बेलायती राजकुमार हयारीको बिहे तयारी यस्तो छ

लन्डन । बेलायती राजकुमार हयारी र अमेरिकी नायिका मेगान मर्केलबीच 
आउंदो मे १९, शनिबार विन्सोर क्यासलस्थित सेन्ट जोर्जेज च्यापलमा बिवाह हुने तयारी छ । बिवाह समारोह नजिकिंदै गर्दा विश्वले यसलाई चासोपूर्वक हेरिरहेको छ ।

हयारी र मेगानले गत नोभेम्बरमा आफ्नो बिवाह योजना सार्वजनिक गरेका थिए ।

बेलायती महारानी एलिजावेथ द्वितियको निवास विन्सोर क्यासल विश्वमै पुरानो मानिन्छ जहां रानी प्रायः सप्ताहन्त यहीं बिताउंछिन् । यही क्यासलबाट राजकुमार हयारीले लगनगांठो कस्दैछन् ।

करिब ८ सय जना अट्ने सेन्ट जोर्जेज च्यापल सजाउने जिम्मा फुल व्यापारी फिलिपा क्रयाडोकलाई दिइएको छ ।

बैवाहिक समारोहमा २६ सय भन्दा बढिलाई निमन्त्रणा गरिनेछ । बिहे समारोह र लन्च रिसेप्सनको औपचारिक निम्तो पठाइसकिएपनि अतिथीहरुको नाम भने गोप्य राखिएको छ । विन्सोर क्यासलमा अतिथीबाहेक एक लाख भन्दा बढि सर्वसाधारण सहभागी हुने अपेक्षा गरिएको छ ।

थेम्स भ्याली प्रहरीले समारोहको सुरक्षा जिम्मा लिएको छ । प्रहरीले यो सुरक्षा प्रवन्ध आफ्नो इतिहासमै पहिलो वृहत भनेको छ । स्नाइपरसहित तारबार घेरा, प्रत्येक सवारी साधन र झोला जांच र विमानस्थलकै सरह स्क्यानरले आगन्तुकहरुको खानतलासी गरिने छ । बिहे समारोहमा सुरक्षा प्रदान गर्न मात्र ३० मिलियन पाउण्ड (४ अर्ब रुपैयां भन्दा बढि) खर्च हुने बेलायती अखबारहरुले उल्लेख गरेका छन् । राजपरिवारले चर्च सर्भिससहित बिहे समारोह, संगीत, फुल र रिसेप्सनको खर्च बेहोर्ने पक्का भएको छ तर सुरक्षा खर्च भने करदाताकै पैसामा हुनेछ ।

सन् २०११, अप्रिलमा हयारीका दाई प्रिन्स विलियम र केट मिडलटनको बिहेमा २० मिलियन पाउण्ड तथा सन् १९८१ मा हयारीका बाबु प्रिन्स चाल्स र डायना स्पेन्सरको बैवाहिक समारोहमा सुरक्षाका लागि १२ मिलियन पाउण्ड खर्च भएको थियो ।

सुरक्षा प्रवन्धका लागि स्कटल्याण्ड यार्डसंग आवद्ध चारहजार दुई सय प्रहरीको बिदा समेत रद्द गरिएको छ । थेम्स नदी वरपर तालिमप्राप्त कुकुर र घोडाबाट गस्ती हुनेछ भने आधुनिक हतियारले सुसज्जित विशेष युनिट समेत खानतलासीमा खटिनेछ । नेशनल पुलिस एयर सर्भिसले पनि सुरक्षामा साथ दिनेछ । फस्ट बटालियन आइरिस गार्डस, रोयल नेभी, रोयल मरिन, थ्री रेजिमेन्ट आर्मी एयर कप्स, रोयल गोर्खा राइफल्स र आरएएफ होनिङटन कर्मचारी पनि समारोहमा खटिने जनाइएको छ ।

प्रहरीले आफ्ना साझेदार, स्थानीय व्यापारिक प्रतिष्ठान र समुदायसंग मिलेर समारोह सुरक्षित र हर्षोल्लासमय बनाउने बताएको छ । प्रहरीले विगतमा अपराधमा संलग्न भएका वा चोरीका गाडी छुटयाउन अटोमेटिक नम्बर प्लेट रिकग्निसन (एएनपिआर) प्रविधि, एचभिएम ब्यारियर र सिसिटिभी समेत प्रयोग गरिने जनाएको छ ।

मे १९ कै दिन अंग्रेजी खेल इभेन्टको सबैभन्दा वृहत एफए कप फाइनल हुंदैछ । प्रिन्स विलियम फुटबल एसोसिएसन (एफए) को अध्यक्ष भएकाले उक्त समारोहमा विलियम ट्रफी प्रदान गर्न जाने नजाने अहिलेसम्म निश्चित भइसकेको छैन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री