पार्टी एकता एक दुई दिनभित्रै टुंगो लाग्ने दाहालको घोषणा

काठमाडौँ-नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले एकाध दिनभित्रै पार्टी एकताको विषयमा ठोस प्रगति हुने बताएका छन् । उनले नेकपा एमाले र माओवादी केन्द्रबीचको एकता प्रक्रिया सम्पन्न हुने चरणमा रहेको दाबी गरे ।

“केही दिनभित्रै हामी त्यसलाई ठोस निष्कर्षमा पुरयाउछौँ र विश्व समुदायलाई नयाँ सन्देश दिन्छौँ ,” दाहालले भने ।

अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा आज विभिन्न पेशागत महासंघ र ट्रेड यूनियनसँग आबद्ध संघ–संगठनले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले कार्ल माक्सको द्विशतवार्षिकीको अवसरमा नै एकता प्रक्रियालाई तार्किक निष्कर्षमा पुरयाउने तयारी भइरहेको बताए ।

एकता प्रक्रिया नेपाली कम्युनिस्ट, नेपाली जनता र विश्वका श्रमजीवी जनताको सम्पत्ति भइसकेको उल्लेख गर्दै उनले यस अभियानबाट कोही पनि पछाडि फर्कने अवस्था नभएको स्पष्ट पारे । “एकता प्रक्रिया अगाडि बढ्दैन कि, यो बीचमै रोकिन्छ कि भनेर भ्रम पाल्नु आवश्यक छैन । प्रक्रिया धेरै अगाडि बढिसकेको छ । विश्व श्रमिक दिवसका दिन यस्तो जानकारी गराउन पाउँदा माओवादी केन्द्र र पार्टी एकता संयोजन समितिको तर्फबाट मलाई गौरव लागेको छ”–अध्यक्ष दाहालले भने ।

नेपालका लागि दुईतिहाई मतसहितको सरकार बनाउने र समाजवाद उन्मुख संविधान कार्यान्वयन गर्दै आर्थिक समृद्धि र विकासको महान् अभियान पूरा गर्ने अवसर प्राप्त भएको भन्दै उनले यसलाई कुनै पनि हालतमा चुक्न नदिइने प्रतिबद्धता व्यक्त गरे ।

इतिहासमा बिरलै प्राप्त हुने अवसरलाई पूर्णरुपमा सदुपयोग गरेर सामाजिक न्यायसहितको आर्थिक समृद्धिको मार्गमा अगाडि बढ्नैपर्ने अध्यक्ष दाहालको कथन थियो ।

लामो संघर्ष, त्याग र बलिदानबाट प्राप्त राजनीतिक अधिकारलाई संस्थागत गर्दै श्रमजीवी वर्गको हित रक्षाका लागि आफूहरुले हदैसम्मको प्रयास गर्ने उनको भनाइ थियो ।

धनी र गरिबबीचको खाडल नहुने गरी सबैलाई समान अवसर प्रदान गर्ने गरी संविधानमा नै समाजवाद उन्मुख राज्य प्रणालीको परिकल्पना गरिएको भन्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका दाहालले भने, “नेपाली जनताको चाहनालाई हामी सम्बोधन गर्दै आर्थिक समृद्धिको मार्गमा अगाडि बढ्छौँ ।”

कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले लामो संघर्षबाट प्राप्त राजनीतिक अधिकारलाई संस्थागत गर्दै आर्थिक विकासको चरणमा प्रवेश गर्नैपर्ने धारणा राखे ।

सुखी नेपाली, समृद्ध नेपालको नारा कार्यान्वयन गर्ने लक्ष्यका साथ वर्तमान सरकार गठन भएकाले श्रमजीवी वर्गको हित र चाहनालाई सम्बोधन गर्नैपर्ने उनको भनाइ थियो । विभिन्न टुक्रामा विभक्त भएका नेपालका कम्युनिस्ट पार्टी विस्तारै एकताको प्रक्रियामा अगाडि बढेको भन्दै उनले शीघ्र पार्टी एकता घोषणा हुने विश्वास दिलाए ।

लोकतन्त्रलाई संस्थागत गर्ने, राष्ट्रियताको जगर्ने गर्ने, गरिबी, अशिक्षा र भोकमरीको उन्मूलन गर्ने र सन्तुलित विदेश नीति अपनाएर मुलुकलाई समृद्ध बनाउनुपर्ने उनको भनाइ थियो ।

श्रमजीवी, गरिखाने वर्गको हितमा वर्तमान सरकारले काम गर्नैपर्ने स्पष्ट पार्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता खनालले भने, “वर्तमान सरकार परिवर्तनको जगमा निर्माण भएको सरकार भएकाले जनताको पक्षमा काम गर्नैपर्छ ।”

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले श्रम क्षेत्रका काम गर्ने मजदुरलाई बैंक खातामार्फत ज्याला पाउने व्यवस्था गर्न लागिएको जानकारी दिए । आगामी साउन १ गतेदेखि लागू हुने गरी न्यूनतम् ज्याला वृद्धि गर्ने गरी तयारी भएको जानकारी दिँदै मन्त्री विष्टले केही प्रतिष्ठित उद्योग तथा प्रतिष्ठानले समेत न्यायोचित ज्याला नदिएको भन्ने गुनासो आएको उल्लेख गरे ।

आगामी दुई चार महिना भित्रैमा श्रमजीवी वर्गले अनभव गर्ने गरी परिवर्तनको महसुस गराउने तयारीमा सरकार रहेको भन्दै उनले श्रमिकले सञ्चयकोष, औषधि उपचार तथा अन्य सुविधा पाउने व्यवस्था गराएरै छाडिने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा गोपीरमण उपाध्यायले अनुवाद गरेको कम्युनिस्ट पार्टीको घोषणा पत्र, पूर्वप्रधानमन्त्री खनालले लेखेको ‘भिजन अफ आवर टाइम’ र योगेन्द्र शाहीले लेखेको ‘नेपालमा भूमिसुधार वामपन्थी दृष्टिकोण’ नामक पुस्तक समेत लोकापर्ण गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री