काठमाडौँ, १७ वैशाख – राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल आमाका सपूत एवं अमरज्योति शान्तिका अग्रदूत बुद्धको दुई हजार ५६२ औँ जन्मजयन्तीका अवसरमा सम्पूर्ण बौद्ध धर्मावलम्बीलगायत शाक्यमुनि बुद्धले दिएको शान्ति, अहिंसा, मेलमिलाप र करुणा भावनाप्रति विश्वास राख्ने स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण महानुभावमा शुभकामना व्यक्त गर्नुभएको छ ।
आज दिनुभएको शुभकामना सन्देशमा राष्ट्रपति भण्डारीले धार्मिक, सामाजिक तथा साँस्कृतिक विविधताबीच सहिष्णुता र सद्भाव कायम गरी राष्ट्रिय एकतालाई सदृढ एवं सबल बनाउने अभियानमा शान्तिदूत बुद्धका उपदेश तथा मार्गदर्शन हामी सबैका लागि प्रेरणादायी रहेको उल्लेख गर्नुभएको छ ।
बौद्ध दर्शनलाई आत्मसात् गर्दै अगाडि बढ्न सकेमा हामीभित्र आन्तरिक शान्ति तथा भ्रातृत्व भाव आउनाका साथै आर्थिक समृद्धि, सामाजिक विकास एवं दिगो शान्ति र सुशासनतर्फ उन्मुख सबैबीच एकता, सहिष्णुता र सद्भाव कायम हुन सजिलो हुने उहाँले उल्लेख गर्नुभएको छ ।
सन्देशमा आजको पवित्र दिनमा एकापसमा सद्भाव, मेलमिलाप एवं अहिंसावादी सिद्धान्तको पालना गर्न विश्वका सम्पूर्ण मानवलाई प्रेरणा मिलोस् भन्ने कामनासमेत गरिएको छ ।
राष्ट्रपति भण्डारीले उभौली पर्वका अवसरमा पनि सम्पूर्ण स्वदेश तथा विदेशमा रहनुभएका नेपाली किराँत धर्मावलम्वी दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति तथा समृद्धिका लागि शुभकामना व्यक्त गर्नुभएको छ ।
शुभकामना सन्देश दिँदै उहाँले नेपालको मौलिक र विशिष्ट संस्कृतिसहितको समुदाय किराँतको उभौली पर्वले नेपालीबीच आपसी सद्भाव, भ्रातृत्व र सहिष्णुता कायम गर्दै सामाजिक एकता, शान्ति र मेलामिलापको वातावरण सिर्जना गर्ने उल्लेख गर्नुभएको छ ।
उपराष्ट्रपतिको शुभकामना
उपराष्ट्रपति नन्दबहादुर पुनले बुद्धजयन्ती तथा किराँत समुदायको प्रमुख चाड उभौली पर्वका अवसरमा देशविदेशमा रहनुभएका समस्त नेपाली दिदीबहिनी तथा दाजुभाइ र विश्वभरका बुद्ध धर्मावलम्वी तथा किरात समुदायमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना व्यक्त गर्नुभएको छ ।
आज विज्ञप्ति जारी गर्दै उहाँले अहिंसा र सदाचारका आदिपुरुष बुद्धले देखाएको सद्मार्गसबैका लागि अनुकरणीय र मननीय रहिआएको बताउँदै विश्वभरका मानिसहरू भौतिक र आत्मिक सुखशान्तिको खोजीमा रहेको वर्तमान सन्दर्भमा गौतमबुद्धबाट व्यक्त शान्ति र अहिंसाका सत्य वचनको महत्व झनै बढेर गएको उल्लेख गर्नुभएको छ ।
प्रधानमन्त्री ओलीले दिए शुभकामना सन्देश
प्रधानमन्त्री केपी शर्मा ओलीले सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुलाई बुद्ध जयन्तीको अवसरमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।
२५६२ औं बुद्धजयन्तीको अवसरमा एक सन्देश प्रकाशित गर्दै नेपालको भूमिमा जन्मेर मानव कल्याणका लागि ठूलो योगदान दिनुभएका गौतम बुद्धका उपदेशहरु विश्वमै लोकप्रिय रहेको बताउनुभएको छ ।
‘‘शान्तिका अग्रदूत गौतम बुद्धले सम्पूर्ण मानव जगतको कल्याण गर्न गृहत्याग गरी कठोर परिश्रमबाट प्राप्त गर्नु भएको बोधी ज्ञान आजसम्म पनि उत्तिकै शास्वत छ । बुद्ध विचारले अहिंसा, सदभाव, मानव कल्याण र मानिसकै जीवनमा शान्तिको बाटो देखाएकाले नै उहाँका विचारहरु विश्वभर यति धेरै लोकप्रिय हुन सकेका हुन्’’ शुभकामना सन्देशमा भनिएको छ ।
गौतम बुद्धले नेपालको भूमिमा जन्मेर मानव कल्याणका लागि ठूलो योगदान दिनु भएकाले उहाँप्रति हामीले गर्व गर्न सक्ने बताउँदै प्रधानमन्त्रीले सन्देशमा उल्लेख गर्नुभएको छ- ‘बुद्ध हामी सबै नेपालीहरूको लागि गर्वका प्रतीक हुनुहुन्छ ।’
प्रधानमन्त्री ओलीले बुद्ध धर्मको विश्व भातृत्वको भावनालाई आत्मसात गर्दै सबैलाई मिलेर अगाडि बढ्न प्रेरणा मिलोस् र सबैको कल्याण होस् भन्ने शुभकामना पनि व्यक्त गर्नुभएको छ ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा : संयुक्त राष्ट्र महासचिव गुटेरेस
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
रास्वपा सभापति रवि लामिछाने धरौटीमा रिहा
अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित
अभिनयतर्फ गायन समीर श्रेष्ठ
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक