टिन वेल्वीले प्रतिज्ञा गराउनेछन् ।

त्यसपछि हयारी मेगान जोडी दिउसो एक बजे बग्गी चढेर क्यासल हिल, हाइ स्ट्रिट, सिट स्ट्रिट, किङस रोड, अल्बर्ट रोड हुंदै विन्सोर क्यासल फर्कने कार्यक्रम छ । समारोहका लागि विश्वभरबाट सेलिब्रेटीसहित ६ सय अतिथीहरु निम्त्याइएको छ । बेलायतको नागरिक समाजबाट दुई हजार ६ सय ४० जना विन्सोर क्यासल मैदानमा उभिनेछन् । आर्मर्ड फोर्सेसका अढाइ सय सदस्यहरुले समारोहमा भाग लिनेछन् भने एक लाख मानिस विन्सोर वरपर तांती लाग्नेछन् । थेम्स भ्याली प्रहरीले बिहान ९ बजेसम्म स्थानीय शहर भरिइसक्ने अनुमान गरेको छ ।

आफ्नी छोरीको विवाहमा मेगानका बाबु थोमस मर्केल भने सहभागी नहुने भएका छन् । गत साता हार्ट सर्जरीपछि आराम गरिरहेका ७३ वर्षीय थोमस प्रतिकुल स्वास्थका कारण अनुपस्थित रहने केन्जिङटन प्यालेसले जानकारी दिएको छ । मेगानकी आमा डोरिया रगल्याण्ड लस एन्जलसबाट लन्डन आइसकेकी छन् ।

यस समारोहका लागि साढे ४ अर्ब रुपैंया भन्दा बढि खर्च हुने अनुमान विवाह कार्यक्रमको योजना बनाउने ब्राइड बुकले गरेको छ, जसमा अधिकांश सुरक्षामा खर्च छ । सुरक्षामा झण्डै ४ अर्ब २० करोड खर्च हुने अनुमान छ । त्यस दिन ५ हजार अतिरिक्त प्रहरी डयुटीमा खटाइनेछ । विवाहका दिन विन्सोर वरपर हवाइ जहाज उड्न प्रतिवन्ध लगाइएको छ । थेम्स भ्याली प्रहरीले यसका लागि आफ्नो इतिहासमै सबैभन्दा वृहत सुरक्षा बन्दोवस्त गर्नु परेको बताएको छ ।

ब्रिटिश राजतन्त्रले यहांको अर्थतन्त्रलाई कति समृद्ध पार्छ भन्ने चर्चा पनि भएको छ । गत वर्ष बेलायती महारानी एलिजावेथ बस्ने लन्डनस्थित बकिङहम प्यालेस हेर्न करिब ५० लाख आगन्तुक दरबार पुगेका थिए । शाही पर्यटनले बेलायतको अर्थतन्त्रमा वार्षिक ७४७ मिलियन डलरको योगदान गर्ने बताइएको छ ।

यसपटक हयारी मेगान विवाहले बेलायतको अर्थतन्त्रमा करिब एकसय २० मिलियन पाउण्ड योगदान दिने अनुमान सेन्टर फर रिटेल रिसर्चको छ ।

बेलायती राजपरिवारले पछिल्लो दशकमा धेरै उतारचढाव बेहोरयो । सन् १९९७ मा राजकुमारी डायनाको कार दुर्घटनामा निधन भयो । पापाराज्जीले पिछा गरिरहंदा उनी दुर्घटनामा परेको बताउने पनि छन् । त्यतिबेला बुहारी र राजतन्त्रको भविष्यबारे पत्रपत्रिका एवं टेलिभिजनमा अनेक वहस र भविष्यवाणी भएपछि रानीले सार्वजनिक रुपमै विज्ञप्ति जारी गर्न वाध्य भएकी थिइन् ।

इकान्तिपुर

प्रतिक्रिया

सम्बन्धित सामाग्री