बेलायती सांसद शर्मा चन्द्रेश्वर महादेव तथा धुम्बाराही मन्दिरमा

काठमाडौं । यतिखेर नेपाल भ्रमणमा रहेको बेलायतको संसदीय प्रतिनिधिमण्डलका एकजना प्रभावशाली सदस्य सांसद वीरेन्द्र शर्माले चन्द्रेश्वर महादेव तथा धुम्बाराही मन्दिरमा पूजा अर्चना गरेका छन् ।
हिन्दू धर्म मान्ने सांसद शर्माले पूजा अर्चना एवं मन्दिर अवलोकन गरेपछि नेपालीको धार्मिक सहिष्णुता तथा आस्थाको उच्च 
मुल्यांकन र कदर गरे । शर्मा ब्रिटेनको संसदीय समितिका नेपाल मामिला अध्यक्ष समेत हुन् । उनले बेलायतस्थित नेपाली समुदाय र भूपू गोर्खा माग सम्वोधनका लागि निरन्तर सहयोग 
गर्दै आएका छन् ।
मन्दिर अवलोकन तथा पूजा अर्चना गर्न आएको प्रतिनिधि मण्डललाई धुम्रबराही मुट्ठीदान संकलन समितिका अध्यक्ष भुपेन्द्र कुमार पौडेल तथा समितिका सदस्यहरु, त्रिविका 
अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख प्राध्यापक डा. खड्ग केसी एवं मन्दिरका सस्थापक संरक्षक अ.प्रा.(म.से) महेन्द्रजंग लामिछानेले स्वागत गरेका थिए ।
उक्त अवसरमा सांसद शर्मासहित प्रतिनिधिमण्डललाई मुट्ठीदान संकलन समितिको तर्फबाट चन्द्रेश्वर महादेव मन्दिर तथा धुम्र बराह मन्दिरको प्रतिमूर्ती मायाको चिनो स्वरुप प्रदान गरियो ।
उक्त मन्दिर बेलायत बस्ने समाजेवी एवं व्यवसायी रवि जंग लामिछानेले आफ्ना पिता स्व. चन्द्रजंग लामिछानेको पूण्य स्मृतिमा निर्माण गरेका हुन् । पर्वत जिल्ला, तिलाहार स्थायी निवासी लामिछानेले आफ्नो रविचन्द्र ट्रष्ट मार्फत नेपालमा 
शैक्षिक छात्रवृति प्रदान गरि गरिव तथा असहाय जेहेन्दार विद्यार्थीलाई शिक्षाको ज्योति समेत प्रदान गर्दै आएका छन् ।
ब्रिटिश ग्रुप अन इन्टर पार्लियामेन्ट्री युनियनका सदस्य नाइजल इभान्सको नेतृत्वमा मे ६ देखि नेपाल भ्रमणमा रहेको प्रतिनिधिमण्डलले प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरा, उर्जा, जलश्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुन लगायत विशिष्ट अधिकारीहरुसंग भेटवार्ता गरिसकेको छ ।
नेपालमा नयां सरकार गठनपछि भएको ब्रिटिश सांसदहरुको पहिलो औपचारिक भ्रमणले बेलायत नेपाल सम्वन्ध अझ मजवुत बनाउन सहयोग गर्ने अपेक्षा गरिएको छ ।
उक्त प्रतिनिधिमण्डल १२ मे, २०१८ मा बेलायत फर्कनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री