भर्ना अभियानमा मुख्यमन्त्रीकी आफ्नै छोरी

प्रदेश–७ का मुख्यमन्त्री त्रिलोचन भट्ट बुधबार धनगढीको उत्तरबेहडीस्थित राष्ट्रिय माविमा छोरी कक्षा ८ मा भर्ना गरी विद्यार्थी भर्ना अभियानमा सहभागी हुँदै । तस्वीर – सिद्धराज भट्ट, रासस

कैलाली, ५ वैशाख – प्रदेश नं ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेश सरकार सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्न प्रतिबद्ध रहेको बताउनुभएको छ ।

आज यहाँ धनगढीको उत्तरबेहडीस्थित राष्ट्रिय माध्यमिक विद्यालयमा आफ्नी छोरी पुष्पा भट्टलाई भर्ना गर्ने क्रममा मुख्यमन्त्री भट्टले विद्यालयको गुणस्तर सुधार गर्न प्रतिबद्ध रहेको बताउँदै यसमा सबैको सहयोगसमेत आवश्यक रहेको बताउनुभयो ।

भर्ना अभियानलाई प्रभावकारी बनाउन मुख्यमन्त्री भट्टले आफ्नी छोरीलाई कक्षा ८ मा भर्ना गर्नुभएको हो ।

यसअघि उहाँकी छोरी डोटीको के आइसिंह गाउँपालिकास्थित देवस्थली माविमा अध्ययनरत थिइन् ।

भर्ना कार्यक्रममा मुख्यमन्त्री भट्टले सामुदायिक विद्यालयको शिक्षा गुणस्तरीय बनाउन भर्ना अभियानमा सहयोग गरेको उल्लेख गर्नुभयो ।

‘शिक्षक, कर्मचारीलगायत उच्च ओहोदाका व्यक्तिहरु अनिवार्य रुपमा आफ्ना बालबालिकालाई सरकारी विद्यालयमा भर्ना गर्नुहोस्’- मुख्य मन्त्री भट्टले भन्नुभयो, “विद्यालयप्रति चासो राख्नुहोस् अनि मात्र शिक्षाको गुणस्तरमा सुधार हुन्छ ।”

आज बिहान कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल, धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वडसहित विद्यालय पुग्नुभएका मुख्यमन्त्री भट्टले आफ्नी छोरीसहित अन्य ११ जना बालबालिकालाई उक्त विद्यालयमा भर्ना गर्नुभयो ।

देशभरि वैशाख २ बाट शुरु गरिएको विद्यालय भर्ना अभियान यस प्रदेशमा पनि जारी छ ।

चेपाङ तामाङ बालबालिकाले पाए मुख्यमन्त्री अभिभावक

हेटौँडा, ५ वैशाख – प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले आज तीन जना विद्यार्थीको अभिभावक बन्दै सामुदायिक विद्यालयमा भर्ना गरिदिनुभएको छ ।

पश्चिम मकवानपुरको मनहरि गाउँपालिका–६ मा रहेको राष्ट्रिय मावि सुनाचुरीका दुई बालबालिका तथा महेन्द्र किरण माविका एक बालकलाई भर्ना गर्दै मुख्यमन्त्री पौडेललले भर्ना अभियानमा सहभागी हुनुभएको हो ।

विद्यालय जानबाट कोही पनि उमेर पुगेका बालबालिका नछुटून् भन्ने उद्देश्य नेपाल सरकारले शुरु गरेको अभियानअन्तर्गत मुख्यमन्त्री पौडेलले सुनाचुरीमा स्थानीय मनहरि–६ जोगीटारका ६ वर्षीय सञ्जीत ब्लोन तथा मनहरि गाउँपालिका–६ की ६ वर्षीय जेसिका प्रजालाई राष्ट्रिय मावि सुनाचुरीमा कक्षा १ मा भर्ना गरिदिनुभएको हो ।

मुख्यमन्त्री पौडेलले उनीहरुका लागि विद्यालय पोशाक, जुत्तादेखि स्कूल ब्याग, किताब तथा स्टेसनरी सामग्रीको समेत व्यवस्था गरिदिनुभएको छ । विद्यार्थी भर्नापछि बोल्दै मुख्यमन्त्री पौडेलले बालबालिकाले पढ्न पाउने अधिकारलाई सरकारले निकै गम्भीर ढंगबाट लिएको र प्रदेश नं ३ सरकारले पनि यो अभियानलाई महत्वपूर्ण रुपमा लिएको बताउनुभयो ।

शिक्षाबिना विकास र समृद्धि सम्भव नभएको भन्दै उहाँले शिक्षाको उज्यालोबाट सबै बालबालिका वञ्चित हुन नहुने धारणा व्यक्त गर्नुभयो ।

कार्यक्रममा प्रतिनिधिसभा सांसद विरोध खतिवडा, प्रदेशसभा सांसदहरु जुनली श्रेष्ठ, ओम घलान, मनहरि गाउँपालिका अध्यक्ष एकाराज उप्रेती लगायतको उपस्थिति थियो । कार्यक्रममा प्रदेशसभा सांसद ओम घलानले सुनिल चेपाङलाई आफू अभिभावक बनेर भर्ना गर्नुभएको छ ।

मुख्यमन्त्री पौडेलले मनहरिकै महेन्द्रकिरण माविमा पुगेर सुमन चेपाङको पनि आफू अभिभावक बनेर भर्ना गर्नुभएको छ । सांसद खतिवडाले पनि आफू अभिभावक बनेर विश्वास थोक्रा, जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलालले आर्यन विक, गाउँपालिका अध्यक्ष उप्रेतीले खुशी घिमिरे, वडा सदस्यहरु पुस्कर सुवेदी तथा रामप्रसाद ढकालले गंगा प्रजा र विक्रम थिङको अभिभावक बनेर विद्यार्थी भर्ना गर्नुभएको छ ।

एकराज पाठक

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री