अनेरास्ववियू कावा अध्यक्षमा बर्तौला

काठमाडौँ-नेकपा एमाले निकट अनेरास्ववियुको कावा अध्यक्षको जिम्मेवारी उपाध्यक्ष महेश बर्तौलाले पाएका छन् ।

अनेरास्ववियूका अध्यक्ष तथा सांसद नवीना लामाले आफूले व्यक्तिगत र पारिवारिक कारणले संगठनको नियमित कार्यसम्पादन र नेतृत्वको अगुवाइ गर्न नसक्ने जनाउँदै सोमबारदेखि कावा अध्यक्षको काम गर्ने गरी उनलाई जिम्मेवारी दिएकी हुन् ।

अनेरास्ववियूको २२ औँ राष्ट्रिय महाधिवेशनबाट लामा अध्यक्षमा निर्वाचित भएकी थिइन् ।

युवा संघमा पद हस्तान्तरण
युवा संघ नेपालका निवर्तमान अध्यक्ष राजीव पहारीले अध्यक्ष रमेश पौडेललाई आज पद हस्तान्तरण गरेका छन् ।  युवा संघको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा निवर्तमान अध्यक्ष पहारीबाट पद ग्रहण गर्दै अध्यक्ष पौडेलले राष्ट्रको समृद्धि र विकासका लागि युवालाई अगाडि बढाउने तथा ‘एक युवा एक रोजगार’ सिर्जना गरिने बताए ।

कार्यक्रममा सांसदद्वय तथा युवा संघका पूर्व अध्यक्षद्वय महेश बस्नेत, नीरु पाललगायतले युवा आन्दोलनलाई युवाको विषयमा केन्द्रित गर्नुपर्ने बताए ।

युवा संघका निवर्तमान अध्यक्ष पहारी कास्कीबाट प्रदेशसभामा निर्वाचित भएपछि यही वैशाख ३ र ४ गते सम्पन्न भएको संघको केन्द्रीय कमिटी बैठकले पौडेललाई निर्वाचित गरेको हो । बैठकले उपाध्यक्षमा किरण पौडेल, प्रभातविक्रम कटुवाल, क्रान्ति बुर्लाकोटी, परशुराम बस्नेत, गोविन्द थापा र चन्द्र लामा तथा महासचिवमा नरेश शाहीलाई चयन गरेको हो ।

विसं २०६९ फागुन ११ गते भएको संघको आठौँ राष्ट्रिय महाधिवेशन भएपछि अर्को महाधिवेशन हुन सकेको छैन । प्रत्येक तीन तीन वर्षमा हुनुपर्ने महाधिवेशन हुन नसकेपछि केन्द्रीय कमिटी बैठकले नेतृत्व चयन गर्दै आएको छ ।

यसअघि पाल र पहारीलाई पनि केन्द्रीय कमिटीले अध्यक्षमा निर्वाचित गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री