बाम एकता संयोजन समितिमा संगठन र वैचारिक प्रतिवेदन पेस, वैशाख ९ गते एकता घोषणा गर्न सुझाव

तस्विर- इकान्तिपुर

काठमाडौँ- निर्वाचनदेखि वाम गठबन्धनमा रहेका नेकपा एमाले र नेकपा माओवादी केन्द्रको पार्टी एकता संयोजन समितिको मंगलबारको बैठकमा पार्टी एकतासम्बन्धी सांगठनिक र वैचारिक प्रतिवेदन बुझाइएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा वैचारिक कार्यदलका संयोजक माधवकुमार नेपाल र संगठन कार्यदलका संयोजक गृहमन्त्री रामबहादुर थापाले एमाले अध्यक्ष केपी शर्मा ओली र केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितको संयोजन समितिमा प्रतिवेदन बुझाएका हुन् ।

यही फागुन १० गते एकता संयोजन समितिले गठन गरेको अन्तरिम विधान तर्जुमा र वैचारिक विषयसँग सम्बन्धित कार्यदलले आफ्नोतर्फबाट प्रतिवेदन तयार गरेकाले त्यसलाई टुंगो लगाउन संयोजन समितिको बैठक बसेको हो ।

प्रतिवेदनमा आगामी वैशाख ९ गते (नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसका दिन) एकता घोषणा गर्न सुझाव दिइएको र सोबारे यही चैत २२ मा बस्ने संयोजन समितिको बैठकले निर्णय गर्ने केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

समितिका सदस्य सुवास नेम्वाङले प्रतिवेदनलाई जतिसक्दो छिटो टुंगोमा पुरयाएर वैशाख ९ गते एकता घोषणा गर्न सुझाव दिइएको जानकारी दिए ।

गत फागुन ७ मा पार्टीको नाम नेकपा कम्युनिष्ट पार्टी र निर्देशक सिद्धान्त माक्र्सवाद लेनिनवाद राख्नेलगायत एकताका सात बुँदे प्रारम्भिक आधारमा दुई दलले सहमति गरेका थिए । दुई दलबीच गत असोज १७ मा भएको चुनावी तालमेलपछि एकता प्रक्रिया अघि बढेको हो ।

संघीय संसद्मा प्रतिनिधित्व गर्ने नेकपा (एमाले) सबैभन्दा ठूलो राजनीतिक दल हो भने नेकपा (माओवादी केन्द्र) मुलुकको तेस्रो राजनीतिक शक्ति हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री