काठमाडौँ- हालसम्मकै उच्च संख्यामा पर्यटक भित्र्याएको वर्षका रुपमा विसं २०७४ दर्ज भएको छ । लामो समयदेखिको पर्यटक बढाउने विभिन्न प्रवर्धनात्मक अभियानका कारण २०७४ सालमा १० लाख पर्यटकले नेपाल भ्रमण गरे ।
यसले पर्यटन क्षेत्रका लागि निकै ठूलो उत्साह फैलाएको छ । नेपाल पर्यटन बोर्डको विवरणअनुसार विसं २०७४ अर्थात् सन् २०१७ मा १० लाखको हाराहारीमा विदेशी पर्यटक नेपाल आएका थिए । सरकारले सन् १९९८ लाई ‘भिजिट नेपाल’ का रुपमा आयोजना गरेर १० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको थियो ।
सन् २०१२ मा आठ लाखको हाराहारीमा विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए भने सन् २०१६ मा साढे सात लाख पर्यटक आएका थिए ।
सीमित पूर्वाधार र विभिन्न अस्थिरताबीच पनि उल्लेख्य संख्यामा पर्यटक बढ्नुले पर्यटन क्षेत्रमा ठूलो उत्साह जगाएको नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी बताउंछन् । पूर्वाधारको कमीका साथै यही वर्ष सम्पन्न भएका तीन तहका (स्थानीय निकाय, प्रदेश र प्रतिनिधिसभा) निर्वाचन तथा अस्थिर सरकार हुँदा पनि विदेशी पर्यटक बढेकाले सरोकारवाला निकायमा उत्साह पैदा गरेको उनको भनाइ छ ।
पर्यटन विभागका महानिर्देशक दिनेश भट्टराईले समग्रमा वर्ष २०७४ निकै उत्साह र उपलब्धिमूलक भएको बताए । विसं २०७४ मै निर्वाचनमार्फत स्थिर सरकार गठन भएको छ । यसले पर्यटन व्यवसायमा आशा जगाएको छ ।
यसै वर्ष पर्यटन क्षेत्रमा राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका ‘इभेन्ट’ कार्यक्रम भए । यसबाट बढीभन्दा बढी विदेशी पर्यटक आकर्षण गर्न मद्दत पुग्यो । पर्यटन क्षेत्रको हालसम्मकै ठूलो इभेन्ट ‘हिमालयन ट्राभल मार्ट–२०१७’ काठमाडौँ सम्पन्न भयो । नेपाल पर्यटन बोर्डको सहयोगमा प्यासिफिक एशिया ट्राभल एसोसिएसन (पाटा नेपाल च्याप्टर) ले आयोजना गरेको मार्टमा ठूलो संख्यामा विदेशी पर्यटन व्यवसायीको सहभागिता थियो ।
समग्र पर्यटन प्रवर्धनको जिम्मा लिएको नेपाल पर्यटन बोर्डले पनि २०७४ मा आफ्नो प्रवर्धनात्मक अभियानलाई फरक शैलीमा तीव्रता दिनुले पनि पर्यटनमय वर्षका रुपमा स्थापित गरेको छ । बोर्डले २०७४ सालबाटै विद्युतीय बजार ‘डिजिटल मार्केटिङ’, शुरु गरेको छ भने मौसमकेन्द्रित पर्यटनलाई बाह्रै महिना बनाउनका लागि अभियान थालेको छ । वर्षा, जाडो र गर्मीलाई प्रवर्धन गरी पर्यटक आकर्षण गर्ने योजनाअनुरुप अभियान चलाइएको बोर्डका प्रमुख कार्यकारी अधिकृत जोशीले बताए ।
होटल एशोसिएसन अफ नेपाल (हान) का महासचिव विनायक शाह पनि समग्रमा वर्ष २०७४ पर्यटनका लागि उत्साहवर्धक भएको स्वीकार्छन् । उनका अनुसार पर्यटक आगमनको दृष्टिकोणलाई मात्रै विश्लेषण गर्दा पनि २०७४ साल पर्यटनमय बन्न पुगेको छ जुन पर्यटनका लागि निकै उत्साहपूर्ण छ ।
तीन महिनामै तीन लाख पर्यटक
सन् २०१८ को तीन महिनामा विभिन्न मुलुकबाट हवाईमार्ग हुँदै करीब तीन लाख पर्यटक नेपाल आएका छन् । अध्यागमन विभागको पछिल्लो विवरणअनुसार जनवरी, फेब्रुअरी र मार्चमा दुई लाख ८६ हजार ८८२ पर्यटक नेपाल आए । सबैभन्दा बढी चीनबाट ४० हजार पर्यटक आएका छन् । भारतबाट ३४ हजार पर्यटक नेपाल आएका छन् । यो सन् २०१७ को पहिलो तीन महिनाको तुलनामा ११.४ प्रतिशतले बढी हो ।
वर्षको शुरुवातमा पर्यटकको उल्लेख्य आगमनले पर्यटनमा थप उत्साह जगाएको हानका महासचिव शाहले बताए। पदयात्रा र पर्वतारोहणको मुख्य याममा अहिले उल्लेख्य संख्यामा आरोही तथा पदयात्री विभिन्न मुलुकबाट आएका छन् । यस याममा पनि ६० प्रतिशतभन्दा बढी होटल बुकिङ रहेको र यो अझै बढ्ने महासचिव शाहको भनाइ छ ।
ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) का अध्यक्ष नवराज दाहाल वर्ष २०७४ पर्यटक आगमनका हिसाबले सफल मानिए पनि अझै गुणस्तरीय पर्यटक भित्र्याउन पूर्वाधार विकास र प्रवर्धनका कामलाई तीव्रता दिनुपर्ने खाँचो औँल्याउछन् । विसं २०७४ को शुरुवाती चरणमा बढेको पर्यटकको संख्या र स्थिर सरकार गठनपछि देखिएको उत्साहले पर्यटन क्षेत्रमा सकारात्मक असर पर्ने तथा २०७५ सालमा ठूलो संख्यामा पर्यटक भित्रने अनुमान गरिएको उनले उल्लेख गरे ।
६४९ आरोही हिमाल आरोहणमा
वसन्त ऋतुको यस याममा सर्वोच्च शिखर सगरमाथासहितका हिमाल आरोहण गर्न हालसम्म ६४९ आरोही आएका छन् । पर्यटन विभागको विवरणअनुसार हालसम्म ७६ वटा आरोहण समूहका ६४९ आरोहीले हिमाल आरोहणको अनुमति लिएका छन् ।
यीमध्यै ३६ वटा समूह सगरमाथा आरोहणका लागि छन् । यसमा ३२ विदेशी र चार नेपाली समूह रहेको विभागका महानिर्देशक दिनेश भट्टराईले जानकारी दिए । उनले अझै धेरै आरोही आउनेक्रम जारी रहेकाले यस वर्ष आरोहीको संख्या उत्साहजनक हुने अनुमान गरिएको बताए ।
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
नेपाल बाहिर रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]