काठमाडौँमा १ वर्षमा ८९ बलात्कारका घटना

काठमाडौँ-काठमाडौँमा प्रति वर्ष बलात्कारका घटना बढ्दै गएको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी परिसरले आज यहाँ आयोजना गरेको कार्यक्रममा चालु आर्थिक वर्षको चैतसम्म ८९ बलात्कारको घटना घटेको जानकारी दिएको हो ।

परिसरले दिएको जानकारीअनुसार आव २०७१/७२ मा ९२, २०७२/७३ मा ९९ र २०७३/७४ मा ११२ जबर्जस्ती घटना भएका छन् । कार्यक्रममा परिसरका प्रहरी नायब उपरीक्षक मोहन थापाले पछिल्लो समय महिला तथा बालबालिकाविरुद्ध हुने अपराध उल्लेख्यरुपमा वृद्धि भएको बताए ।

उनले जबर्जस्ती करणीका घटनामा प्रहरी कर्मचारीसमेत गम्भीर हुन नसकेको उल्लेख गरे । जनसंख्या वृद्धि, इन्टरनेट र सामाजिक सञ्जालको दुरुपयोग, बेरोजगारी, उच्च जीवनशैलीको चाहना, कानून कार्यान्वयनमा फितलोपन र सांस्कृतिक विचलनजस्ता कारणले जबर्जस्ती करणीका घटना बढिरहेको प्रहरीले जनाएको छ । साथै, लागुऔषध दुव्यर्सनीका घटनामा वृद्धि भएको प्रहरीको भनाइ छ ।

परिसरका प्रमुख विश्वराज पोखरेलले महिला तथा बालिकामाथि जबर्जस्ती करणीका घटनाको बढ्दो वृद्धि दरलाई न्यूनीकरण गर्न आम नागरिकको सहभागितामा कार्ययोजना बनाएर अगाडि बढ्ने बताए । “जबर्जस्ती करणीको घटनालाई न्यूनीकरण गर्न प्रहरीको मात्रै प्रयास पर्याप्त हुँदैन, यसका लागि आम नागरिकको सहयोग अनिवार्य हुन्छ”,  उनले भने ।

जबर्जस्ती करणी सम्बन्धमा गाउँगाउँ, टोलटोल र विद्यालयमा अभियान सञ्चालन गर्न सके घटनामा कमी आउने उनको भनाइ थियो । परिसरले जबर्जस्ती करणीका सम्बन्धमा थप अध्ययन र अनुसन्धानका लागि अल्पकालीन योजना निर्माण गर्ने जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री