काठमाडौँ-उपराष्ट्रपति नन्दबहादुर पुनसँग नेपालको राजकीय भ्रमणमा रहेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार साँझ शिष्टाचार भेट गरेका छन् । उपराष्ट्रपति कार्यालय बहादुर भवनमा भएको भेटवार्तामा नेपाल–भारत सम्बन्ध, आपसी हित र द्विपक्षीय चासोका बारेमा छलफल भएको छ ।
उपराष्ट्रपति पुनले भारतीय प्रधानमन्त्रीसँगको भेटमा परापूर्वकालदेखिको नेपाल–भारतबीचको सौहार्द र सहयोगात्मक सम्बन्ध भारतीय प्रधानमन्त्री मोदीको कार्यकालको तेस्रो पटकको नेपाल भ्रमणले अझै बलियो र प्रगाढ बनाउने विश्वास व्यक्त गरे।
उनले दुई देशबीचको उच्चस्तरीय भ्रमणले सम्बन्धमा उच्च विकास र भावनात्मक रुपमा निकटता ल्याउने काम गरेको बताउँदै नेपाल राजनीतिक रुपमा स्थायित्व हासिल गर्दै समृद्धिको मार्गमा अगाडि बढिरहेकाले नेपालको समृद्धिमा भारत सधैँ सहयोगी हुने विश्वास व्यक्त गरे ।
उनले नेपालको व्यापार घाटा कम गर्दै आर्थिक रुपमा समृद्ध बन्न भारतको सहयोग चाहिने बताए । उपराष्ट्रपतिले नेपालले वस्तु निर्यातमा सहज पहुँच र व्यापारमा सन्तुलन चाहेको उल्लेख गर्दै उपराष्ट्रपतिले नेपालले पारवहन तथा आपूर्तिमा बेलाबेला देखापर्ने समस्या सधैंका लागि समाधान चाहेको बताए ।
उनले नेपालको विभिन्न क्षेत्रमा भारतको ठूलो लगानीको नेपालले अपेक्षा गरेको उल्लेख गर्दै सीमा क्षेत्रमा हुने डुबान र आवतजावतमा देखापर्ने समस्या हल हुँदै जाने अपेक्षा व्यक्त गरे ।
उनले विगतमा दुई देशबीच भएको सहमति र सम्झौता कार्यान्वयनका लागि आवश्यक संयन्त्रको विकास गर्नुपर्ने तथा सम्झौता र सन्धि दुवै देशको पारस्परिक हितअनुकूल र समयानुकूल हुने गरी पुनरवलोकन हुने विश्वाससमेत व्यक्त गरेको उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्तीले जानकारी दिए ।
भेटमा उपराष्ट्रपतिले भारतीय प्रधानमन्त्री मोदीको जनकपुर भ्रमण सफल रहेकामा खुशी व्यक्त गर्दै मुक्तिनाथ भ्रमणको सफलताका लागि शुभकामना दिए ।
भारतीय उपराष्ट्रपतिलाई निम्ता
उपराष्ट्रपति पुनले भारतीय प्रधानमन्त्रीमार्फत भारतका उपराष्ट्रपतिलाई बधाई तथा शुभकामना दिँदै उचित समय मिलाएर नेपाल भ्रमणका लागि निमन्त्रणासमेत गरे ।
उपराष्ट्रपतिसँगको भेटमा भारतीय प्रधानमन्त्रीले नेपालको विकास र समृद्धिका लागि सहयोग गर्न भारत सधैँ तयार रहेको बताउँदै दुई देशबीचको सहकार्यलाई अझै फराकिलो बनाउनुपर्नेमा जोड दिए । भारत र नेपालबीच सहकार्य भए जस्तोसुकै काम पनि गर्न सकिने उनले बताए ।
भारतीय प्रधानमन्त्री मोदीले आफ्नो जनकपुर भ्रमण अत्यन्त सफल र ऐतिहासिक भएको उल्लेख गर्दै नेपाली जनताको उत्साह देखेर आफू थप उत्साहित भएको बताए । भारतीय प्रधानमन्त्री मोदीले उपयुक्त समयमा भारतका उपराष्ट्रपतिको नेपाल भ्रमण हुने पनि बताए ।
भेटमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र सचिव शंकरदास वैरागी, उपराष्ट्रपति कार्यालयका सचिव शंकरप्रसाद अधिकारी, परराष्ट्र मन्त्रालयका सहसचिव भृगु ढुंगाना, भारतका लागि नेपालका कावा राजदूत भरतकुमार रेग्मीलगायत सहभागी थिए ।
त्यस्तै प्रधानमन्त्री मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल, विदेश सचिव विजय गोखले, नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरी, भारतीय प्रधानमन्त्री कार्यालयका सचिव एके शर्मालगायत सहभागी थिए ।
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा