मेलम्चीको सुरुङ छिचोलियो, दशैँ अगावै पानी

खानेपानी मन्त्री बिना मगर मंगलबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मेलम्ची खानेपानी आयोजनाको प्रगति विवरणबारे जानकारी गराउँदै । साथमा सचिव कृष्णराज बिसी । तस्वीर – नवीन पौडेल, रासस

काठमाडौँ, २७ चैत – बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको सुरुङ निर्माण सम्पन्न भएको छ । कूल २७ दशमलव ५ किलोमिटर लामो सुरुङमध्ये सिन्धु–ग्याल्थुमखण्डको सात दशमलव पाँच किलोमिटर सुरुङ निर्माण कार्य आज सम्पन्न भएको हो । तर सुरुङ निर्माण कार्य सकिएको औपचारिक जानकारी भने यही चैत २९ गते मेलम्ची आयोजनाको कार्यालय सिन्धुपाल्चोकमा दिइने तयारी गरिएको बुझिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री एवं नेकपा(माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र खानेपानी मन्त्रीलगायत विशिष्ठ अधिकारीको उपस्थितिमा सुरुङ निर्माण सकिएको घोषणा गरिनेछ ।

सरकारले राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सो परियोजनाको सुरुङ निर्माण कार्य सन् २००८ देखि शुरु भएको हो ।

खानेपानी मन्त्री बिना मगरले आज मन्त्रालयमा आयोजना गर्नुभएको पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार काठमाडौँवासीको मेलम्ची सपना पूरा हुने क्रममा रहेको बताउनुभयो ।

मेलम्ची आयोजनाको सुरुङ निर्माण सम्पन्न भए पनि काठमाडौँवासीले पानी पाउन अझै छ महिना प्रतिक्षा गर्नुपर्ने भएको छ । सुरुङको मर्मत तथा अन्य प्राविधिक काम पूरा गर्न अझै छ महिनाजति लाग्ने भएको छ । बाँधको मुख्य संरचना, सुरुङको पूर्ण मर्मत गर्ने काम बाँकी रहेकाले ती कार्य सम्पन्न गरेर काठमाडौँवासीलाई पानी उपलब्ध गराइनेछ ।

खानेपानी मन्त्री मगरले गत फागुनको अन्तिम साता सुरुङ निर्माण कार्य सम्पन्न गर्न आयोजनाका अधिकारीलाई निर्देशन दिनुभएको थियो । मन्त्री मगरले दिनुभएको समयसीमाभन्दा चार दिन पहिल्यै सुरुङ निर्माण सम्पन्न भएको हो ।

पहिलो चरणमा काठमाडौँ उपत्यकामा मेलम्ची खोलाको १७ करोड लिटर पानी आयात गरिनेछ । दोस्रो चरणमा याङ्ग्री र लार्के खोलाको समेत गरी ५१ करोड लिटर पानी ल्याइनेछ ।

विसं २०५५ मा मेलम्ची खानेपानी विकास समिति स्थापना भएपश्चात् आयोजनाको विस्तृत अध्ययन, तयारी चरणका कार्य अगाडि बढाइएको थियो । त्यसमा जग्गा अधिग्रहण, सहायक पूर्वाधार निर्माण र आयोजनाको मुख्य संरचना निर्माण शुरु गरिएको थियो ।

तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले पहिलो पटक सो आयोजनाको चर्चा गर्दै निर्माण शुरु गर्ने घोषणा गर्नुभएको थियो ।

आयोजनाका प्रमुख रामचन्द्र देवकोटाका अनुसार मेलम्ची नदीका बाँध निर्माणदेखि सुन्दरीजलसम्म कूल २७ दशमलव ५ किमी पूर्ण क्षमताको सुरुङ निर्माण गरिएको छ । मुख्य सुरुङ सिन्धु, ग्याल्थुम र आम्बाथान सुरुङ सकिएको छ । आयोजनाको कूल लागत रु २७ अर्ब ७६ करोड छ । कूल लागतमध्ये ८० प्रतिशत एसियाली विकास बैंक र २० प्रतिशत नेपाल सरकारकोे छ ।

