लन्डनमा साहित्य सन्ध्या, चार स्थानीय श्रष्टा सम्मानित

लन्डन । बेलायतस्थित पुरानो साहित्यिक संस्था नेपाली साहित्य विकास परिषद यूकेले नेपाली नयां वर्ष २०७५ को शुभागमनका अवसरमा लन्डनमा एक साहित्यिक कार्यक्रम गरेको छ । बिहीबार सांझ वेम्ली तन्दुरी रेष्टुरेन्टमा पुरस्कार वितरण, कविता वाचन र नयांवर्ष शुभकामना आदानप्रदान गरियो ।

परिषदको २९ औं उक्त साहित्य सन्ध्यामा प्रमुख अतिथि 
परिषदका पदेन संरक्षक तथा राजदूत डा. दुर्गाबहादुर सुवेदीले कवि तथा समाजसेवी ध्रुब केसी र हरिविभोर कार्कीलाई परिषदको एनएलडिसी दोश्रो स्वर्णपदक एवं घनबहादुर थापा मगर र हरिसिंह थापालाई नेपाली साहित्य पुरस्कारबाट सम्मान गरे । राजदूतले सम्मानित श्रष्टाहरुलाई बधाइ दिंदै नयां वर्षको शुभकामना समेत दिए ।

राजदूतले परिषदले विगत लामो समयदेखि बेलायतमा भाषा-साहित्य जस्ता नेपाली पहिचान जोगाउन अत्यन्त उदाहरणीय भूमिका निर्वाह गरिरहेको पनि उल्लेख गरे ।

यस अघि प्रमुख अतिथि राजदूत डा. सुवेदीले कवि कोमल प्रसाद श्रेष्ठ मल्लको ‘म देश लेख्छु’ कविता संग्रह कृति लोकार्पण गरेका थिए । कृतिमाथि वरिष्ठ साहित्यकार तथा बीबीसी नेपाली सेवाका पूर्व प्रमुख खगेन्द्र नेपालीले समिक्षात्मक टिप्पणी गरे । नेपालले भोगिरहेको स्थिति चित्रण गर्ने उक्त कृति नेपालमा गत महिना सार्वजनिक भइसकेको हो ।

कार्यक्रममा परिषद्का सल्लाहकार एवं यती नेपाली एसोसिएसन यूकेका पूर्व अध्यक्ष वरिष्ठ समाजसेवी डा. राघव प्रसाद धिताल (ओबिइ) ले बेलायतमा स्थानीय सर्जकहरुलाई सम्मान गरेर साहित्य विकास परिषदले धेरै साहित्यिक मनलाई प्रोत्साहित गरेको बताए । डा. धितालले नेपाली साहित्यको संस्थागत विकास गर्न परिषदको उल्लेखनीय महत्व रहेको चर्चा समेत गरे ।

कार्यक्रममा शुभकामना मन्तव्य दिंदै यती नेपाली एसोसिएसन यूकेका अध्यक्ष शशीधर नेपालले विदेशी भूमिमा नेपाली भाषा साहित्यको जगेर्ना, उजागर र साहित्यिक माहोल थालनी गर्ने कार्यमा परिषदको भूमिका ऐतिहासिक रहेको बताए ।

सभापतिको आसनबाट बोल्दै परिषदका संस्थापक तथा वर्तमान अध्यक्ष साहित्यकार सुरेशजंग शाहले नेपाली नयां वर्ष २०७५ को आगमनसंगै विभिन्न विद्यामा पदक प्रदान गर्न पाउंदा संस्थालाई गर्व लागेको र यसले संस्थामा एउटा गरिमामय इतिहास थपिएको चर्चा गरे । अध्यक्ष शाहले नेपाली भाषा साहित्यको फांटमा संस्था भित्र र बाहिरबाट उल्लेखनीय योगदान पुरयाउने साहित्यकार वा साहित्यप्रेमी समाजसेवीको योगदानलाई उच्चतम मुल्यांकन गर्दै परिषदले हरेक नयां नेपाली वर्षमा पुरस्कार र सम्मान गर्न थालेको २३ वर्ष पुगेको र यो निरन्तर जारी रहने बताए ।

