काठमाडौँ, १० वैशाख – बहुप्रतिक्षित राष्ट्रिय गौरवको आयोजना ‘काठमाडौँ तराई-मधेश द्रुतमार्ग’ को निर्माण कार्य प्रभावकारी बनाई समयमै सक्न नेपाल सरकारले समन्वय र अनुगमनको संयन्त्र बनाउने भएको छ ।
रक्षामन्त्री ईश्वर पोखरेलले राज्यको प्राथमिकता र समृद्धिसँग जोडिएको सो आयोजनामा नेपाली सेनालाई सघाउन उक्त संयन्त्र शुरुमै बन्नुपर्नेमा त्यस्तो हुन नसकेकाले मन्त्रिपरिषद्मा सोबारे आवश्यक निर्णय गर्न प्रस्ताव लगिने जानकारी दिनुभयो ।
चौमासिक रुपमा हुने मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा आज निर्देशन दिँदै मन्त्री पोखरेलले भन्नुभयो, “द्रुतमार्गमा नेपाली सेनाको हालसम्मको काम सन्तोषजनक छ तर निजामती प्रशासनबाट अनुगमन र समन्वयको संयन्त्र नबनाउनु उसका लागि असहयोग हुने देखिएकाले रक्षा मन्त्रालयले प्रस्ताव लैजाने तयारी गरेको छ ।”
ललितपुरको खोकनाबाट बाराको निजगढसम्म ७६ दशमलव २ किमी हुने दक्षिण एशियालीस्तरको सो मार्गको प्रगति बुझ्न मन्त्री पोखरेल गत चैत ८ मा स्थलगत भ्रमणमा जानुभएको थियो भने देखिएका समस्या समाधानका लागि चैत २८ मा जंगी अड्डामा सरोकारवाला निकायसँग बैठक भएको थियो । सो मार्ग बनेपछि करीब एक घण्टामा काठमाडौँबाट निजगढ पुग्न सकिने भएकाले यसले आर्थिक–सामाजिक विकासमा योगदान दिने अपेक्षा गरिएको छ ।
मन्त्री पोखरेलले नीतिमा स्पष्टता, संरचना, कानूनी पक्ष, योजना र अनुगमन भएमा कामहरु निर्वाध रुपमा अघि बढ्न सक्ने उल्लेख गर्दै सबै तहका नेतृत्वले इमानदारिता (इन्ट्रिग्रिटी) नगुमाई आफ्नो स्वार्थलाई केन्द्रमा नराखी काम गरेमा देश र जनतालाई सही सेवा दिन सकिने बताउनुभयो । उहाँले मन्त्री पोखरेलले लामो समयदेखि हुन नसकेको मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिलाई आगामी दिनमा नियमित गराइने पनि स्पष्ट गर्नुभयो ।
नेपाल सरकारले २०७४ वैशाख २१ को मन्त्रिपरिषद्को निर्णयबाट सो आयोजना निर्माणको जिम्मा सेनालाई दिएको थियो भने २०७४ जेठ १४ मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजगढमा त्यसको शिलान्यास गर्नुभएको थियो । मार्गमा सेनाले २०६९ मा नमूना ट्र्याक खोलेको थियो । आयोजनाका लागि चालू आवमा रु १० अर्ब बजेट विनियोजन गरिएको छ ।
सेनाले हालसम्म आठ स्थानमा स्थायी बेसक्याम्पस निर्माण, रुख छपान र कटान, सडक निर्माण, सर्भिस ट्र्याक निर्माण, स्थानीयवासीलाई क्षतिपूर्ति र राहत वितरण तथा अन्य सामाजिक कार्य शुरु गरिसकेको छ ।
आयोजनाका लागि विभिन्न चट्टान फोर्ने विष्फोटक पदार्थको आपूर्ति, ठूला पुलको सर्वेक्षण, कतिपय क्षेत्रमा सञ्चार र विद्युतीकरणको सञ्जाल विस्तारका लागि सेनाले सरकारका अन्य निकायसँग समन्वय गरिरहेको छ । द्रुतमार्गको प्रारम्भमा पर्ने ललितपुरको खोकना, बुङ्मति, सैँबु, भैँसेपाटी क्षेत्रमा भने मुआब्जाको विवाद सल्टाउन बाँकी छ ।
मन्त्रालयका सचिव विष्णुप्रसाद लम्सालले सरकारको समृद्धि र विकासको लक्ष्यलाई सघाउन मन्त्रालय र नेपाली सेनाले थप मेहनतसहित विश्वास आर्जन गरी काम गर्नुपर्ने बताउनुभयो ।
विस्तृत परियोजना प्रतिवेदनमा ढिलाइ
राष्ट्रिय योजना आयोगका सहसचिव डा तीर्थराज ढकालले विस्तृत परियोजना प्रतिवेदन तयार नगरी काम अगाडि बढाउँदा लागत, लक्ष्य र प्रगति पहिचान गर्न सहज नहुने भएकाले त्यसमा तदारुकता दिन आग्रह गरेपछि नेपाली सेनाका बलाधिकृत रथी पूर्णचन्द्र थापा द्रुतमार्गको विस्तृत परियोजना प्रतिवेदनका लागि सूचना प्रकाशन गरिएको जानकारी दिनुभयो ।
काम शुरु भएको चार महिनाभित्र प्रतिवेदन तयार हुने जनाउँदै उहाँले सन् २००८ मा एशियाली विकास बैंकको सम्भाव्यता अध्ययन र सेनाको सर्भेका आधारमा हाल काम भइरहेको बताउनुभयो ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
पाँच वर्षपछि पाकिस्तानी ध्वजाबाहक विमानले पुन: थाल्यो बेलायतका लागि उडान
रुकुम पश्चिम जिप दुर्घटना : मृत्यु हुनेको सङ्ख्या आठ पुग्यो, १० जना घाइते [अपडेट]
अन्धाधुन्ध एन्टिबायोटिकको प्रयोगले जनस्वास्थ्यमा गम्भीर असर
रुकुम पश्चिममा जिप दुर्घटना सात जनाको मृत्यु, १० जना घाइते
अमेरिकी स्टक एक्सचेञ्ज नास्डाकमा नेपालीको कम्पनीको कारोबार आरम्भ
राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बेलायतसहित विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता
तस्बिरमा हेर्नुहोस्, क्वोंने गुरुङ समाज यूकेका चेलीबेटीको चौथो वार्षिक भाइटिका तथा देउसो-भैलो कार्यक्रम
पूर्वगोर्खा सैनिक बुढामगरद्वारा विश्वका छैटौं अग्ला शिखरको सफल आरोहण
लन्डनमा आप्रवासन र सुरक्षाबारे पश्चिमी बाल्कन नेताहरूको शिखर बैठक
बेलायती प्रधानमन्त्रीद्वारा रुसका दुई प्रमुख तेल कम्पनीमा अमेरिकी प्रतिबन्धको स्वागत