लन्डन । दक्षिण एसियाली मुलुकबाहेक विदेशमा रहेका नेपालीहरुलाई प्रतिनिधित्व गर्ने ठानिएको गैर आवासीय नेपाली संघको शाखा अहिले ७८ देशमा फैलिएको छ । झण्डै ३० लाख बढि नेपाली विदेशमा रहेको अनुमान छ । विदेशमा रहेका नेपालीले सफलता चुमेका कयौं उदाहरण छन् र ती मध्ये एक हुन् विश्वप्रकाश गिरी । गैर आवासीय नेपाली संघ, सिंगापुरका अध्यक्ष गिरी केही अघि लन्डनमा भेटिए होलिडे मनाउन आउने सिलसिलामा ।
बझांगमा जन्मिएका गिरी सन् १९९३ मा अध्ययनका लागि सिंगापुर पुगे । पढाइ सकेर नेपालमै केही गरौं भन्ने सोचले सन् १९९६ मा नेपाल फर्किए उनी । त्यतिबेला नेपालमा भर्खर बहुदल आएको थियो । आम जनता परिवर्तन चाहन्थे । गिरीलाई पनि देशमा अब त केही होला भन्ने आशा थियो । तर यस विपरित राजनीतिक अस्थिरता, नियम कानुनको अभाव अनि व्यापार व्यवसाय र रोजगारीको वातावरण पर्याप्त नदेखेपछि उनी फेरि फर्किए सिंगापुर ।
सिंगापुरमा फुड कोर्टबाट शुरु गरेको उनको व्यवसाय अहिले सर्वत्र फैलँदै छ । उनको त्यहां तीनवटा रेष्टुरेन्ट शिशमहल, अल्बर्ट क्याफे एण्ड रेष्टुरेन्ट र पार्क क्याफे एण्ड रेष्टुरेन्ट सञ्चालित छन् । पार्टनरसीपमा थ्री स्टार होटल समेत खोलेका छन् गिरीले । गिरीले करिब ५० जनालाई रोजगारी दिएको बताए । कामप्रतिको लगाव र इमान्दारिता नै उनले सफलताको कारक मानेका छन् । यद्यपि जनशक्ति अभाव व्यापार व्यवसायमा चुनौती बनेको उनको बुझाइ छ ।
सिंगापुर नेपालीका लागि पनि एउटा पर्यटकीय गन्तव्य र सपनाको देश हो । सिंगापुरमा पुलिस फोर्समा समेत कार्यरत गरी करिब ७ हजार नेपाली रहेको अनुमान गिरीको छ । विशेषगरी आइटी क्षेत्रमा नेपालीले प्रगति गरिरहेको गिरीको बुझाइ छ । त्यहींको नागरिकता लिएका नेपाली परिवार त करिब १५ जतिमात्र रहेको उनी बताउंछन् । नेपाली बच्चाहरुको लागि समाजको अग्रसरतामा फुटसल खेलको व्यवस्था गरेको छ ।
बेलायत जस्तो सयौं नेपाली संघसंस्था अस्तित्वमा छैनन् सिंगापुरमा । एकमात्र नेपाली संस्था छ नेप्लीज सोसाइटी सिंगापुर, त्यसले नै एनआरएनको पनि प्रतिनिधित्व गर्दछ । गैर आवासीय नेपाली संघ सिंगापुरले स्वदेशका लागि मात्र होइन, त्यहीं जन्मे हुर्केका वालवालिकाका लागि नृत्य कक्षा शुरु गरिरहेको छ भने नेपाली भाषा सिकाउने चरणमा छ । नयां पुस्तालाई नेपालप्रति समर्पित गराइराख्न चुनौती देख्छन् गिरी । संघले प्राकृतिक विपत्तिमा स्वदेशका लागि काम गर्दै आएको छ । भूकम्प लगत्तै पीडितको सहयोगमा पनि संघले उल्लेख्य काम गरेको गिरीले बताए ।
सिंगापुरमा उच्च सुरक्षा छ । विदेशीहरुले कहिल्यै असुरक्षा र भेदभाव सामना गर्नुपर्दैन । ब्रिटिश सिस्टम अनुशरण गरेको बताउंछन् उनी ।
सिंगापुरमा राजनीतिक स्थिरता छ । विकासको जड राजनीति भएकाले नेपाली राजनीतिमा पनि राम्रा मानिस जानुपर्ने देख्छन् उनी ।
कस्तो मुलुक हो सिंगापुर ?
सिंगापुर एउटा संसदीय गणतान्त्रिक मुलुक हो । झण्डै ५६ लाख जनसंख्या भएको सिंगापुरका प्रधानमन्त्री लि सुन लुङ हुन्। यो विश्वकै वित्तीय केन्द्रको रुपमा प्रसिद्ध छ ।
विश्व बैंकका अनुसार सन् १९६० मा सिंगापुरको प्रतिव्यक्ति आय २,५२९ अमेरिकी डलर थियो । सन् २०१६ मा त्यहांको प्रतिव्यक्ति आय ८५,०५५ डलर पुगेको थियो ।
एउटा असल शासक लि क्वानले मलेसियाबाट टुक्रिएको सानो टापुलाई एकै पुस्तामा एउटा अविकसित राष्ट्रबाट विश्वकै विकसित राष्ट्रहरुमध्ये एक बनाए । लिले सन् १९९० सम्म ३० वर्ष मुलुकलाई नेतृत्व दिएका थिए ।
भ्रष्टाचार विरुद्ध शून्य सहनशीलताको नीति अपनाउँदै उनले सिंगापुरलाई एउटा अनुशासित मुलुकको रुपमा उभ्याए । ‘अहिले पनि सिंगापुरमा चुईंगममाथि प्रतिवन्ध लगाइएको छ र सार्वजनिक शौचालय प्रयोग गरिसकेपछि त्यसलाई सफा नगरेमा तपाईं सजायभागी हुनुहुन्छ’, गिरीले भने ।
संसारकै वित्तीय केन्द्रको रुपमा नाम कमाएको सिंगापुर विदेशी लगानीकर्ताहरुकालागि एक आकर्षक केन्द्र पनि हो ।
‘नेपालमा पनि लामो समय पछि हामीले एउटा स्थिर सरकार पाएका छौं । अब देशभित्रै रोजगारी सिर्जना गर्न र विदेशी लगानी भित्रयाउन सरकारले भरपर्दो पहल गर्नुपर्छ । समृद्ध नेपाल बनाउने अभियानमा हातेमालो गर्न सबै गैरआवासीय नेपाली तयार छन्’, उनले भने ।
संविधानसभा सदस्य तथा पहिचानवादी नेता कुमार राईको निधन
इरानको नयाँ शान्ति प्रस्तावमा अमेरिकी राष्ट्रपति ट्रम्प असन्तुष्ट : रिपोर्ट
गोरखाली समाज यूकेको अध्यक्षमा टकमाया गुरुङ निर्विरोध निर्वाचित
नेपाली कम्युनिष्ट पार्टीको राष्ट्रिय महाधिवेशन आगामी मङ्सिर ११ देखि १५ सम्म
पोर्चुगलमा पहिलो नेपाली स्वयंसेवी अग्निनियन्त्रक धरमराज भण्डारी
नेपाली दूतावास लन्डनले आगामी ३ मेमा प्रेस्टन क्षेत्र र ४ मेमा स्कटल्यान्डमा घुम्ती विशिर सञ्चालन गर्ने [सूचनासहित]
नेपालका गृहमन्त्री सुधन गुरुङको राजीनामा घोषणा
बेलायतमा बेपत्ता नेपाली वृद्धा सकुशल फेला
बेलायतको अल्डरसटबाट नेपाली ८१ वर्षीया वृद्धा सम्पर्कविहीन
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता