
चितवन राष्ट्रिय निकुञ्जको सुखीभार पोष्ट नजिक आइतबार निकुञ्जको पोथी हात्ती तीर्थमान कलीसँगै ध्रुवे हात्ती । सो हात्तीले पाँच वर्षअघि १५ जनाको ज्यान लिएको बताइएको छ । तस्वीर – नारायण अधिकारी, चितवन, रासस
चितवन, २ वैशाख – मानिसमा जस्तै विपरीत लिङ्गीप्रतिको आकर्षण वा प्रेम जंगली हात्तीमा पनि हुन्छ भन्ने कुरालाई पाँच वर्षअघि निकै चर्चामा आएको ध्रुवे हात्तीले देखाएको छ ।
पाँच वर्षअघि नेपाल र भारतका विभिन्न क्षेत्रमा १५ जनाको ज्यान लिएको ‘ध्रुवे’ हात्ती अहिले सुखीभार पोष्ट आसपासमा देखिन थालेपछि त्यहाँ कार्यरत कर्मचारी, सेना त्रसित बनेका छन् ।
चितवन राष्ट्रिय निकुञ्जको मुख्य कार्यालय कसराबाट ‘टाइगर टप्स’ जाने बाटोमा रहेको सुखीभार पोष्टमा निकुञ्ज सुरक्षार्थ राखिएको पोथी हात्ती ‘तीर्थमान कली’लाई ध्रुवेले आज बिहान २.४० बजे साङ्लो चुडाएर जंगलतर्फ लगेको छ ।
सोही पोष्टमा हात्ती हेर्दै आएका रामकुमार चौधरीका अनुसार ध्रुवे हात्तीले तीर्थमान कलीसँगै बाँधिएको भाले हात्ती ‘पारस गज’लाई दाह्राले हानेर सामान्य घाइते बनाएको छ । चौधरीले भन्नुभयो, “राति ध्रुवे आएर पारस गजलाई हान्यो, तीर्थमान कलीको साङ्लो चुडाएर जंगलतर्फ लग्यो ।” पोष्ट नजिकै तीर्थमान कलीसँगै ध्रुवे रहेको उहाँले बताउनुभयो ।
दुई दिनअघि रासन कोठाको झ्याल पनि फोरेको छ । एक महिना अघिदेखि सो क्षेत्रमा ध्रुवे हात्ती रहेको उहाँले बताउनुभयो । चौधरीका अनुसार सबैलाई हात्तीले त्रसित बनाएको छ ।
सोही क्षेत्रमा पर्यटक घुमाउन सौराहाबाट शनिबार पुग्नु भएका जीपका चालक गौरीराम विश्वकर्मालाई ध्रुवे हात्तीले लखेटेको थियो । उहाँले भन्नुभयो “हामीलाई ध्रुवेले लखेटेपछि भागेर बच्यौँ । बाटोको छेउछेउ गाडीको पिछा गरेको थियो ।”
निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले प्राविधिक, गाइड, हात्तीसारका कर्मचारी सबैले अहिले देखिएको हात्ती ध्रुवे भएको जनाएको बताउनुभयो । गत साता शुक्रनगर क्षेत्रको मानव वस्तीमा पसेपछि लखेटेर जंगलतर्फ धपाएको उहाँले बताउनुभयो । ध्रुवे हात्तीले यतिबेला खासै बितण्डा नमच्चाएको भन्दै उहाँले सामान्य क्षतिबाहेक केही नगरेको बताउनुभयो । उहाँले भन्नुभयो “अहिले सज्जन भएर आएछ ।”
सोही हात्तीले २०६६ देखि २०६९ सालसम्म नेपाल र भारतमा गरेर १५ जनाको ज्यान लिएको निकुञ्जका अधिकारीले जनाएका छन् । २०६६ सालमा एक जना, २०६७ सालमा तीन, २०६८ सालमा एक र २०६९ सालमा १० जना सर्वसाधारणको ज्यान लिएको थियो । जसमध्ये चितवनको माडीमा छ, मेघौलीमा दुई, कसरामा एक, बाराको रुपही र कोवीमा चार तथा भारतमा दुई जनाको ज्यान लिएको बताइएको छ । ध्रुवेले ५० भन्दा बढी घर नष्ट गरेको थियो ।
सोही हात्तीले टाइगर टप्स होटलका शमशेरगज हात्ती मारेको थियो । २०६९ सालमा सो हात्तीलाई निकुञ्जमा गोली प्रहार गरिएको भए पनि नमरेको निकुञ्जका पूर्वप्रमुख संरक्षण अधिकृत कमलजंग कुँवरले बताउनुभयो ।
उहाँका अनुसार उमेर पुगेर उन्मत्त हुँदै गएपछि समूहबाट छुटेर पोथी हात्ती खोज्ने क्रममा ध्रुवे चितवन राष्ट्रिय निकुञ्ज आएको हो । जुन ठाउँमा ध्रुवे थियो सो क्षेत्रमा रहेका अन्य भाले हात्तीका कारण पोथी नपाएपछि ध्रुवे मात्तिएको बेला चितवन राष्ट्रिय निकुञ्ज आउने गर्दछ ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
नेपाल एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलद्वारा अध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने घोषणा