नयाँदिल्ली-नेपाल र भारतका प्रधानमन्त्रीले दुई देशबीचको सम्बन्धलाई समानता, आपसी विश्वास, लाभ र सम्मानका आधारमा नयाँ उचाइमा पुरयाउने प्रतिबद्धता व्यक्त गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री केपी शर्मा ओलीको जारी भारतको तीनदिने राजकीय भ्रमणका सिलसिलामा शनिबार यहाँ सार्वजनिक गरिएको संयुक्त वक्तव्यमा त्यस्तो प्रतिबद्धता व्यक्त गरिएको छ ।
दुवै देशका प्रधानमन्त्रीले बहुआयामिक नेपाल–भारत सम्बन्धका सबै पक्षमा समीक्षा गर्नुका साथै दुई देशका सरकार, निजी क्षेत्र र जनस्तरमा झाङ्गिएको साझेदारीको स्वागत गरेका छन् । साझा ऐतिहासिक तथा सांस्कृतिक सम्बन्ध र जनता–जनताबीचको सम्पर्कमा आधारित मैत्रीपूर्ण एवं सन्निकटको नेपाल–भारत सम्बन्धको सुदृढ आधारशिलाको स्मरण गर्दै दुवै प्रधानमन्त्रीले नियमितरुपमा उच्चस्तरीय राजनीतिक भेटघाट र विचार आदानप्रदानबाट नै द्विपक्षीय सम्बन्ध थप प्रगाढ हुनेमा मतैक्यता प्रकट गरेका छन् ।
नेपाल सरकारले भारतसँगको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ तुल्याउन उच्च महत्व दिएको बताउँदै द्विपक्षीय सम्बन्धलाई भारतको विकास र समृद्धिबाट नेपालको आर्थिक रुपान्तरण र उन्नयनमा विस्तार गर्न चाहेको प्रधानमन्त्री ओलीले उल्लेख गर्नुभएको वक्तव्यमा जनाइएको छ ।
बाह्रबुँदे संयुक्त वक्तव्यअनुसार प्रधानमन्त्री मोदीले आफ्ना नेपाली समकक्षी ओलीलाई नेपाल सरकारको प्राथमिकताअनुसार भारतले सघाउने प्रतिबद्धता व्यक्त गरे ।
प्रधानमन्त्री मोदीले भारत सरकारको ‘सबैको साथ सबैको विकास’ दृष्टिकोण समावेशी विकास र समृद्धिका निम्ति छिमेकीसँग सहकार्य गर्ने मार्ग निर्देशक नीति कै रुपमा रहेको बताए ।
प्रधानमन्त्री ओलीले युगान्तकारी राजनीतिक परिवर्तनपछि नेपाल सरकारले ‘समृद्ध नेपाल- सुखी नेपाली’ भन्ने सिद्धान्तका साथ आर्थिक रुपान्तरणलाई प्राथमिकता दिएको बताए ।
प्रधानमन्त्री मोदीले स्थानीय तह, संघीय संसद र पहिलो प्रान्तीय निर्वाचन सफलतापूर्वक सम्पन्न गरेकामा नेपाली जनता र नेपाल सरकारप्रति हार्दिक बधाई ज्ञापन गर्दै नेपाल र नेपालीले देशको विकास र स्थायित्वका लागि लिएको दूरदृष्टिको सरहाना गरे ।
दवै प्रधानमन्त्रीले वीरगञ्जस्थित एकीकृत जाँच चौकीको उद्घाटन गर्दै त्यसको शीघ्र सञ्चालनबाट सीमापार व्यापार तथा वस्तु र सर्वसाधारणको आवागमनले विकास र आर्थिक वृद्धिमा योगदान पुग्ने आशा व्यक्त गरे ।
दुवै देशका प्रधानमन्त्रीले भारतको मोतीहारी–अमलेखगञ्ज सीमापार पेट्रोलियम पदार्थ पाइपलाइन बिछ्याउने परियोजना कार्यारम्भको ‘भिडियो’ सम्मेलनमार्फत अवलोकन गरे ।
नेपालमा सञ्चालित विकासका द्विपक्षीय परियोजनालाई द्रुत गतिमा कार्यान्वयन गर्नुपर्ने र नेपाल–भारत सम्बन्धका विविध क्षेत्रका सहयोगका कार्यसूचीलाई लागू गर्ने विद्यमान संयन्त्रलाई पुनर्जीवित गर्नुपर्नेमा प्रधानमन्त्रीद्वयले जोड दिए ।
शनिबारै कृषि क्षेत्रमा नेपाल र भारतबीच नयाँ साझेदारी बन्नुका साथै रेल सेवाबाट काठमाडौँलाई भारतको रक्सौलसँग जोड्ने र जलमार्गबाट समेत दुई देशबीचको सम्पर्क विस्तार गर्ने पारस्परिक हितका तीनवटा बेग्लाबेग्लै संयुक्त वक्तव्य पनि जारी भए ।
प्रधानमन्त्री ओलीको भ्रमणबाट बहुआयामिक नेपाल–भारत साझेदारीमा नयाँ आयाम थपिएकामा दुवै देशका प्रधानमन्त्रीले सहमति जनाए । भारत भ्रमणका निम्ति गरेको आमन्त्रण र आफू नेतृत्वको प्रतिनिधिमण्डलप्रति देखाइएको हार्दिक आतिथेयप्रति प्रधानमन्त्री ओलीले आफ्ना भारतीय समकक्षी मोदीमा आभार व्यक्त गरे ।
प्रधानमन्त्री ओलीले भारतका प्रधानमन्त्री मोदीलाई यथाशक्य चाँडो नेपालको भ्रमण गर्न आमन्त्रण गरे । प्रधानमन्त्री मोदीले भ्रमणको आमन्त्रणलाई स्वीकार गरे । प्रधानमन्त्री मोदीको भ्रमणको मिति कूटनीतिक माध्यमबाट अन्तिमरुप दिइनेछ ।
नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा निमा लामा ह्योल्मो निर्वाचित
एनबीसी यूकेले अपांग बालबालिकाको सहयोगार्थ १२ अप्रिलमा ‘शुभकामना साँझ’ गर्ने
बेलायतद्वारा अमेरिकालाई सैन्य सहयोग
वैदेशिक रोजगारी कल्याणकारी कोषलाई १० करोड पुर्याउने एनआरएनएको लक्ष्य निर्धारण [यस्ता छन् २५ निर्णय]
अब नेपालको राजनीतिजस्तै एनआरएनलाई पनि फरक किसिमले अगाडि बढाउनुपर्छ : अध्यक्ष डा हेमराज शर्मा [अन्तर्वार्ता]