काठमाडौँ-चीन सरकारको सहुलियत ऋणमा हालै ल्याइएका दुई वाई–१२ विमान आज औपचारिक रुपमा नेपाल वायु सेवा निगमलाई हस्तान्तरण गरिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित एक कार्यक्रमबीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी र नेपालका लागि चिनियाँ राजदूत यू होङले विमानको संयुक्त उद्घाटन गरे ।
कलसाइन ९ एन–एकेयू-९ एन–एकेभी विमान करीब डेढ महिनाअघि काठमाडौँ ल्याइएको थियो । जम्मा १७ सिट क्षमताका यी दुईसहित छ वटा चिनियाँ विमान नेपाल आइसकेका छन् । छ विमानमध्ये दुई विमान वाई १२ र एमए ६० ९५६ सिट क्षमताका विमान चीनको अनुदानमा ल्याइएको हो भने बाँकी एक एमए ६० र तीन वाई १२ गरी चार विमान सहुलियत ऋणमा खरिद गरिएको निगमले जनाएको छ ।
विसं २०६९ मा नेपाल सरकार र चीन सरकारबीचको प्रत्यक्ष सम्झौताबमोजिम कूल ६ वटा जहाज नेपाल वायुसेवा निगमले ल्याउने र त्यसमा दुई अनुदान र चार वटा सहुलियत ऋणमा ल्याउने सहमति भएको थियो । निगमका पुराना तीनसहित नौ वटा विमान आन्तरिक उडानका लागि छन् भने अन्तर्राष्ट्रियतर्फ एक बोइङ र दुई एयरबस ए–३२० बाट उडान भर्दै आएको छ ।
हाल निगमले देशका विभिन्न २३ गन्तव्यमा आन्तरिक तथा अन्तर्राष्ट्रियतर्फ विभिन्न मुलुकका आठ वटा गन्तव्यमा नियमित उडान भर्दै आएको छ । निगममा विमान भित्रिए पनि विमानचालक ‘पाइलट’ अभावका कारण तीन वटा विमान लामो समयदेखि थन्किएका छन् ।
सय दिनभित्र छवटै विमान उडाउन निर्देशन
पर्यटनमन्त्री रवीन्द्र अधिकारीले चीनबाट ल्याइएको छ वटै विमान सय दिनभित्र सञ्चालनमा लयाउन वायु सेवा निगमलाई निर्देशन दिएका छन् । विमान आउने र विभिन्न बहानामा थन्किने अवस्था रहेकोप्रति चासो जनाउँदै उनले अबको तीन महिनाभित्र विमान पूर्ण रुपमा सञ्चालनका व्यवस्थापन गर्न निगमलाई आग्रह गरे ।
पर्यटनमन्त्री अधिकारीले नेपाल र चीनको सम्बन्ध विमान उडेजस्तै हुनुपर्ने भन्दै आएका विमानलाई सहज रुवमा उडानको वातावरण सिर्जना गर्न दुवै पक्षले ध्यान दिनुपर्ने खाँचो औँल्याए । “छ वटा विमान आएका छन् यो सञ्चालन राम्रो भयो भने दुई देशबीचको सम्बन्ध पनि राम्रो हुन्छ, सधैँ विमान चालक अभाव भनेर उम्कन पाइँदैन । धेरै पाइलट उत्पादन गर्ने गरी त्यस अनुरुपको तालीम लगायतका कार्यक्रम प्रभावकारी रुपमा लैजानुपर्छ,” मन्त्री अधिकारीले भने ।
निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले निगमले नयाँ विमानबाट आन्तरिक उडानलाई प्रभावकारी बनाइने बताए । निगमका प्रवक्ता रवीन्द्र श्रेष्ठले निगमका सकेसम्म तीन महिनाभित्रै सबै विमान उडानको व्यवस्थापन गरिने र हालकै गन्तव्यमा उडान भर्ने योजना सुनाए ।
नेपालका लागि चिनियाँ राजदूत यू होङले नेपालको अर्थतन्त्रको महत्वपूर्ण आधार पर्यटन क्षेत्रको प्रवर्धनका लागि नयाँ विमान उपयोगी हुने धारणा व्यक्त गरिन् ।
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
नेपाल एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलद्वारा अध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने घोषणा