पोखरा-राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले प्राकृतिक स्रोत साधनको संरक्षण, सम्वर्धन र प्रवर्धनसँगै जनताको प्रत्यक्ष जीविकोपार्जनको आधार बनाइनुपर्ने बताएका छन् ।
राष्ट्रिय ताल संरक्षण तथा विकास समितिद्वारा आजदेखि पोखरामा शुरु भएको दुईदिने अन्तर्राष्ट्रिय ताल सम्मेलन सन् २०१८ को उद्घाटन गर्दै उनले प्राकृतिक र मानव गतिविधिका कारण सङ्कटमा परेका हिमाल, पहाड र तराई क्षेत्रमा रहेका कतिपय जलाशयको संरक्षणका लागि सरकार, निजी क्षेत्र र स्थानीयस्तरबाट पहल गरिनुपर्नेमा जोड दिए ।
सो अवसरमा प्रदेश नं ४ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले चौतारा, पोखरीलगायत जैविक विविधताका मुख्य स्रोतको संरक्षणका लागि कानून बनाउने तयारीमा प्रदेश जुटेको बताए ।
पूर्वमन्त्रीद्वय कृपासुर शेर्पा र गणेश शाहले पानी प्रदूषण गर्ने जो कसैलाई पनि कानून बनाएर दण्डित गरिनुपर्नेमा जोड दिए । नेकपा एमाले पर्यटन विभाग प्रमुख सूर्य थापाले ताल संरक्षण समितिले १२ वर्षमा तयार पारेका तथ्यांकका आधारमा मुलुकका तालको संरक्षण र विकासमा जुट्नुपर्ने बताए ।
नेपाल पर्वतारोहण संघका सचिव टीकाराम गुरुङले नेपालमा तीन हजार ३१० हिमाल रहेकामा आठ हजार मिटरभन्दा बढी उचाइका १४, सात हजार ५०० मिटरका १२२ र छ हजार मिटर उचाइ भएका एक हजार ३१० हिमाल रहेको र नेपाल सरकारले हालसम्म ४१४ हिमालको मात्र नामकरण गरेको बताउँदै उनले त्यस क्षेत्रमा रहेका हिमताल फुट्न सक्ने खतरा औँल्याए ।
कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै डा विश्वबहादुर भण्डारीले नेपालमा पाँच हजार ३५३ तालमध्ये २० हिमताल फुट्ने जोखिममा रहेको उल्लेख गर्दै हिमालमा नयाँ ताल बन्ने र विलिन हुने प्रक्रियाका कारण तल्लो बस्ती जोखिममा रहेको बताए ।
राष्ट्रिय ताल संरक्षण तथा विकास समितिका अध्यक्ष नानीकाजी थापाले तालतलैया तथा सिमसार क्षेत्रको संरक्षण, सम्वर्धन र दिगो उपयोगका लागि भए गरेका प्रयासका बारेमा सूचना, ज्ञान तथा अनुभव आदानप्रदान गर्ने विषयमा सम्मेलन कोशेढुंगा सावित हुने विश्वास व्यक्त गरे ।
अन्तर्राष्ट्रिय ताल फाउण्डेशनका उपाध्यक्ष मासाहिस माकामुराले जलवायु परिवर्तन हिमाल र तालको संरक्षणमा चुनौतीपूर्ण देखिएको बताउँदै त्यसको समाधानका लागि सामूहिक प्रयासमा जोड दिए ।
नेपाललगायत चीन, भारत, श्रीलंका, बंगलादेश, म्यानमा, जापानसहित सात राष्ट्रको सहभागिता रहेको उक्त सम्मेलनमा ‘जैविक विविधता, ताल र सिमसार क्षेत्रको संरक्षणमा देखिएका चुनौती र सम्भावना’ विषयमा २१ कार्यपत्र प्रस्तुत गरिने राष्ट्रिय ताल संरक्षण विकास समितिका कार्यकारी निर्देशक लङ्कबहादुर शाहीले जानकारी दिनुभयो ।
त्यसअघि पोखराको मुख्य पर्यटकीयस्थल बाराहीचोकबाट ताल संरक्षण तथा प्रवर्धनसम्बन्धी नारा लेखिएको तुलसहित प्रभातफेरी निकालिएको थियो ।
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा