
राजधानीमा थप सत्र ठूला बस सञ्चालन हुने
काठमाडौँ, २५ चैत – दिगो सार्वजनिक यातायात प्रालिले नयाँ बसपार्कदेखि सिनामंगलसम्म सत्र ठूला बस सञ्चालन गर्ने भएको छ ।
प्रालिले सिनामंगल सफा परिवहन समिति र सामाखुशी यातायात व्यवसायी समितिको संयुक्त लगानीमा नयाँ बसपार्क, गोँगबु, गल्कोपाखा, लैनचौर, जमल, कमलपोखरी, मैतीदेवी हुँदै सिनामंगलसम्म सत्र नयाँ बस सञ्चालन गर्न लागेको हो ।
सामाखुशी यातायात व्यवसायी संघका सचिव लालप्रसाद गुरागाँईले रु सात करोडको लगानीमा ५० सिट क्षमता भएका सत्र ठूला बस सञ्चालन गर्न लागेको जानकारी दिनुभयो । “सामाखुशी भएर चल्ने माइक्रोलाई अन्य स्थानमा स्थानान्तरण गरी सोही रुट हुँदै सिनामंगलसम्म नयाँ बस सञ्चालन गर्न लागेका हौँ,”– उहाँले भन्नुभयो ।
सोही रुटमा नयाँ बस सञ्चालनका लागि एशियाली विकास बैँकले रु एक करोड ९० लाख अनुदान दिएको छ । बस वैशाखको अन्तिम हप्ता नेपाल आइसक्ने र जेठको पहिलो हप्ताबाट सञ्चालन हुने गुरागाईँले बताउनुभयो । नयाँ बस सञ्चालनका लागि दुवै समिति तथा प्रालिको टोली बस ल्याउनका लागि भारत गइसकेको छ ।
सोही रुटमा ठूला बस सञ्चालन भएसँगै गोँगबुबाट रत्नापार्क भएर चल्ने २६ माइक्रोबस र सिनामंगल रत्नापार्क भएर चल्ने ३५ टेम्पो स्थानान्तरण हुनेछन् । सरकारले पछिल्लो समय उपत्यकामा सवारी साधन चलाउनका लागि प्राइमरी, सेकेण्डरी र टर्सरी रुट निर्धारण गरेको छ । जसमा प्राइमरी र सेकेण्डरी रुटमा ठूला सवारी साधन तथा टर्सरी रुटमा साना सवारी साधन सञ्चालन गर्न पाइनेछ ।
प्रतिक्रिया

सम्बन्धित सामाग्री
- बेलायतमा कसरी बन्यो कोभिड–१९ बारे जानकारी दिने नेपाली भाषामा पर्चा ?
- आजदेखि बेलायत आइपुग्ने यात्रुले १० दिन होटल क्वारेन्टिनमा बस्न पर्ने
- कारोना संक्रमणका कारण प्रवासमा मृत्यु भएकाको शव नेपाल लैजाने पाइने
- गोरखा भूपू सैनिकको समस्याबारे प्राविधिक समितिको प्रतिवेदनमाथि बेलायतले नेपालसित वार्ता नगर्ने
- अस्ताए डा. चन्द्र लक्सम्बा