
चितवन राष्ट्रिय निकुञ्जको सुखीभार पोष्ट नजिक आइतबार निकुञ्जको पोथी हात्ती तीर्थमान कलीसँगै ध्रुवे हात्ती । सो हात्तीले पाँच वर्षअघि १५ जनाको ज्यान लिएको बताइएको छ । तस्वीर – नारायण अधिकारी, चितवन, रासस
चितवन, २ वैशाख – मानिसमा जस्तै विपरीत लिङ्गीप्रतिको आकर्षण वा प्रेम जंगली हात्तीमा पनि हुन्छ भन्ने कुरालाई पाँच वर्षअघि निकै चर्चामा आएको ध्रुवे हात्तीले देखाएको छ ।
पाँच वर्षअघि नेपाल र भारतका विभिन्न क्षेत्रमा १५ जनाको ज्यान लिएको ‘ध्रुवे’ हात्ती अहिले सुखीभार पोष्ट आसपासमा देखिन थालेपछि त्यहाँ कार्यरत कर्मचारी, सेना त्रसित बनेका छन् ।
चितवन राष्ट्रिय निकुञ्जको मुख्य कार्यालय कसराबाट ‘टाइगर टप्स’ जाने बाटोमा रहेको सुखीभार पोष्टमा निकुञ्ज सुरक्षार्थ राखिएको पोथी हात्ती ‘तीर्थमान कली’लाई ध्रुवेले आज बिहान २.४० बजे साङ्लो चुडाएर जंगलतर्फ लगेको छ ।
सोही पोष्टमा हात्ती हेर्दै आएका रामकुमार चौधरीका अनुसार ध्रुवे हात्तीले तीर्थमान कलीसँगै बाँधिएको भाले हात्ती ‘पारस गज’लाई दाह्राले हानेर सामान्य घाइते बनाएको छ । चौधरीले भन्नुभयो, “राति ध्रुवे आएर पारस गजलाई हान्यो, तीर्थमान कलीको साङ्लो चुडाएर जंगलतर्फ लग्यो ।” पोष्ट नजिकै तीर्थमान कलीसँगै ध्रुवे रहेको उहाँले बताउनुभयो ।
दुई दिनअघि रासन कोठाको झ्याल पनि फोरेको छ । एक महिना अघिदेखि सो क्षेत्रमा ध्रुवे हात्ती रहेको उहाँले बताउनुभयो । चौधरीका अनुसार सबैलाई हात्तीले त्रसित बनाएको छ ।
सोही क्षेत्रमा पर्यटक घुमाउन सौराहाबाट शनिबार पुग्नु भएका जीपका चालक गौरीराम विश्वकर्मालाई ध्रुवे हात्तीले लखेटेको थियो । उहाँले भन्नुभयो “हामीलाई ध्रुवेले लखेटेपछि भागेर बच्यौँ । बाटोको छेउछेउ गाडीको पिछा गरेको थियो ।”
निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले प्राविधिक, गाइड, हात्तीसारका कर्मचारी सबैले अहिले देखिएको हात्ती ध्रुवे भएको जनाएको बताउनुभयो । गत साता शुक्रनगर क्षेत्रको मानव वस्तीमा पसेपछि लखेटेर जंगलतर्फ धपाएको उहाँले बताउनुभयो । ध्रुवे हात्तीले यतिबेला खासै बितण्डा नमच्चाएको भन्दै उहाँले सामान्य क्षतिबाहेक केही नगरेको बताउनुभयो । उहाँले भन्नुभयो “अहिले सज्जन भएर आएछ ।”
सोही हात्तीले २०६६ देखि २०६९ सालसम्म नेपाल र भारतमा गरेर १५ जनाको ज्यान लिएको निकुञ्जका अधिकारीले जनाएका छन् । २०६६ सालमा एक जना, २०६७ सालमा तीन, २०६८ सालमा एक र २०६९ सालमा १० जना सर्वसाधारणको ज्यान लिएको थियो । जसमध्ये चितवनको माडीमा छ, मेघौलीमा दुई, कसरामा एक, बाराको रुपही र कोवीमा चार तथा भारतमा दुई जनाको ज्यान लिएको बताइएको छ । ध्रुवेले ५० भन्दा बढी घर नष्ट गरेको थियो ।
सोही हात्तीले टाइगर टप्स होटलका शमशेरगज हात्ती मारेको थियो । २०६९ सालमा सो हात्तीलाई निकुञ्जमा गोली प्रहार गरिएको भए पनि नमरेको निकुञ्जका पूर्वप्रमुख संरक्षण अधिकृत कमलजंग कुँवरले बताउनुभयो ।
उहाँका अनुसार उमेर पुगेर उन्मत्त हुँदै गएपछि समूहबाट छुटेर पोथी हात्ती खोज्ने क्रममा ध्रुवे चितवन राष्ट्रिय निकुञ्ज आएको हो । जुन ठाउँमा ध्रुवे थियो सो क्षेत्रमा रहेका अन्य भाले हात्तीका कारण पोथी नपाएपछि ध्रुवे मात्तिएको बेला चितवन राष्ट्रिय निकुञ्ज आउने गर्दछ ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
सम्झनयोग्य कृति : सम्झनाको चोमोलुङ्मा
यस्तो छ मार्चमा हुने एनआरएनएको विश्व सम्मेलन र महाधिवेशन तालिका
‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरलाई
पोखरा अन्तरराष्ट्रिय म्याराथनको उपाधि केन्याका जुलियसलाई
मनोविद् डा. राईको पाँचौं कृति सार्वजनिक
नेपाली विद्यार्थीको शव स्वदेश पठाउन बेलायतमा उठ्यो साढे १० हजार पाउन्ड
बेलायतबाट डा हेमराज शर्माद्वारा एनआरएनएको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा
नेपालका राष्ट्रपति पौडेलसमक्ष गोर्खा विग्रेडको वार्षिक प्रतिवेदन प्रस्तुत
एपस्टिनसँग म्यान्डेलसनको सम्बन्ध रहेको प्रकरणमा बेलायती प्रधानमन्त्रीका उच्च सहयोगीद्वारा राजीनामा
रामेछाप बस दुर्घटना : मृतकको संख्या १२ पुग्यो [अपडेट]