सभामुखमा निर्विरोध भए महरा

नेकपा (माओवादी केन्द्र) का नेता कृष्णबहादुर महराले शुक्रबार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा प्रतिनिधिसभाको सभामुख पदमा उम्मेदवारी दर्तापछि पत्रकारलाई प्रतिक्रिया दिँदै । तस्बिर – रासस

काठमाडौँ, २५ फागुन – प्रतिनिधिसभाको सभामुख पदमा नेकपा (माओवादी केन्द्र) का नेता कृष्णबहादुर महरा निर्विरोध हुनुभएको छ ।

सभामुख पदका लागि आज भएको उम्मेदवारी मनोनयनमा उहाँको मात्र उम्मेदवारी परेपछि निर्विरोध हुनुभएको संघीय संसद् सचिवालयले जनाएको छ । यद्यपि उहाँ निर्वाचित भएको औपचारिक घोषणा भने शनिबार बस्ने प्रतिनिधिसभा बैठकमा गरिनेछ ।

नेकपा (एमाले) का नेता तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको प्रस्ताव र माओवादी केन्द्रका नेता देव गुरुङको समर्थनमा उहाँले आज निर्धारित निर्वाचन तालिकाअनुसार उम्मेदवारी दर्ता गर्नुभएको थियो ।

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले प्रतिनिधिसभाको सभामुखको सालिन व्यक्तित्व र सन्तुतित व्यवहारले संसद् र संसदीय पद्दतिको गरिमा अभिवृद्धि हुने विश्वाससहित सभामुख पदमा उम्मेदवारी नदिएको जनाएको छ ।

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले सिंगो संसद्को नायक निर्विवाद ढंगले चयन गर्न प्रतिपक्षी दलको समेत फरक मत नरहोस् भन्ने मनसायमा साथ उम्मेदवारी नदिएको स्पष्ट पार्नुभयो ।

सचिवालयले भोलि फागुन २६ गतेका लागि सभामुखको निर्वाचन र निर्वाचनका लागि आज बिहान १० बजेदेखि १ बजेसम्म उम्मेदवारी मनोनयन दर्ता गर्ने समय निर्धारण गरेको थियो ।

एकराज पाठक

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री