एकैपटक ४० आरोही सगरमाथाको शिखरमा

फाइल तस्विर

काठमाडौँ- एकैपटक ४० आरोहीले सगरमाथाको सफल आरोहण गरेका छन् । यस वर्षको आरोहण शुरु भएको सोमबार दोस्रो दिन एकैपटक ४० आरोही विश्वकै सर्वोच्च शिखरमा पुगेका हुन् ।

सगरमाथा आधार शिविरमा रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठका अनुसार स्वदेशी तथा विदेशी नागरिकले आरोहण सम्पन्न गरेका छन् ।

“हामीलाई प्राप्त जानकारीअनुसार ४० आरोहीले सर्वोच्च शिखरको आरोहण गरेको पुष्टि भएको छ, थप केही आरोही पनि शिखरमा पुगेको सूचना आए पनि पुष्टि भइसकेको छैन”, सम्पर्क अधिकृत श्रेष्ठले भने । अनुकूल मौसमको पर्खाइमा क्याम्प चारमा मात्रै १५० आरोही रहेका छन् । त्यस्तै केही आरोही भने सगरमाथा आधार शिविरमा नै रहेका छन् ।

दुवै खुट्टा नभएका चिनियाँ आरोही शिखरमा

सम्पर्क अधिकृत श्रेष्ठका अनुसार दुवै खुट्टा नभएका ७० वर्षीय चिनियाँ नागरिक सिए बोयोले आज बिहान सगरमाथाको शिखरमा पाइला टेकेका हुन् । इमाजिन ट्रेक एण्ड एस्पिडिसन प्रालिकातर्फबाट आरोहण गरेका  चिनियाँ नागरिक विगत ४० वर्षदेखि सगरमाथाको आरोहण गर्ने प्रयासमा थिए । उनीसँगै सात चिनियाँ आरोहीले आजै सफल आरोहण गरेका हुन् ।

चिनियाँ टोलीसँगै नेपाली शेर्पा आरोही ताम्तिङ शेर्पा, किली पेम्बा शेर्पा, आङ्छिरिङ शेर्पा, टेण्डी शेर्पा र दावा ग्याल्जेन शेर्पाले पनि आजै आरोहण गरेका छन् । सन् २०१५ मा पनि आरोहणमा निस्किएका बोयो भूकम्पका कारण आरोहण परित्याग गरी फर्केका थिए  ।

शारीरिकरुपमा कमजोर भएका नागरिकले सगरमाथा आरोहण गरेको यो पाँचौँ उदाहरण हो । यसअघि न्यूजील्याण्डका मार्क इनलिसले तिब्बती मोहडाबाट सगरमाथाको आरोहण गरेका थिए ।

एकै मौसममा दुई आरोहणको कीर्तिमान

सम्पर्क अधिकृत श्रेष्ठका अनुसार यस ऋतुमा नेपाली महिला आरोही निमा जाङ्मु शेर्पाले सगरमाथा र ल्होत्सेको आरोहण गरेर कीर्तिमान कायम गरिन् ।

शेर्पाले यही वैशाख १६ गते ल्होत्सेले सफल आरोहण गरेकी थिइन् । उनले आजमात्रै सगरमाथाको आरोहण सम्पन्न गरेकी हुन् ।

यस वर्ष चार नेपालीसहित ३८ आरोहण दलका ३६४ आरोही गन्तब्यतर्फ लागेका छन् । यसमध्ये चार समूहमा २० जना नेपाली छन् ।

अघिल्लो वर्षको वसन्त ऋतुमा ४३ वटा समूहका ३६६ स्वदेशी तथा विदेशी आरोहीले सगरमाथाको सफल आरोहण गरेका थिए । सन् २०१६ मा ३८ वटा समूहका ३०० भन्दाबढी आरोहीले सगरमाथाको चुचुरो चुमेका थिए ।

अहिले अनुकूल मौसमका लागि धेरै आरोही प्रतिक्षामा छन् । बेस क्याम्पभन्दा माथि २०० भन्दाबढी आरोही रहेको र आज राति झण्डै १५० आरोही चुचुरोमा पुग्ने अनुमान गरिएको सम्पर्क अधिकृत श्रेष्ठले जानकारी दिए । “धेरै आरोही सगरमाथाको चुचुरो नजिक क्याम्प ४ मा छन्, मौसम अनुकूल भए आज सगरमाथा आरोहणमा नयाँ कीर्तिमान कायम हुने सम्भावना छ”, उनले भने ।

आइतबार मात्रै शेर्पा आरोहीमा पासाङ तेञ्जिङ शेर्पा, पासदावा शेर्पा, लाक्पा तेन्डी शेर्पा, जीनजेन लामा, सिद्धिबहादुर तामाङ, पेम्बाछिरि शेर्पा, तेञ्जिङ ग्याल्जेन शेर्पा र डेटुक भोटे रहेका थिए ।

हिमालयन गाइड नेपाल ट्रेक एण्ड एक्सपिडिसन प्रालिबाट गएका आठ शेर्पा चुचुरोमा पुगेका हुन् । गत वर्ष बाटोका कारण आरोहणमा केही ढिलाइ भए पनि यो वर्ष समयमै बाटो खुलेकाले आरोहण उत्साहपूर्ण रहने जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री