सोमबार, मंसिर १५ २०७७ | Mon, November 30, 2020
नेपालको समय: १९:१८ | UK Time: 13:33

यातायात मन्त्रालय र व्यवसायीबीच ‘सिन्डीकेट’ अन्त्य गर्न पाँचबुँदे सहमति

वीनेपाली
२०७५ वैशाख २४ गते १६:०५

काठमाडौँ- भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र यातायात व्यवसायी महासंघबीच यातायात एकाधिकार अन्त्य गर्ने विषयमा पाँचबुँदे सहमति भएको छ । मन्त्रालयले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा यातायात क्षेत्रका जुनसुकै प्रकारको एकाधिकार (सिन्डिकेट) को स्वरुप खारेजी गर्ने सहमति भएको जानकारी गराइएको थियो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठको उपस्थितिमा आइतबार बेलुकी मन्त्रालयमा भएको वार्ताले सहमति जुटाएको हो । प्रचलित कानूनअनुसार एउटा मात्र सार्वजनिक सवारी भएका धनीले पनि यातायात सञ्चालन गर्न पाउने र सर्वोच्च अदालतले परमादेश जारी गरेअनुसार यातायात क्षेत्रलाई व्यवस्थित बनाउन जाँचबुझ आयोग गठनको प्रक्रिया छिटो अघि बढाउने सहमति भएको छ ।

यातायात व्यवसायीको संयुक्त आन्दोलन मूल समितिले घोषणा गरेका सम्पूर्ण कार्यक्रम फिर्ता लिन दुवै पक्ष सहमत भएका छन् । यातायात क्षेत्रलाई व्यवस्थित एवं प्रभावकारी बनाउन ३० दिनभित्र प्रतिवेदन दिने गरी कार्यदल गठन गर्ने सहमतिसमेत भएको छ ।

कार्यक्रममा मन्त्री महासेठले लामो समयदेखिको यातायात एकाधिकार अन्त्य गर्न यातायात व्यवसायीले नै सहयोग गरेको बताए । महासंघका बहुसंख्यक सदस्य नै एकाधिकारका विरुद्धमा लागेको उनको भनाइ थियो । “प्रचलित कानूनको अधिनमा रहेर जो सुकैले व्यवसाय गर्न पाउँछ, यातायात क्षेत्रलाई व्यवस्थित बनाउन कार्यदलको सुझावका आधारमा काम अघि बढ्छ, यातायात एकाधिकार खारेज भएपछि भोलिदेखि नै यातायात व्यवस्थित हुनेछ,” मन्त्री महासेठले भने ।

महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले व्यवसायीले एकाधिकार नभई आलोपालो प्रणालीका आधारमा यातायात सञ्चालन गरेको दाबी गरे । महासंघ र यातायातका कुनै पनि संस्था खारेज नभएको उनको दाबी थियो ।

महासंघ र यातायात संस्थाका खाता बन्द गरिएकाले आजदेखि भएका दुर्घटनाका घाइतेको उपचार व्यवसायीले नगराउने महासंघले जनाएको छ । हाल दुई लाख सार्वजनिक यातायात सडकमा गुड्छन् । नयाँ र पुरानो बसपार्क व्यवस्थित नभए सडकबाटै सवारी चलाउने अध्यक्ष कर्माचार्यले बताए ।

सहमति भनिए पनि पत्रकार सम्मेलनमा वितरित पाँच बुँदा सम्झौतापत्रमा मन्त्रालयका प्रवक्ता राजेन्द्रराज शर्माको मात्र हस्ताक्षर छ । शर्माले पाँच बुँदा पढेर सुनाउनेबित्तिकै मन्त्रालयको हलमा अत्यधिक संख्यामा उपस्थित यातायात व्यवसायीले सहमतिका सबै बुँदा सार्वजनिक नगरिएको भन्दै विरोध जनाए । व्यवसायीलाई अध्यक्ष कर्माचार्य र महासचिव पुण्यप्रसाद (सरोज) सिटौलाले शान्त गराए ।

कार्यक्रममा मन्त्री आउन केही ढिला हुँदा यातायात व्यवसायी सबै क्षेत्रको एकाधिकार अन्त्य हुनुपर्ने भन्दै चर्को स्वरमा कराएका थिए । निर्धारित समयभन्दा अघि नै पुगेका यातायात व्यवसायीले हल खचाखच भरिएपछि पत्रकार उभिएर सुन्न बाध्य भए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक