भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणबारे सदनलाई जानकारी

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको जानकी मन्दिरमा शुक्रबार हुने दर्शनलाई लक्षित गरी जानकी मन्दिर अगाडि द्रुतगतिमा कालोपत्रे गरिँदै । तस्बिर – नारायण न्यापाने, रासस

काठमाडौँ, २६ वैशाख – पराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीको मैत्रीपूर्ण निमन्त्रणमा उहाँका समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यही वैशाख २८ र २९ गते गर्न लाग्नुभएको नेपालको राजकीय भ्रमणका बारेमा सदनलाई जानकारी गराउनुभयो ।

उहाँले वैशाख २८ गते राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनसित भारतीय प्रधानमन्त्री मोदीको शिष्टाचार भेट हुने कार्यक्रम रहेको जानकारी दिनुभयो ।

सोही दिन प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच आपसी हितका बिषयमा कुराकानी हुने र संयुक्त रुपमा उहाँहरुले अरुण तेस्रो जलविद्युत् आयोजनाको शिलान्यास गर्नुहुने कार्यक्रम रहेको परराष्ट्रमन्त्री ज्ञवालीले जानकारी दिनुभयो ।

भारतीय प्रधानमन्त्री मोदीले ऐतिहासिक जनकपुर र मुक्तिनाथको भ्रमण गर्नुहुने तथा भारतीय प्रधानमन्त्रीलाई काठमाडौँ र जनकपुरमा नागरिक अभिनन्दनसमेत गरिने कार्यक्रम रहेको उहाँले बताउनुभयो ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मुक्तिनाथ दर्शनका लागि मुक्तिनाथ परिसर क्षेत्रमा सरसफाइ गरिँदै । तस्बिर – निरज थकाली, ठिनी (मुस्ताङ), रासस

परराष्ट्रमन्त्री ज्ञवालीले प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीले जनकपुरमा रामायण सर्किटको संयुक्त रुपमा समुद्घाटन गर्नुहुने कार्यक्रम रहेको उल्लेख गर्दै भारतीय प्रधानमन्त्री मोदीको तेस्रो नेपाल भ्रमणले दुबै देश बीचको सम्बन्धमा नयाँ आयम थप गर्ने विश्वास व्यक्त गर्नुभयो ।

एकराज पाठक

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री