क्रिकेट मैदानका लागि धुर्मुस–सुन्तलीलाई जग्गा दिने घोषणा

भरतपुर महानगरपालिकाले सोमबार महानगरपालिकाको कार्यालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महानगर प्रमुख रेनु दाहाल । साथमा उपप्रमुख पावती शाह र प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशी , तस्बिर- नारायण अधिकारी, चितवन, रासस

रत्ननगर, चितवन, १९ चैत – भरतपुर महानगरपालिकाले क्रिकेट रंगशाला निर्माणका लागि धुर्मुस–सुन्तली फाउण्डेसनलाई जग्गा उपलब्ध गराउने घोषणा गरेको छ ।

फाउण्डेसनले क्रिकेट मैदानका लागि जग्गा खोजी गरिरहेका बेला महानगर प्रमुख रेणु दाहालले भरतपुर महानगरले जग्गा उपलब्ध गराउने घोषणा गर्नुभएको हो ।

“भरतपुर महानगर सबै सम्भावना भएको क्षेत्र हो”, रेणु दाहालले आज यहाँ पत्रकारसँग भन्नुभयो, “क्रिकेटका लागि चितवन आउन आह्वान गर्छु, महानगरले सक्दो सहयोग गर्छ ।”

धुर्मुस–सुन्तली फाउण्डेसनले प्रदेशन नं ३ का विभिन्न क्षेत्रमा रंगशालाका लागि जग्गा खोजी गरिरहेको थियो । महानगर प्रमुख दाहालले पश्चिम चितवनको भरतपुर महानगरपालिका वडा नं २० मा निर्माण हुँदै गरेको रंगशालाको मैदान उपलब्ध गराउन महानगर तयार रहेको बताउनुभयो ।

उहाँले आवश्यक पर्ने आर्थिक र भौतिक सहयोग गर्नसमेत तयार छ भन्दै आजै बोर्ड बैठकबाट अनुमोदन गरेर फाउण्डेसनलाई पत्राचार गरिने उल्लेख गर्नुभयो । चित्रवन रंगशाला भएको ठाउँमा क्षेत्र विस्तार गरेर क्रिकेट रंगशाला बनाउन सकिने महानगर प्रमुख दाहालको भनाइ थियो ।

तत्कालीन प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवन प्याकेज घोषणाका क्रममा उक्त रंगशालाका लागि रु ५० लाख विनियोजन गर्नुभएको थियो ।

त्यसमा रु १९ लाखमात्रै खर्च भएको र अरु रकम फर्किएको थियो । अहिले भरतपुर महानगरले उक्त रंगशालाका लागि रु एक करोड बजेट छुट्याएको जनाएको छ ।

यसअघि चितवनको रत्ननगरस्थित टिकौली चौरमा क्षेत्रीय रंगशाला निर्माण गर्न भनेर मन्त्रीबाटै शिलान्यास गरिएको कामसमेत अधुरो छ । चितवन जिल्लामा खेलकूद मैदानको अभाव छ ।

एकराज पाठक

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री