नेपाली खानाको विश्वव्यापीकरण अभियान शुभारम्भ

संस्कृति पर्यटन तथा नागरिक उडडयन मन्त्री रवीन्द्र अधिकारी सोमबार विश्व बजारमा प्रवर्धन गर्न राखिएको नेपाली खानाको परिकार अवलोकन गर्नुहुँदै । तस्बिर – कृष्ण अधिकारी, रासस

काठमाडौँ, २४ वैशाख – नेपाली रैथाने खानालाई विश्व बजारमा स्थापित गराउने अभियानको आज औपचारिकरुपमा थालनी भएको छ । अभियानअन्तर्गत तयार पारिएको नेपाली खाना पकाउन ज्ञान प्रदान गर्ने ‘कुकु बुक’ एवं भिडियो सार्वजनिक गरिएको छ ।

होटल एसोसिएशन अफ नेपाल (हान) र नेपाल पर्यटन बोर्डको आयोजनामा आज यहाँ आयोजित कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले ती प्रचार सामग्रीको सार्वजनिक गर्दै नेपाल आउने विदेशी पर्यटकलाई यहाँको मौलिक खानाको स्वाद दिनसके त्यसैको माध्यमबाट बढीभन्दा बढी पर्यटक भित्र्याउन सकिने विश्वास व्यक्त गर्नुभयो ।

विदेशस्थित कूटनीतिक नियोग र गैरअवासीय नेपाली संघहरुमार्फत पनि नेपाली खानालाई प्रवर्धन गर्न सकिने उहाँको भनाइ छ ।

मन्त्री अधिकारीले बुद्ध परिपथ र रामायण परिपथको प्रवद्र्धनका लागि हवाइ सेवा विस्तार गर्नुपर्ने उल्लेख गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न नेपाल भ्रमणपछि यसमा अझ ठोस निर्णय हुने जानकारी दिनुभयो ।

उहाँले दुई वर्षभित्र पर्यटकीय पूर्वाधारका क्षेत्रमा मुलुकले ठूलो फड्को मार्नसक्ने विश्वास व्यक्त गर्दै उहाँले निजी क्षेत्रको साझेदारीबिना पर्यटनको विकास असम्भव भएकाले सरकार निजी क्षेत्रसँग सहकार्य गर्न तयार रहेको छ भन्नुभयो ।

देशभरिबाट संकलित झन्डै २०० प्रकारका रैथाने खाना पकाउने विधि, सामग्री आदिलाई विशेषज्ञ सेफहरुको टोलीले विस्तृत अध्ययन गरी विश्वव्यापी रुपमा सामग्रीको उपलब्धता, स्वाद आदिको आधारमा झन्डै ३० प्रकारका उपयुक्त नेपाली रैथाने खानालाई विश्व बजारमा प्रवर्धन गराउन कुक बुक तथा भिडियो तयार परिएको छ ।

छनोटमा परेका नेपाली रैथाने खानाहरुको नेपाल सरकारको केन्द्रीय खाद्य अनुसन्धानशालाबाट परीक्षण गराएर प्रोटिन, न्यूट्रिसन आदि पक्षको प्रमाणित पत्र पनि प्राप्त गरिएको छ ।

वरिष्ठ पर्यटनविद् कर्ण शाक्यले खानाको माध्यमबाट नेपाललाई अन्तराष्टिय जगतमा पुरयाउन सकिने भएकाले विदेशस्थित नेपाली कूटनीतिक नियोगहरुले आयोजना गर्ने भोजमा नेपाली खाना समावेश गर्नुपर्ने, देशका पाँचतारे होटलमा अनिवार्य नेपाली रेस्टुरेन्ट र तीन तथा चारतारे होटलमा नेपाली खानाको मेनु राख्ने व्यवस्था मिलाउन सरकारसँग आग्रह गर्नुभयो ।

होटल संघ नेपालका अध्यक्ष अमरमान शाक्यले विश्व पर्यटन बजारमा पकवान पर्यटनको विकास द्रुत गतिमा भइरहेको परिप्रेक्ष्यमा नेपालमा विद्यमान खानाको सम्वृद्ध रीतिरिवाज एवं संस्कृतिबाट नेपाली पर्यटन बजारले समेत प्रशस्त फाइदा लिन सक्ने हुँदा नेपाली रैथाने खानालाई विश्वव्यापीकरण गर्ने अभियान शुरु गरिएको स्पष्ट गर्नुभयो ।

सो अवसरमा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपकराज जोशी र पनि नेपाली खानालाई विश्व जगतमा पुरयाउन आवश्यक भएकोमा जोड दिनुभयो ।

सोही कार्यक्रममा आमन्त्रित विभिन्न राष्ट्रका राजदूत एवं विशिष्ट पाहुनाहरुलाई कुक बुक तथा भिडियोमा समावेश भएका नेपाली रैथाने खाना खुवाएर स्वागत सत्कार गरिएको थियो ।

विश्वभरि छरिएर रहेका गैरआवासीय नेपालीहरुले सञ्चालन गरिआएका तथा भविष्यमा सुरु गर्ने नेपाली खाना पस्कने रेस्टुरेन्टहरुले प्रत्यक्ष फाइदा लिन सक्ने विश्वास गरिएको छ ।

एकराज पाठक

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री