काठमाडौँ-प्रतिनिधिसभा बैठकमा विभिन्न चार अध्यादेश प्रस्तुत गरिएको छ । संघीय संसदको आजदेखि शुरु भएको दोस्रो अधिवेशनको बैठकमा गृहमन्त्री रामबहादुर थापाको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले ‘राष्ट्रियसभा सदस्य निर्वाचन अध्यादेश, २०७५’ र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले ‘राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश, २०७५’ प्रस्तुत गरे ।
त्यस्तै, कानुन मन्त्री तामाङले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (पहिलो संशोधन) अध्यादेश, २०७५’ र ‘संघीय संसदका महासचिव, प्रतिनिधिसभाका सचिव र राष्ट्रियसभाका सचिवको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी अध्यादेश, २०७५’ पेश गरेका थिए ।
बैठकमा प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका सभापति कृष्णभक्त पोखरेलले ‘प्रतिनिधिसभा नियमावली समितिको प्रतिवेदन, २०७५’ प्रस्तुत गरे । साथै, उनले राखेको नियमावली मस्यौदा समितिको म्याद थपसम्बन्धी प्रस्ताव बैठकले सर्वसम्मतिले पारित गरेको छ ।
बैठकले सभामुख र उपभामुखको अनुपस्थितिमा बैठक सञ्चालनका लागि अध्यक्षता गर्न खगराज अधिकारीको सट्टामा राधा ज्ञवालीलाई राख्ने प्रस्ताव पारित गरेको छ । अधिकारी नेकपा (एमाले) संसदीय दलको प्रमुख सचेतक भएका छन् ।
बैठकमा सभामुख कृष्णबहादुर महराले राष्ट्रपतिबाट अधिवेशन आह्वानसम्बन्धी प्राप्त पत्रको ब्यहोरा पढेर सुनाएका थिए भने द्वितीय अधिवेशनको आइतबारको पहिलो बैठकमा शहीदको सम्झनामा मौनधारण गरिएको थियो ।
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
तनहुँ समाज हङकङले गर्यो मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग
राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा सोविता गौतम, महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]