
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शनिबार हुने मुक्तिनाथ दर्शन तथा भ्रमणलाई लक्षित गरी निर्माण गरिएका स्वागतद्वार । तस्बिर – वासुदेव पौडेल, पोखरा, रासस
मुक्तिनाथ, मुस्ताङ, २८ वैशाख – नेपालको दुईदिने राजकीय भ्रमणमा आएका भारतका प्रधानमन्त्री नरेन्द्र मोदी शनिबार बिहान मुक्तिनाथ दर्शनका लागि आउँदै हुनुहुन्छ ।
भारतीय प्रधानमन्त्री मोदी मुक्तिनाथको भ्रमणमा आउने पहिलो उच्च तहको विदेशी पाहुना हुनुहुनेछ । उहाँको भ्रमणले धार्मिक पर्यटकीय गन्तव्य मुक्तिनाथको थप प्रसिद्धि बढ्ने ठानिएको छ । पर्यटन प्रवर्धनका अतिरिक्त मुक्तिनाथ क्षेत्रको विकासमा समेत भ्रमणलाई जोडेर हेरिएको छ । भारतका कुरु क्षेत्र र हरिहर क्षेत्र तथा नेपालका बराह क्षेत्र र मुक्ति क्षेत्र चार मुख्य धाम मानिन्छन् ।
भ्रमण नेपाल र भारतबीचको सांस्कृतिक एवं धार्मिक सम्बन्ध सुदृढीकरणको कडी बन्ने ठानिएको छ । जिल्ला समन्वय समिति मुस्ताङका प्रमुख छिरिङ ल्हामोले भारतीय प्रधानमन्त्री मोदीको मुक्तिनाथ भ्रमणको ऐतिहासिक महत्व रहेको बताउनुभयो । “मोदीको भ्रमणले हामी उत्साहित छौँ, उहाँको स्वागत गर्न आतुर छौँ”, प्रमुख ल्हामोले भन्नुभयो ।
भ्रमणपछि मुस्ताङको विकास र समृद्धिमा भारतीय सहयोग थप बढ्ने अपेक्षा लिइएको उहाँको भनाइ छ । “नयाँ परियोजना आउने विश्वास छ, विशिष्ट व्यक्तिको भ्रमणले यहाँको विकासमा पक्कै टेवा पुग्छ”, उहाँले भन्नुभयो । भारतीय प्रधानमन्त्री मोदीको मुक्तिनाथ भ्रमणले पर्यटन प्रवर्धनमा ठूलो महत्व राख्ने नेपाल भारत मैत्री संघ मुस्ताङका अध्यक्ष गणेश शेरचनले बताउनुभयो । अन्तर्राष्ट्रिय जगत्मा मुक्तिनाथ क्षेत्रको पहिचान अभिवृद्धि हुने उहाँको भनाइ छ । “मुक्तिनाथको प्रचारप्रसारमा भ्रमणले ठूलो सन्देश दिन्छ”, उहाँले भन्नुभयो, “भ्रमण सफल र फलदायी बनाउन सबै जुट्नुपर्छ ।” उहाँले यस किसिमका भ्रमणबाट नेपाल र भारतबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप बलियो हुने धारणा राख्नुभयो ।
पर्यटन व्यवसायी एवं जनप्रिय युवा क्लब मुक्तिनाथका पूर्वअध्यक्ष सुरज गुरुङले भारतीय प्रधानमन्त्रीको मुक्तिनाथ भ्रमणलाई मुस्ताङवासीले सौभाग्यका रुपमा लिनुपर्ने बताउनुभयो । उहाँले छिमेकी देशका कार्यकारी सरकार प्रमुखको भ्रमणलाई सामान्य रुपमा लिन नहुने धारणा राख्दै भन्नुभयो “यो भ्रमणबाट मुक्तिनाथ क्षेत्रको पहिचान र महिमा थप उजागर हुने छ ।”
मुस्ताङको आर्थिक–सामाजिक विकासमा भारतले विभिन्न परियोजना सञ्चालन गर्दै आएको छ । हिन्दू र बौद्ध धर्मावलम्बीको साझा धार्मिक गन्तव्यका रुपमा परिचित मुक्तिनाथमा सबैभन्दा बढी भारतीय तीर्थयात्री आउने गर्छन् । भारतमा समेत मुक्तिनाथ मन्दिरको प्रसिद्धि छ ।
तयारी अन्तिम चरणमा
