समृद्ध र सशक्त नेपाल बनाउने आकांक्षालाई भारतले भरपुर सहयोग गर्ने

Narendra Modi and KP OLi in Kathmandu

प्रधानमन्त्री केपी शर्मा ओली र नेपालको राजकीय भ्रमणमा रहनु भएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बीच साँझ काठमाडौंमा भेटघाट गर्दै । तस्वीर – नरेन्द्र मोदीको टुवटरबाट

काठमाडौँ, २८ वैशाख – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अखण्ड समृद्ध र सशक्त नेपाल बनाउने सबै नेपालीको आकांक्षालाई भारतले भरपुर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

नेपालको राजकीय भ्रमणमा रहनुभएका भारतका प्रधानमन्त्री मोदीले आज प्रधानमन्त्री केपी शर्मा ओलीसँगको द्विपक्षीय भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै नेपालको आर्थिक, सामाजिक र सांस्कृतिक विकासमा भारतको साथ र सहयोग रहने बताउनुभयो ।

आफ्नो सरकारले भारतमा विकासका लागि ‘सबका साथ सबका विकास’ को नारा अघि सारेको र नेपालमा पनि प्रधानमन्त्री ओलीले ‘समृद्ध नेपाल सुखी नेपाली’को नारा अघि सार्नुभएको उल्लेख गर्दै उहाँले दुवै नारा एकअर्काका परिपूरक भएको टिप्पणी गर्नुभयो ।

नेपाल र भारतबीचको सम्बन्ध सरकारभन्दा माथि रहेको चर्चा गर्दै प्रधानमन्त्री मोदीले दुई देशको सम्बन्ध जनस्तरमा गहिरो र मित्रतापूर्ण रहेको चर्चा गर्नुभयो । उहाँले भन्नुभयो, “मेरो नेपाल यात्रा एक यस्तो ऐतिहासिक समयमा भएको छ जतिखेर नेपालमा तीन तहका निर्वाचन सफलरुपमा सम्पन्न भएका छन्, नेपालको इतिहासमा यो काल स्वर्णीम अक्षरले लेखिनेछ ।”

आफू प्रधानमन्त्री भएपछि तेस्रो पटक नेपाल भ्रमणमा आएको बताउँदै उहाँले यसबाट नै आफ्नो र भारतसँगको नेपाल सम्बन्ध कति गहिरो छ भन्ने पुष्टि भएको उल्लेख गर्नुभयो । प्रधानमन्त्री मोदीले विकास यात्रा र राष्ट्र निर्माणका लागि प्रधानमन्त्री ओलीको नेतृत्व भरोसा प्राप्त भएकामा शुभकामना व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री ओलीको भारत भ्रमणका बेला दुई देशको विकासको सम्भावनाका बारेमा प्रशस्त छलफल भएको बताउँदै उहाँले छोटो समयमा नै नेपाल र भारतबीचमा विभिन्न मुद्दामा छलफल भई कतिपय मुद्दामा कामसमेत भएको बताउनुभयो । उहाँले भन्नुभयो, “दुई देशबीचमा भएका कृषि, रेल र जलमार्गमा काम अघि बढाउन शुरुआत भएको छ ।” यस सम्झौताले दुवै देशको जनताको व्यवसायमा अभिवृद्धि हुने उहाँको भनाइ थियो ।

प्रधानमन्त्री मोदीले भन्नुभयो, “नेपाल भूपरिवेष्ठित मुलुक होइन, बरु जमिन र जल यातायातले सम्पर्क सञ्जालले जोडियोस्, प्रधानमन्त्री ओलीको यस दृष्टिकोणलाई साकार बनाउन भारत हरसम्भव सहयोग गर्ने प्रतिबद्धता छ ।”

नेपालको स्वास्थ्य क्षेत्रका सहयोगको नयाँ कदम उठाएको उल्लेख गर्दै उहाँले भक्तपुरको क्यान्सर अस्पतालमा बिरामीको उपचारका लागि रेडियो थेरापी मेसिन जडान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

संखुवासभामा रहेको ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् परियोजनाको शिल्यान्यासले रोजगारका अवसरका साथै आर्थिक र व्यावसायिकता उत्पन्न हुने उहाँको भनाइ थियो । सो परियोजना आज शिलान्यास गरिएको छ ।

नेपाल र भारत आदिकालदेखि नै नदी र हिमालय पर्वतमालाले जोडिएको बताउँदै उहाँले वर्तमान समयमा आफूहरु रेलमार्ग, जलमार्ग, प्रशारण लाइन र पाइपलाइनले जोडिन अत्यधिक प्रयासरत छौँ भन्नुभयो ।

दुई देशको सिमाना खुला भएको र यसमा अवान्छित तत्वद्वारा दुरुपयोग हुन नदिने बताउँदै दुवै देशका प्रधानमन्त्री सिमानाको रक्षा र सुरक्षा मजबुत बनाउन प्रतिबद्ध रहेको बताउनुभयो । दुवै देशको पर्यटन प्रवर्धनका लागि रामायण र बुद्ध परिपथलाई अघि बढाउनुपर्ने धारणा व्यक्त गर्दै प्रधानमन्त्री मोदीले रामायण परिपथलाई जोड्न आजमात्रै काम अघि बढेको जानकारी गराउनुभयो । उहाँ दुईदिने नेपालको राजकीय भ्रमणका लागि आजै यहाँ आइपुग्नुभएको हो ।

भारतीय प्रम मोदीको सम्मानमा रात्रिभोज

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना भारतीय समकक्षी नरेन्द्र दामोदरदास मोदीको सम्मानमा आज साँझ यहाँ रात्रिभोजको आयोजना गर्नुभयो ।

त्यस अवसरमा सभामुख, राष्ट्रियसभाका अध्यक्ष, मन्त्रिपरिषद्का सदस्य, प्रदेश नं ३ का प्रमुख, पूर्वप्रधानमन्त्री, संवैधानिक अंगका प्रमुख, सांसद, पूर्वमन्त्री, विभिन्न राजनीतिक दलका नेता, नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति, त्रिभुवन विश्वविद्यालयका उपकुलपतिलगायतको उपस्थिति थियो । त्यसैगरी नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्शका अध्यक्षका साथै नेपाल सरकारका उच्चपदस्थ अधिकारीको रात्रिभोजमा सहभागिता थियो ।

एकराज पाठक

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री