चार सय २५ बिरामीको मिर्गौला प्रत्यारोपण

भक्तपुर-शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र ‘मानव अंग प्रत्यारोपण केन्द्र’ भक्तपुरले ४२५ जना बिरामीको मिर्गौला प्रत्यारोपण सफलताका साथ सम्पन्न गरेको छ । मंगलबार केन्द्रले आयोजना गरेको छैटौँ वार्षिकोत्सव समारोहमा यसबारे जानकारी दिँदै केन्द्रका कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठका अनुसार २०६९ माघ ६ गतेबाट मिर्गौला प्रत्यारोपण शुरु गरेको केन्द्रले शुरुको वर्ष १३ वटा मिर्गौला प्रत्यारोपण गरेको थियो ।

उनले भने, “शुरुमा १३ बिरामीको प्रत्यारोपण गरेकामा गत वर्ष १३२ हुँदै यो वर्षको आठ महिनामा १११ जनाको प्रत्यारोपण गरिसक्यौं, शुरुदेखि अहिलेसम्म ४२५ जनाको मिर्गौला प्रत्यारोपण गर्न सफल भयौँ ।” केन्द्रले यस वर्ष दुई जनाको कलेजो प्रत्यारोपणसमेत गरेको छ ।

अहिलेसम्म केन्द्रले ३५ हजार बिरामीलाई सेवा दिइसकेको बताउँदै उनले भने, “यहाँ ३५ हजार बिरामीले सेवा पाइसक्नुभयो । त्यसैगरी प्रत्यारोपणमा मिर्गौलादातातर्फ शतप्रतिशत र मिर्गौला प्रत्यारोपणतर्फ ९८ प्रतिशत सफलता हासिल गरेका छौँ, यो विश्वकै उत्कृष्ट सफलता हो ।”

एक वर्षमा ३० हजारलाई डायलासिस सेवा दिँदै आएको बताउँदै उनले अब यो संख्या थप्नसक्ने अवस्थामा नभएको बताए । भौतिक संरचना र मेसिन थप भएमा यो सेवा थप गर्न सकिने बताउँदै उनले अहिले ४८० बिरामी मिर्गौला प्रत्यारोपण र ३३१ जना बिरामी डायलासिसका लागि पर्खेर बसेको बताए ।

मिर्गौला प्रत्यारोपणबाहेक मुटु रोग सेवाको ओपन हार्ट सर्जरीसमेतको सेवा, युरोलोजी, ग्यास्ट्रो सर्जरी, कार्डियोथेरापी सर्जरीलगायत विभिन्न पत्थरीको शल्यक्रियाका सेवा शुरु गरेपछि बिरामीको चाप निकै बढेको छ ।

डा श्रेष्ठले भने, “दैनिक १० जनाबाट शुरु भएको डायलासिस अहिले दैनिक १५० जनासम्म पुग्ने गरेको छ, ३५ वटा मेशिनले काम गरेकामा अहिले १७ वटा मेशिन बिग्रिएको छ, ठाउँ अभावले श्यया र मेशिन थप्न नपाउँदा कैयौं बिरामी पर्खाइमा बस्नुपरेको छ ।”

विगत छ वर्षदेखि मिर्गौला प्रत्यारोपण नगरी पुराना बिरामीले डायलासिस मात्रै गरेको बताउँदै उनले पुराना बिरामीले प्रत्यारोपण नगर्दा नयाँ बिरामीले डायलासिसलाई ठाउँ पाउन गाह्रो भएको उनको भनाइ थियो । निःशुल्क डायलासिसका कारण प्रत्यारोपण गर्नेको संख्या कम हुँदै गएको छ ।

अहिले सातामा कम्तीमा तीनदेखि आठ वटासम्म मिर्गौला प्रत्यारोपण हुने गरेको छ । ठाउँ अभावले कलेजो प्रत्यारोपणलाई समेत नियमित गर्न सकेको छैन । स्वास्थ्य सेवा विभागका महानिर्देशक डा गुणराज लोहनीले मिर्गौला प्रत्यारोपणमा नेपालले अप्रत्यासितरुपमा सफलता हासिल गरेको बताउँदै यसको विस्तारका लागि आवश्यक सहयोग गर्ने बताए ।

कार्यक्रममा चाँगुनारायण नगरपालिकाका प्रमुख सोम मिश्रले केन्द्रको शाखा सञ्चालनका लागि चाँगुनारायण नगरपालिका–७ वागेश्वरी बगुवामा रहेको ६० रोपनी सार्वजनिक जग्गा दिन प्रस्ताव  गरेका छन् ।

प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेल, नर्सिङ इञ्चार्ज इन्दिरा प्रधानलगायतले सबैको सहयोगले अगाडि बढेको अस्पताल विस्तारका लागि जनप्रतिनिधिको ध्यान जानुपर्नेमा जोड दिए ।

बिरामी श्यामलाल नकर्मीले आफू चार वर्षदेखि डायलासिस सेवा लिँदै आएको बताउँदै बिग्रिएका मेशिन मर्मत गरेर ३५ वटा चलाउने र अरु नयाँ मेशिन थप गर्न अति आवश्यक रहेको बताए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री