
राष्ट्रिय सभागृह काठमाडौँमा बिहीबार नेपाल कम्युनिष्ट पार्टीको एकीकरण घोषणा कार्यक्रममा अध्यक्षलगायत सहभागी नेताहरु । तस्वीर – नवीन पौडेल, रासस
काठमाडौँ, ३ जेठ – ‘के एकता होला र ?’ चुनावी गठनबन्धनको घोषणापछि जनस्तरमा मात्र होइन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का कतिपय नेता–कार्यकर्तामा उब्जने यो प्रश्नको औचित्य अब समाप्त भएको छ ।
निर्वाचनपछि जुनसुकै बेला चाँडै एकता हुने जनाउँदै आएका दुई पार्टीका शीर्ष नेताले आज बिहानदेखि आन्तरिक र आपसी बैठक तथा बाँकी प्रक्रिया पूरा गरेर साँझ मुलुकको शक्तिशाली दल नेपाली कम्युनिष्ट पार्टी (नेकपा) को विधिवत् घोषणा गरेका छन् ।
निर्वाचनका लागि तालमेलको घोषणा भएकै स्थान राष्ट्रियसभा गृहको हल मात्र होइन परिसर र प्रदर्शनीमार्गस्थितको सडकसम्म खचिखचाउ भएका कार्यकर्ता, समर्थक र सर्वसाधारणका बीच नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ को ६ बुँदे एकता घोषणासँगै समृद्धि र स्थिरतको नयाँ युग आरम्भ भएको उद्घोषसहित एमाले र माओवादी केन्द्र एकापसमा बिलय भएका हुन् ।
जनताको बहुदलीय जनवादको मार्गदर्शनमा शान्तिपूर्ण बहुदलीय प्रतिस्पर्धाको राजनीति र सशस्त्र युद्धको मोर्चाको पृष्ठभूमि बोकेका दुई ठूला कम्युनिष्ट पार्टीहरु समाजवादउन्मुख जनताको जनवादको कार्यदिशासहितको एकतामा पुग्नु नै उल्लेखनीय घटना सावित भएको छ ।
मदननगर बल्खुस्थित तत्कालीन एमालेको पुरानो कार्यालयमा जननेता मदन भण्डारी र जीवराज आश्रितको २५ औं स्मृति दिवसको कार्यक्रममा सहभागी भएर प्रधानमन्त्री निवास बालुवाटारमा पार्टी एकता संयोजन समितिको बैठकमा सम्मिलित अध्यक्षद्वय ओली र प्रचण्डसहितका नेता साँझसम्म एकता प्रक्रिया र त्यसपछिका उत्सवहरुमा व्यस्त रहनुभयो ।
संयोजन समितिको बैठकपछि एमालेको बालुवाटार र माओवादी केन्द्रको प्रचण्ड निवास खुमलटारमा बसेका अलगअलग केन्द्रीय बैठकले पार्टी एकताको सहमतिलाई अनुमोदन गरी अन्तरिम विधान र राजनीतिक दस्तावेज पारित गरेका थिए । त्यसअघि शीर्ष नेताहरुले बालुवाटारमा बलियो मानिने रुखका विरुवा रोपेर एकताको नयाँ सन्देश दिइसक्नुभएको थियो ।
एमालेको केन्द्रीय कमिटी बैठक सकिएलगत्तै माओवादीको सचिवालय सदस्य दुवै दलको संयुक्त बैठकका लागि बालुवाटार गए । औपचारिक बैठक शुरु नहुँदै दुवै तर्फका नेताहरु एकापसमा बधाई साटासाट र खुशीयाली बाँड्न व्यस्त हुन थालेका थिए । उनीहरुले आपसमा हात मिलाउने, अंकमाल गर्ने र तस्बीर खिचाउने काम गरिरहँदा एकताको घोषणा भइसकेको जस्तो देखिन्थ्यो ।
संयुक्त बैठकमा नेकपाको केन्द्रीय कमिटी सदस्यकारुपमा शपथ ग्रहण गरेपछि भने पार्टीगतरुपमा घुलन भइसकेको थियो ।
तीव्ररुपमा विकसित भएको घटनाक्रमसँगै निर्वाचन आयोगमा नेकपा दल दर्तापछि राष्टियसभा गृहमा घोषणासभा भयो, जहाँ कार्यक्रमका लागि तोकिएको समयभन्दा धेरै अगाडि सहभागी र सञ्चारकर्मीको भीड लागिसकेको थियो ।
प्रधानमन्त्री, पूर्वप्रधानमन्त्रीसहितका नेता, रक्षा र गृहमन्त्री तथा अन्य मन्त्रीहरुसहितका नेताको आगमन र ऐतिहासिक कार्यक्रम भएकाले सुरक्षा व्यवस्था गर्न सुरक्षा निकाय परिचालित थियो ।
अध्यक्ष ओलीले यो एकता केबल ठूलो दल वा बहुमतको दम्भका लागि नभएको बताउँदै आफूहरु पानीमा अक्सिजन र हाइड्रोजनमा घोलिएर झैँ हेर्दा हेर्दा एमाले र माओवादी केन्द्रको विघठनसँगै नयाँ पार्टीमा रुपान्तरित भएको बताउनुभयो ।
अर्का अध्यक्ष प्रचण्डले आजको एकता आफूहरुको बलिदानको उपज भएको र यस घटनालाई ऐतिहासिक फड्कोका रुपमा लिनुपर्ने बताइरहँदा सहभागीको तालीको गडगडाहटले सभागृह गुञ्जिएको थियो ।
वरिष्ठ नेता माधवकुमार नेपालले दुई पार्टीको एकता, सहकार्य र संघर्षको लामो इतिहासतर्फ संकेत गर्दै ‘यो साना दुःखले आरज्याको एकता होइन’ भन्दा दुवै दलको ऐतिहासिक विकासक्रम र शृखंलाको स्मरण गराएको थियो ।
बेलायतमा जुनियर चिकित्सकद्वारा पाँच दिने हड्तालको घोषणा
दक्षिण अफ्रिकामा दोहोरो नागरिकता
नेपालमा विदेशी लगानीकर्ताको सहजीकरणका लागि अर्थ मन्त्रालयमा ‘फोकल युनिट’ स्थापना
बेलायतको वेलिङटन वार्डमा डा.विशाल गुरुङ काउन्सिलर पदको उम्मेदवार
बेलायतमा मृत्यु भएका नेपाली विद्यार्थी योमन चन्दको शव नेपाल पठाउन सहयोग संकलन
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित