बेलायती सांसदहरुको प्रधानमन्त्री ओलीसँग भेटघाट

काठमाडौं, २५ वैशाख – प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकार आउँदो तीन वर्षभित्र नेपाललाई अतिकम विकसित राष्ट्रको सूचीबाट विकासोन्मुख राष्ट्रमा उक्लिने ध्येयमा केन्द्रित रहेको बताउँदै सबै छिमेकी मित्र राष्ट्रहरुको सहयोग र साथ हासिल गरिने धारणा व्यक्त गर्नुभएको छ ।

बेलायतको तल्लो सदन हाउस अफ कमन्सका सांसद निजेल इभान्सको नेतृत्वमा नेपाल भ्रमणमा रहेको बेलायती सांसदहरुको प्रमण्डलसँग आज भएको भेटवार्तामा प्रधानमन्त्री ओलीले सो धारणा राख्नुभएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

भेटमा प्रधानमन्त्री ओलीले विश्व राजनीतिमा नेपालले तटस्थता कायम राख्ने बताउँदै चीनको ‘वेल्ट एण्ड रोडको योजना’ र भारतको ‘सबैको साथमा सबैको विकास गरिने’ नारा दुवै नेपालको हितमा रहेको धारणा व्यक्त गर्नुभयो ।

द्वन्द्वकालीन घटनाहरुका सम्बन्धमा प्रतिनिधिमण्डलले राखेको जिज्ञासाको जवाफमा प्रधानमन्त्री ओलीले नेपालको कानून र शान्ति प्रक्रियासँग सम्बन्धित दुई आयोगले संक्रमणकालीन न्यायलाई टुंग्याउने विश्वास दिलाउनुभयो ।

उहाँले द्वन्द्वको दुवै पक्षमध्येका जोसुकै भए पनि मानवअधिकार तथा मानवीय कानूनको गम्भीर उल्लंघन गर्नेहरुलाई क्षमादान नदिइने प्रष्ट पार्नुभएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

नेपाल भाषिक र सांस्कृतिक विविधताले भरिपूर्ण धर्म निरपेक्ष देश भएकाले कुनै पनि धर्म, संस्कृति अँगाल्नेप्रति राज्यले भेदभावको नीति अंगीकार नगरेको उहाँले प्रष्ट पार्नुभयो ।

संविधानका ३१ वटा धारामा मौलिक हकहरुको व्यवस्था गरिएको बताउँदै प्रधानमन्त्री ओलीले निर्वाचित निकायमा ४१ प्रतिशत महिलाको प्रतिनिधित्व रहेको उल्लेख गर्नु भएको थियो ।

एकराज पाठक

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री