चिनियाँ ठेकेदार चाइना रेल्वेले आवश्यक काम नगर्दा ठेक्का तोडेर सन् २०१० मा इटालियन कम्पनीलाई ठेक्का दिइएको थियो । भूकम्प र अघोषित नाकाबन्दीका कारण आयोजनाको सुरुङ निर्माण कार्य एक वर्ष ढिला भएको आयोजना प्रमुख देवकोटाको भनाइ छ ।

गत मंसिरमा नै ग्याल्थुम–अम्बाथान खण्डको आठ दशमलव दुई किमी लामो सुरुङ निर्माण सम्पन्न भएको थियो । कमजोर चट्टान तथा भौगोलिक जटिलताका कारण पछिल्लो समयमा सुरुङ निर्माण कार्यमा जटिलता उत्पन्न भएको थियो । हालसम्म आयोजनाको कूल भौतिक प्रगति ८४ प्रतिशत र वित्तीय प्रगति ८० प्रतिशत छ ।

पानी प्रशोधन केन्द्र निर्माण सम्पन्न 

मेलम्ची आयोजनाबाट सुन्दरीजलमा आइपुग्ने पानी प्रशोधनका लागि आठ दशमलव पाँच करोड लिटर क्षमताको प्रशोधन केन्द्र निर्माण सम्पन्न भइसकेको छ ।

यस्तै दोस्रो प्रशोधन केन्द्रको निर्माण कार्य जारी छ । आगामी मंसिरसम्म सो प्रशोधन केन्द्र निर्माण सम्पन्न गर्ने आयोजनाको तयारी छ ।

आयोजनाका प्रमुख देवकोटाले पानी प्रशोधन केन्द्रको दोस्रो खण्डसमेत निर्माण सम्पन्न गरी काठमाडौँवासीलाई सहजरुपमा खानेपानी उपलब्ध गराइनेछ ।

एक सय किलोमिटर पाइप बिच्छ्याउन बाँकी 

आयोजना कार्यान्वयन निर्देशनालयका अनुसार कूल एक हजार किमी पाइप लाइनमध्ये हालसम्म ९०० किमी पाइप बिच्छ्याइसकिएको छ । अब १०० किमी पाइप बिच्छ्याउन बाँकी रहेको निर्देशनालयका प्रमुख तिरेश खत्रीले जानकारी दिनुभयो ।

“बाँकी रहेको खण्डमा समेत शीघ्र पाइप बिच्छ्याउने कार्य सम्पन्न गरिनेछ । पाइपको आवश्यक परीक्षणसमेत जारी छ । तीन चार वर्ष पहिले जडान गरिएका पाइप परीक्षणमा केही समय थप लाग्न सक्छ”, प्रमुख खत्रीले भन्नुभयो ।

लार्के र याङग्रीको डिपिआरको काम जारी 

लार्के र याङग्रीको पानी ल्याउनका लागि विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) तयारीको काम जारी रहेको छ । आगामी तीन महिनाभित्र डिपिआरको काम सकेर आयोजनाको ढाँचा तय गरिने खानेपानी सचिव कृष्णराज बिसीले जानकारी दिनुभयो ।

चालु आवको अन्तयसम्म सबै प्राविधिक तयारी पूरा गरेर मेलम्चीको दोस्रो खण्ड शुरु गरिने उहाँको भनाइ छ । दोस्रो खण्डमा कूल ११ किमी सुरुङ निर्माण गर्नुपर्नेछ ।

काठमाडौँवासीलाई दैनिक चार घण्टा पानी 

आयोजना सम्पन्न भएपछि काठमाडौँवासीलाई दैनिक पानी उपलब्ध गराउने तयारी गरिएको छ । पानी वितरणका लागि मुख्य, सहायक र वितरण पाइप बिच्छ्याउने कार्य भइरहेको आयोजना कार्यान्वयन निर्देशनालयका प्रमुख खत्रीले जानकारी दिनुभयो ।

लामो समयदेखिको सपना पूरा हुन लागेको जानकारी दिँदै उहाँले स्वच्छ पिउने पानी पाउने नागरिकको अधिकारकोसमेत सम्बोधन हुन लागेकामा खुशी व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री