काठमाडौँ, २४ वैशाख – बेलायती संसदीय प्रतिनिधिमण्डलले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनसँग भेटवार्ता गरेको छ ।
ऊर्जा मन्त्रालयमा आज भएको भेटवार्तामा द्विपक्षीय हितका विषयमा छलफल भएको हो । नेपालको संघीय संसद्को निमन्त्रणामा भ्रमणमा आएको बेलायती संसदीय प्रतिनिधिमण्डलको नेतृत्व बेलायती सांसद नाइजल इभान्सले गर्नुभएको छ ।
भेटमा ऊर्जामन्त्री पुनले बेलायत नेपालको पुरानो विकास साझेदार मुलुक रहेको भन्दै आगामी दिनमा पनि दुवै देश बीच सुमधुर सम्बन्ध रहने विश्वास व्यक्त गर्नुभयो । उहाँले बेलायतले नेपालको शिक्षा, स्वास्थ्य र सुरक्षाको क्षेत्रमा गरेको सहयोग निकै महत्वपूर्ण रहेको बताउनुभयो ।
ऊर्जा, जलस्रोत र सिँचाइका क्षेत्रमा समेत सहकार्य गर्न सरकार तयार रहेको धारणा व्यक्त गर्दै मन्त्री पुनले ऊर्जा मन्त्रालयको १० वर्षमा १० हजार मेगावाट विद्युत् उत्पादन गर्ने योजना रहेको र त्यसका लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रको सहयोग आवश्यक रहने बताउनुभएको उहाँको सचिवालयले जनाएको छ ।
“अहिले हामीसँग एक हजार मेगावाट आसपासमात्रै बिजुली उत्पादन हुन्छ, तर हामीसँग एक लाख मेगावाट विद्युत उत्पादन गर्ने क्षमता छ । दश वर्षमा १० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्नका लागि हामीलाई निजी क्षेत्र तथा विदेशी लगानीकर्ताको जरुरी हुन्छ” मन्त्री पुनले भन्नुभयो । उहाँले नेपालमा लगानीको वातावरण रहेको भन्दै बेलायती लगानीकर्तालाई नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न पनि आग्रह गर्नुभएको थियो ।
भेटमा बेलायती सांसदहरुले नेपालको जलविद्युत्, सौर्य ऊर्जा र जलस्रोतको क्षेत्रमा सरकारी नीति र योजनाबारे चासो राख्नुभएको थियो ।
बेलायती सांसद नाइजल इभान्सले नेपालको विकासमा बेलायत सहयोग गर्न तयार रहेको धारणा राख्नुभएको थियो । उहाँले बेलायत युरापेली संघबाट अलग भएपछि यस्ताखालका द्विपक्षीय भ्रमण अझै बढ्ने र त्यसले दुई देशको सम्बन्ध अझै मजबुत बन्ने बताउनुभयो ।
भेटमा बेलायती सांसदहरुले नेपालमा बिजुलीको अवस्था, जलविद्युत्ले वातावरणमा पारेको असर र त्यसको रोकथामका लागि सरकारले अघि सारेका कदमहरुका बारेमा समेत चासो राख्नुभएको थियो ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
‘भोजपुर प्रतिभा सम्मान’ राईलाई र पुरस्कार गन्धर्वलाई प्रदान गर्ने भोजपुर प्रतिभा प्रतिष्ठान बेलायतको निर्णय
नेपालमा प्रतिनिधिसभा निर्वाचन आउन ६४ दिन बाँकी : ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको निधन
नेपालसहित विश्वका विभिन्न मुलुकमा मंगलबार तमु ल्होसार पर्व मनाइँदै
नेपालमा ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ यही पुस १७ देखि लागु गरिँदै