उनले आगामी महिना हुने परिषदको ११ औं कार्यसमितिको खुल्ला निर्वाचनमा भाग लिन उत्सुक सबैमा आव्हान गर्दै परिषद्को तर्फबाट हार्दिक शुभकामना व्यक्त गरेका थिए ।

यस अघि पुरस्कार तथा सम्मान सुशोभन स्तुति वाचन 
परिषदका निवर्तमान अध्यक्ष खगेन्द्र नेपाली, वरिष्ठ सह-अध्यक्ष कोमल प्रसाद श्रेष्ठ मल्ल र उपाध्यक्ष बीरेन्द्र कुंवरबाट गरिएको थियो ।

समारोहको शुभारम्भमा परिषदका उपाध्यक्ष कवि रेशम अर्यालले स्वागत मन्तव्य दिए भने कार्यक्रम सन्चालन गर्दै वरिष्ठ सहअध्यक्ष मल्ल र महासचिव कवयत्री डा. सुधा श्रेष्ठले हरेक वर्ष यस्तो कार्यक्रम गर्न पाउंदा खुशी र गौरव लागेको बताए ।

समारोहमा नेपाली भाषा साहित्यको अभिवृद्धिमा उल्लेखनीय योगदान गरे वापत एनएलडिसी गोल्ड मेडल दोश्रो २०१६-१७ बाट सम्मानित व्यकतित्वद्वय कवि हरिविभोर कार्की अल्डरसट र कवि ध्रुव केसी वेम्ली तथा नेपाली साहित्य पुरस्कार २०१६ -१७ बाट पुरस्कृत श्रष्टाद्वय कवि तथा गीतकार घनबहादुर थापा मगर (मेरो चिनो मेरो देश कविता संग्रह) र कवि तथा कथाकार हरिसिंह थापा (नम्रताको कार्डिगन कथा संग्रह) लाई प्रदान गरिएका पुरस्कार र सम्मान पत्र परिषदका निवर्तमान अध्यक्ष तथा बीबीसी नेपाली सेवाका पूर्व प्रमुख कवि खगेन्द्र नेपाली र उपाध्यक्ष वीरेन्द्र कुंवरले वाचन गर्दै पुरस्कार मुल्यांकनबारे प्रकाश पारेका थिए ।

समारोहको दोश्रो चरणमा वसन्त रायक्षेत्री, घन बहादुर थापामगर, बासु शर्मा, श्रीमती गिता खरेल, विश्वासदीप तिगेला, मनोज अन्जान, रेशम अर्याल, ध्रुव केसी, दुत पुन, खगेन्द्र नेपाली, डा.सुधा श्रेष्ठ, केशव पुडासैनी, कोमल प्रसाद श्रेष्ठ मल्ल, फडिन्द्र भट्टराई, माधवप्रसाद पौडेल, ज्ञानेन्द्र रावत, डम्बर सिंह आदिले कविता वाचन गरे ।

उक्त साहित्य सन्ध्यामा दूतावास परिवार, विभिन्न 
संघ संस्थाका प्रतिनिधि, सर्जक, समाजसेवी तथा मिडियाकर्मीहरुको सहभागिता थियो । उक्त समारोह सफल बनाउन डा. राघव प्रसाद धिताल (ओबिइ), श्रीमती डा. जनक कुमारी धिताल, घनबहादुर थापामगर, कृष्णा थापामगर, खगेन्द्र नेपाली, ध्रुव केसी, डा. सुधा श्रेष्ठ, वाचस्पति रेग्मी, वसन्त 
रायक्षेत्री, रेशमलाल अर्याल, ज्ञानेन्द्र राउत, कोहिनूर मल्ल, वीरेन्द्र कुंवर, मनोज अन्जान आदि पदाधिकारीको योगदान थियो ।

रात्रीभोज वेम्ली रेष्टुरेन्टका ओम तामाङले व्यवस्थापन गरेका थिए ।

तस्विरहरु- शिव भण्डारी

प्रतिक्रिया

सम्बन्धित सामाग्री