शनिबार बिहानै हुने भारतीय प्रधानमन्त्री मोदीको मुक्तिनाथ दर्शन तयारी अन्तिम चरणमा पुगेको छ । मुक्तिनाथ मन्दिर परिसरमा मोदीको स्वागतका लागि विशेष तयारी गरिएको छ । सुरक्षालगायत सम्पूर्ण व्यवस्थापनका काम अन्तिममा पुगेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी शिशिरराज पौडेलले बताउनुभयो । मोदीको स्वागतका लागि मुक्तिनाथ मन्दिर परिसरमा पाँच स्वागतद्वार निर्माण गरिएको छ । मन्दिरमा रङ्गरोगन, साजसज्जा र सरसफाइका काम गरिएको छ ।
शनिबार बिहान ७ बजेर २० मिनेट जाँदा प्रधानमन्त्री मोदी भारतीय वायु सेनाको विशेष हेलिकप्टरबाट मुक्तिनाथ आउने कार्यक्रम छ । मोदीसहित आउने भ्रमण टोलीका लागि मन्दिर परिसरमा पाँच हेलिप्याड बनाइएको छ । मन्दिरमा विशेष पूजाआजाका लागि सबै तयारी गरिएको मन्दिरका पुजारी कृष्णप्रसाद सुवेदीले बताउनुभयो । पूजाआजापछि भारतीय प्रधानमन्त्री मोदी शनिबारै काठमाडौँ फर्कने कार्यक्रम छ ।
रानीपौवा बजारदेखि नै सरसफाइ
प्राकृतिक मनोरम दृश्यले सजिएको हिमालपारिको जिल्ला मुस्ताङस्थित मुक्तिनाथ मन्दिर र आसपासको क्षेत्र यतिखेर चिटिक्क सिङ्गारिएको छ । वरपर चाँदीजस्तै टलक्क टल्कने हिमशृङ्खला रहेको मुक्तिनाथमा विश्वमा नै महत्वपूर्ण शक्ति राष्ट्रका रुपमा उदीयमान छिमेकी मित्रराष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको शनिबार हुने यहाँको दर्शन भ्रमणको पूर्वतयारीस्वरुप सरसफाइ र रङ्रोगनले यहाँको सुन्दरतालाई थपेको छ ।
मोदीको मुक्तिनाथ दर्शनलाई लक्ष्य गरी स्थानीय व्यवस्थापनका लागि मुक्तिनाथ मन्दिर रहेको वारागुङ मुक्ति क्षेत्र गाउँपालिकाका प्रमुख छेन्तोक छेप्तेन गुरुङको संयोजकत्वमा रहेको स्थानीय व्यवस्थापन समितिको सक्रियतामा मुक्तिनाथ मन्दिरदेखि रानीपौवा बजार र आसपास क्षेत्रमा सरसफाइ गरिएको छ ।
सरसफाइमा रानीपौवा बजार र आसपासका सर्वसाधारण घरघरबाट जुटेका छन् । मन्दिर परिसरमा रहेका १०८ धाराको टुटी रङरोगनका साथै मुख्य द्वारमा रङ लगाएर आकर्षक बनाइएको छ । भ्रमणको तयारीस्वरुप मुक्तिनाथको मुख्य प्रवेशमार्गमा स्वागतद्वार राखिसकिएको वारागुङ मुक्ति क्षेत्र गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक रेग्मीले जानकारी दिनुभयो ।
मकवानपुरमा सुमो दुर्घटनाका घाइतेमध्ये ६ जनाको मृत्यु
सिरियामा आइएसको भूमिगत केन्द्रमा बेलायत–फ्रान्सको हवाई आक्रमण
गायक ‘सपुत’लाई जन्मस्थलोको दर्शकले साथदिँदा…
प्रवासी नेपालीको कथामा बन्यो चलचित्र ‘प्रवासी जीवन’
भेनेजुएलामा भएका अमेरिकी कारबाहीमा बेलायतको कुनै संलग्नता छैन : प्रधानमन्त्री स्टार्मर
बेलायत निवासी साहित्यकार केदार संकेतको ‘अन्तिम साँझ’ कथासङ्ग्रह लोकार्पण
नेपालमा ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ यही पुस १७ देखि लागु गरिँदै
इन्डोनेसियाको नर्सिङ होममा आगलागी, १६ जनाको मृत्यु
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको निधन
नेपालसहित विश्वका विभिन्न मुलुकमा मंगलबार तमु ल्होसार पर्व मनाइँदै